मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ३० बिहीबार ०८:१९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मानसिक रोग कारण र लक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ३० बिहीबार ०८:१९:००
 डा. रितेश थापा
मानसिकरोग विशेषज्ञ
रिदम न्युरोसाइकयाट्री अस्पताल तथा रिसर्च सेन्टर

सामान्यता मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरू बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो । मानसिक रोग विभिन्न विभिन्न प्रकारका हुन्छन् । डिप्रेसन, एन्जाइटी डिसअर्डर, निद्रासम्बन्धी रोग, मानसिक असन्तुलन, छारेरोगलगायत मानसिक समस्या नेपालमा धेरैजसो देखिने गरेका छन् । रक्सी सेवनको लत पर्नु, बालबालिकामा हुने बौद्धिक अपांगता, अटिजम, डिमेन्सिया आदि समस्या पनि मानसिक रोग हुन् । 

पहिला–पहिला हिस्टेरियालाई सरुवा मानसिक रोगको रूपमा लिइन्थ्यो, तर यो कन्भर्जन डिसअर्डर हो । मानिसमा अत्यधिक तनावका कारण शरीरमा असर पर्ने हुन्छ । जस्तै, बेहोस हुने, कराउने, चिच्याउने समस्या हुने गर्छ । प्रायः यस्तो समस्या किशोरीमा देखापर्छ । खासगरी स्कुलका छात्रामा एकजना बिरामी भएमा अन्य पनि बिरामी पर्ने, बेहोस हुने हुन्छ, जुन सरुवा रोग भने होइन । 

गाउँघरतिर अहिले पनि मानसिक रोग लागेमा पागल भयो, बाहिर खुला हिँड्न दिनुहुन्न वा अरूलाई थाहा दिएमा बेइज्जत हुन्छ, औषधि खान दिँदा बढी हुन्छ भन्नेजस्ता भ्रम व्याप्त छन् । शिक्षितवर्गमा पनि यस्तो मानसिकता पाइन्छ । 

नेपालमा मानसिक रोगीको अवस्थाबारे हाल इन्टरनेसनल मेन्टल हेल्थ नामक सर्भेक्षण सुरु गरेको छ । योभन्दा अगाडि सरकारी स्तरबाट कुनै पनि सर्भेक्षण भएका छैनन् । तर, नेपालमा करिब २० देखि २५ प्रतिशत जनसंख्यामा कुनै न कुनै किसिमको मानसिक रोग भएको अनुमान गरिन्छ । 

रोगका कारण
बहुआयामिक कारणबाट व्यक्तिमा मानसिक रोग हुने गर्छ । वंशाणुगत गुणबाट कतिपयमा मानसिक रोग देखा पर्छ । अर्थात्, बाबुु–बाजेमा मानसिक रोग देखापरेमा सन्तानमा पनि यसको असर देखापर्छ ।  

मानसिक असन्तुलन भएका व्यक्तिमा अत्यधिक रिसाउने, तोडफोड गर्ने, अनावश्यक शंका गर्ने, घमण्ड गर्ने, ठूलो स्वरमा बोल्ने समस्या हुन्छ

पारिवारिक वातावरण पनि मानसिक रोगको कारण हो । परिवारमा झैझगडा हुने, सदस्यहरू कलहका कारण छुट्टिने, तनाव भइरहने भएमा बच्चामा यसको नकारात्मक असर पर्छ । बिस्तारै उनीहरूमा विभिन्न किसिमको मानसिक रोग हुने सम्भावना उच्च रहन्छ । दुर्घटनाबाट पर्न गएको मानसिक असर, दीर्घरोगीमा मानसिक रोग बन्न सक्छ । धेरै सोच्ने, अनावश्यक तनाव लिने मानिसमा यसको असर देखिन्छ । रक्सीको अत्यधिक सेवन, सामाजिक, राजनीतिक परिवेशले समेत युवामा मानसिक असर गरिरहेको हुन्छ । 

लक्षण
 डिप्रेसन
डिप्रेसनका बिरामीमा असामान्य व्यवहार गर्ने, झर्किने, दिक्क लाग्ने, नकारात्मक सोच बढी आउने, दिमागले राम्रोसँग काम गर्न नसकेको जस्तो लाग्ने, रुन मन लाग्ने, काममा मन नलाग्ने आदि लक्षण देखिन्छन् । डिप्रेसन बढ्दै गएमा आत्महत्या गर्ने सोचाइ आउने, आफ्नो ख्याल राख्न छाड्ने अर्थात् कुनै कुरामा ध्यान नदिने, एक्लै बस्ने हुन्छ । 
 एन्जाइटी
एन्जाइटीका बिरामीमा डर लाग्ने, तर्सिने, विनाकारण झसंग हुने, जिउमा कम्पन हुने, सास फेर्न गाह्रो हुने, पसिना आउने हुन्छ । त्यस्तै निद्रा नपर्ने, छटपटी हुने, कामको वेलामा विभिन्न खालको डर महसुस हुने हुन्छ । 
 मानसिक असन्तुलन
मानसिक असन्तुलन कडा खालको मानसिक रोग हो । मानसिक असन्तुलन भएका व्यक्तिमा अत्यधिक रिसाउने, तोडफोड गर्ने,  अनावश्यक शंका गर्ने, घमण्ड गर्ने, ठूलो स्वरमा बोल्ने समस्या हुन्छ । रोगको वास्तविकता थाहा नहुने, कानमा कुनै किसिमको आवाज सुन्ने आदि कडा मानसिक रोगका लक्षण हुन् ।