मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज २९ बुधबार १५:४६:००
Read Time : > 1 मिनेट
समाचार

पत्रकार महासंघ रुकुमको आयव्यय छानबिन गर्न समिति गठन

Read Time : > 1 मिनेट
२०७६ असोज २९ बुधबार १५:४६:००

नेपाल पत्रकार महासंघ रुकुमको पाँचौ साधारण सभा स्थगित भएको छ । साधारणसभाको बन्द सत्रमा पेश भएको आर्थिक प्रतिवेदन चित्त बुझ्दो नभएको भन्दै साधारण सदस्यहरुले त्यसमा छानविन हुनुपर्ने र साधारणसभा स्थगित हुनुपर्ने माग गरेपछि साधारणसभा स्थगित भएको हो । 

कोषाध्यक्ष प्रविर ददेलले पेश गरेको चालु कार्यकालको आम्दानी तथा खर्च विवरणसहितको आर्थिक प्रतिवेदन स्पस्ट नभएको, लेखापरिक्षण प्रतिवेदन नभएको, विल भर्पाइ नभएको, अध्यक्ष गणेश बिक चिन्तनको नाममा ठुलो रकम निकासा भएकाले अनियमितता भएको हुन सक्ने भन्दै साधारण सदस्यहरुले आवाज उठाएका थिए । 

त्यस्तै पत्रकार महासंघको भवन निर्माणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेको अवस्थामा आर्थिक प्रतिवेदन पास गर्न नसकिने अडान साधारण सदस्यहरुले लिएका थिए । आय व्ययमा गम्भीर प्रश्न उठाउँदै सदस्यहरुले महासंघको समग्र आय व्यय छानविनका लागि आन्तरिक छानविन समिति गठन गर्न र छानविन समितिको प्रतिवेदन नआउँदासम्म साधारण सभा स्थगित गर्न माग गरेपछि साधारण सभा स्थगित गरिएको बन्दसत्र संचालनका लागि गठित अध्यक्ष मण्डलका संयोजक नारायण कुमार शाहले जानकारी दिए । 

यसैबीच महासंघको आयव्यय उपर छानविनका लागि ३ सदस्यीय छानविन समिति गठन गरिएको छ । महासंघका संस्थापक अध्यक्ष नारायणकुमार शाहको संयोजकत्वमा प्रेस सेन्टरका अध्यक्ष मेगराज खड्का र प्रेस युनियनका अध्यक्ष दिनेश खड्का सदस्य रहेको छानविन समिति गठन गरिएको हो । साधारण सभाले छानविन समितिलाई छानविनमा सहयोग गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई निर्देशन दिएको छ भने आम्दानी तथा खर्चको वास्तविक अवस्था छानविन गरी यथासक्य छिटो प्रतिवेदन तयार पारेर साधारण सभामा पेश गर्न भनेको छ । 

यसका साथै आवश्यक कारवाहिका लागि पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिमा जानकारी गराउन पनि साधारण सभाले छानविन समितिलाई निर्देशन दिएको छ । आय व्यय स्पस्ट नहुँदा महासंघको भवन निर्माणका क्रममा अनिमितता भएको देखिएको साधारण सदस्यहरुको भनाई छ । भवनको स्टामेटदेखि मुल्यांकन र भवन निर्माणको प्रक्रिया स्पस्ट नभएको, भवन निर्माणका लागि आएको रकम अन्य शीर्षकमा खर्च गरेको, भवन निर्माणका लागि प्रयाप्त बजेट आउँदा पनि महासंघका नाममा अझै ९ लाख बढी ऋण रहनुले अनिमितता भएको साधारण सदस्यहरुको दाबी छ । 

भवन निर्माणका लागि विभिन्न निकायबाट १९ लाख ५९ हजार बजेट आएको र त्यति नै बजेट खर्च हुँदा अझै ९ लाख बढी ऋण रहेको प्रतिवेदन साधारण सभामा पेश गरिएको थियो । त्यस्तै सचिव हरि गौतमले पेश गरेको सांगठनिक प्रतिवेदन भने साधारण सभाले संशोधनसहित पास गरेको छ ।

महासंघका काेषाध्यक्ष ददेलले भने आर्थिक अनियमितता नभई आर्थिक प्रतिवेदनमा अघिल्लो कार्यकालसहितको हिसाबले यस्तो समस्या देखिएको बताए । ‘मैले बुझाएको प्रतिवेदनमा भएको हिसाब अघिल्लो कार्यकालसहितको हो,’ उनले भने, ‘१९ लाख ५९  हजारमा मेरो कार्यकालमा २ लाख ३० हजारमात्र आएको हो, जुन रकम भवन निर्माणका लागि खर्च गरिएको छ ।’ अघिल्लो कार्यकालको कारण अहिले विवाद सिर्जना भएको उनको भनाइ छ ।