१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज ३० बिहीबार ०९:५४:००
Read Time : > 1 मिनेट
प्रदेश

गढीमाई मेला लगाउने समिति गठन विवाद उत्कर्षमा

आ–आफ्नै अडानमा स्थानीय तह र मन्दिर सञ्चालन तथा विकास समिति

Read Time : > 1 मिनेट
२०७६ असोज ३० बिहीबार ०९:५४:००

विश्वकै सर्वाधिक बलि चढ्ने बाराको गढीमाई मेलामा यतिवेला विवाद देखिएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने महागढीमाईको मेलाका विषयमा स्थानीय तह र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच विवाद देखिएको हो । 

स्थानीय तहले बनाएको मेला समितिलाई कुनै पनि हालतमा नमान्ने र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले नै मेला समिति बनाउने भनेपछि केही दिनयता विवाद बढेको हो । स्थानीय सरकार सञ्चालन ऐनको नियमावलीअनुसार महागढीमाई नगरपालिकाले मेला समिति गठन गरेको छ । तर, स्थानीय तहले गठन गरेको मेला समिति मान्य नभएको भन्दै सञ्चालन तथा विकास समितिले आपत्ति जनाएको छ । 

मेला लगाउने अधिकार स्थानीय तहको होइन : अध्यक्ष साह
मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले पाँच वर्षमा एकचोटि लाग्ने गढीमाई मेलाका सम्पूर्ण जिम्मेवारी आफू नेतृत्वको समितिको भएको बताएका छन् । ‘मेलाको समिति गठनदेखि व्यवस्थापनसम्मको जिम्मेवारी समितिको हो,’ उनले भने, ‘त्यसैले, गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिलाई बेवास्ता गरेर गठन भएको मेला समिति मान्य हुनेछैन ।’ स्थानीय तहले गठन गरेको समिति आधिकारिक नभएकाले नयाँ समिति गठनका लागि प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । ‘स्थानीय तह नभएका समयदेखि लगाउँदै आएको समितिले अहिले मेला कसरी लगाउँदैन ?’ प्रतिप्रश्न गर्दै उनले भने । अदालतले दिएको आदेशबमोजिम पनि स्थानीय तहलाई मेला लगाउने अधिकार नभएको उनको भनाइ थियो । 

ऐनअनुसार मेला समिति गठन गरियो : मेयर यादव
स्थानीय तह सञ्चालन ऐन ०७४ अनुसार नगरपालिकाले मेला सञ्चालनको प्रक्रिया अगाडि बढाएको महागढी नगरपालिकाका मेयर उपेन्द्र यादवले बताए । स्थानीय तह सञ्चालन ऐनमा उल्लेख भएअनुसार आफू अघि बढेको उनको भनाइ छ । ‘मेला, विद्यालय, मठमन्दिरलगायतको समिति गठनको जिम्मेवारी स्थानीय तहको भएको ऐनमा प्रस्ट लेखिएको छ,’ उनले भने, ‘सोही ऐनअनुसार समिति गठन भएको हो ।

 राजनीतीकरण गरेर मेला भाँड्नेलाई कानुनअनुसार कारबाही गर्न कुनै कसर बाँकी राखिनेछैन ।’ मेलाका विषयमा कसैले गठन भएको समितिलाई नमानेर मनोमानी गरे कानुनी उपचार खोज्ने उनले बताए । स्थानीय तहको ऐनअनुसार गढीमाई–१ का अध्यक्ष सुदामा साहकानूको अध्यक्षतामा ६७ सदस्यीय समिति गठन गरिएको उनले जानकारी दिए ।