मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ३० बिहीबार ०८:२२:००
Read Time : > 1 मिनेट
खेलकुद

जोर्डनविरुद्ध नेपालको बहादुरी प्रदर्शन

Read Time : > 1 मिनेट
२०७६ असोज ३० बिहीबार ०८:२२:००

नेपाली राष्ट्रिय फुटबल टोलीले २०२२ को कतार विश्वकपको एसिया छनोटअन्तर्गत दोस्रो चरणका सबै अवे खेल पूरा गरेको छ । जोर्डनसँग आठ वर्षपछि विश्वकप छनोटमै प्रतिस्पर्धा गरेको नेपाल आफ्नै डिफेन्सको गल्तीमा ३–० ले पराजित भयो । दोस्रो चरणको छनोट खेलमा नेपालले तेस्रो हारको सामना गर्दा एक जित निकालेको छ । फिफा वरीयतामा आफूभन्दा उच्च स्थानमा रहेको राष्ट्रविरुद्ध नेपालले अवे खेलमा औसत नतिजा निकालेको छ । नेपालले अवे खेलमा १५ गोल बेहोरेको छ । चाइनिज ताइपेईमाथि नेपालले २–० को जित हात पारेको छ । 

पहिलो हाफ गोलरहित 
नेपाल मध्यान्तरअघि जोर्डनलाई बहादुरीपूर्वक गोलरहित बराबरीमा रोक्न सफल भयो । तर, दोस्रो हाफमा नेपालले सोही लय समाप्त सकेन । जोर्डन सुरुदेखि अग्रताको प्रयासमा थियो । तर, नेपाली डिफेन्स र गोलरक्षक किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनमा जोर्डन पहिलो हाफमा निराश बनेको थियो । जोर्डन घरेलु मैदानमा फराकिलो जितका साथ दोस्रो स्थानमा उक्लने योजनाका साथ मैदानमा उत्रिएको थियो । प्रशिक्षक योहान कालिनको सुझबुझपूर्ण रणनीतिका कारण नेपाल पहिलो हाफमा जोगिन सफल रह्यो ।

मध्यान्तरपछि तीन गोल
दोस्रो हाफमा नेपाल आफ्नै केही गल्तीका कारण गोल खान पुग्यो । जोर्डनले खेलको ५६औँ मिनेटमा फेरस जायादको पेनाल्टीबाट १–० को अग्रता लियो । डिबक्समा नेपालका डिफेन्डर दिनेश राजवंशीले गरेको फलबापत जोर्डनले पेनाल्टी पायो । एक गोलले पछाडि परेपछि नेपाल दबाबमा देखिएको थियो । दोस्रो गोल अहमद अल अरसनले गरे । उनले ७८औँ मिनेटमा बायाँ कर्नरबाट गरेको आकर्षक लेफ्ट फुटक्रस गोलमा परिणत भएको थियो । जोर्डनका लागि तेस्रो गोल ८८औँ मिनेटमा बहा फैसलले गरे । जितसँगै जोर्डन अंक–तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समूह बीमा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ ।

अवे खेलले आशा दिलायो : मिश्र
नेपालका फुटबल विश्लेषक सञ्जीव मिश्र ठूला राष्ट्रविरुद्धको अवे खेलको प्रदर्शनलाई राम्रो मान्नुपर्ने बताउँछन् । सुरुवातमा कुवेतविरुद्धबाहेक अन्य खेलमा नेपालको प्रदर्शन राम्रो रहेको उनको बुझाइ छ । मिश्र भन्छन्, ‘सुरुवातमा कुवेतविरुद्ध नेपालले नमिठो हार खायो, तर चाइनिज ताइपेईविरुद्धको पुनरागमन निकै राम्रो रह्यो । तेस्रो खेलमा अस्ट्रेलियासँग सशक्त प्रदर्शन गर्न नेपाल सफल रह्यो । जोर्डनसँग गोलरहित बराबरी खेल्न सक्थ्यो, तर आफ्नै गल्तीमा गोल खान पुग्दा पराजित भयो ।’ उनले अब घरेलु मैदानमा नेपालले अस्ट्रेलियाबाहेक अन्य राष्ट्रलाई रोक्न सक्ने सम्भावना रहेको दाबी गरे । ‘अवे खेलको प्रदर्शनलाई आधार मान्दा अब घरेलु मैदानमा नेपालले अस्ट्रेलियाबाहेक अन्य राष्ट्रलाई रोक्न सक्ने सम्भावना छ । ताइपेईलाई हराउनुपर्छ र त्यो क्षमता नेपाली खेलाडीमा रहेको पुष्टि अवे खेलले गरेको छ । अवे खेलका दौरान तीन अंक हासिल गर्नु ठूलो उपलब्धिका रूपमा लिनुपर्छ ।’

हामीले राम्रो गरिरहेका छौँ : कालिन

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले नेपालले अन्तर्राष्ट्रिय फुटबलमा बिस्तारै राम्रो गरिरहेको बताएका छन् । जोर्डनसँग ३–० ले पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक कालिनले भने, ‘जोर्डनविरुद्ध हाम्रा लागि पहिलो गोल नै टर्निङ प्वाइन्ट बन्यो, हामीले समग्रमा खेलमा सुधार गरेका छौँ ।’ अब घरेलु मैदानमा हुने खेलमा थप राम्रो गर्ने योजनाका साथ प्रतिस्पर्धा गर्ने कालिनले बताए । उनले भने, ‘अवे खेलमा सुधारिएको प्रदर्शन आगामी दिनका लागि शुभ संकेत हो, अब घरेलु मैदानमा जतिसक्दो राम्रो गर्ने प्रयास गर्नेछौँ । योभन्दा स्वाभाविक रूपमा बढी फाइदा लिने लक्ष्य हुनेछ ।’