मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
पुष्प ढुंगाना/कृष्ण कट्टेल
२०७५ पौष २६ बिहीबार ०६:३४:००
Read Time : > 2 मिनेट
सम्पादकीय

लोकसेवामा ६ हजार पदमा ६ लाख आवेदन  : तर, सांसदका पिएलाई नागरिकताको फोटोकपीका भरमा शाखा अधिकृतको जागिर

Read Time : > 2 मिनेट
पुष्प ढुंगाना/कृष्ण कट्टेल
२०७५ पौष २६ बिहीबार ०६:३४:००

सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका पिएहरूको शैक्षिक योग्यता कति हो ? संसद्मा कतै अभिलेख छैन । 

सांसदले आफ्नो पिएको नागरिकताको फोटोकपी मात्रै संसद्मा प्रस्तुत गर्छन् । त्यसैका आधारमा सांसदको खातामा पिएको तलब पठाइन्छ । तलब सुविधासम्बन्धी संसद्को ऐनअनुसार सांसदका पिएले शाखा अधिकृतसरहको पारिश्रमिक पाउँछन् । तर, सांसदले श्रीमान्, श्रीमती, सालासाली र भान्जाभान्जीलगायत आफन्तलाई नियुक्त गरेका छन् ।  ‘सांसदहरूले आफ्नो पर्सनल असिस्टेन्ट आफैँ नियुक्त गर्नुहुन्छ ।

कति योग्यताको पिए आफूलाई चाहिने हो त्यो उहाँहरूले नै निर्णय गर्नुहुन्छ । उहाँहरू आफैँले पिएलाई दिएको नियुक्तिपत्र, पिएको नागरिकताको फोटोकपी र सांसदको बैंक अकाउन्ट सचिवालयले माग गर्छ,’ संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले नयाँ पत्रिकासँग भने । 

संसदले ५ मंसिर ०७३ सालमा पारित गरेको संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनले सभामुखदेखि सांसदका पिएको पारिश्रमिक पिएकै खातामा जानुपर्ने व्यवस्था गरेको छ । तर, कानुन बनेको २ बर्ष बितिसक्दा पनि तलब सांसदकै खातामा जाने गरेको छ । 

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले एकजना सहसचिव, एकजना उपसचिव,एकजना शाखा अधिकृत सरहको पिए राख्न पाउने ऐनमा व्यवस्था छ । साथै एकजना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगी गरी सभामुख र अध्यक्षको सचिवालयमा ६ जना रहन्छन् । त्यस्तै प्रतिनिधिसभामा विपक्षी दलको नेता,उपसभामुख र उपाध्यक्षको निजी सचिवालयमा एकजना उपसचिव सरह पिए,राजपत्र अनंकित प्रथम श्रेणी सरहको एकजना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगी गरी चारजना कर्मचारी रहन्छन् ।

राष्ट्रियसभामा विपक्षी दलको नेता, सत्तापक्षको नेता र सत्तापक्षको मुख्य सचेतकको सचिवालयमा एकजना उपसचिव सरहको पिए,एकजना कम्प्युटर अधिकृत र एकजना कार्यालय सहयोगी गरी ३ जना रहन्छन् । विपक्षी दलको प्रमुख सचेतक,सत्ता पक्षको प्रमुख सचेतक र समिति सभापतिको सचिवालयमा एकजना उपसचिव सरहको पिए, एकजना कम्प्युटर अधिकृत र एकजना कार्यालय सहयोगी सहित ३ जना कर्मचारी रहन्छन् । सांसदहरूको लागि भने शाखा अधिकृत सरहको एकजना स्वकीय नियुक्त हुनुपर्ने र सोहिअनुसारको पारिश्रमिक पाउने व्यवस्था ऐनमा छ । 

संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेले ०५२ सालदेखि नै एकमुष्ट रुपमा सांसदहरूकै खातामा सचिवालयले स्वकीय सचिवको समेत पारिश्रमिक हाल्ने गरेको बताए । ‘हामीले एकमुष्ट माननीयज्यूहरूकै खातामा हाल्ने गरेका छौँ । पिएहरूबाट कुनै गुनासो आएको छैन । ऐनमा पिएकै खातामा रकम जम्मा गर्नुपर्ने भन्ने छ । अहिलेसम्म त्यो सिस्टम बनेको छैन । हामी बनाउदैछौँ’ प्रवक्ता पाण्डेले भने । 

समाचारमा संसदीय दलको गम्भिर ध्यानाकर्षण भएको छ– नेकपा उपनेता नेम्वाङ
सांसदहरूले पिएमा आफन्त र नातागोताकै मान्छे नियुक्त गरेको भन्ने समाचारप्रति नेकपा संसदीय दलको कार्यालयको ध्यानाकर्षण भएको छ । कसको स्वकीय सचिव को हुनुहुन्छ, के सम्बन्ध छ भन्ने औपचारिक जानकारी दललाई छैन । यसबारेमा जानकारीहरू आइरहेका छन् । गम्भिरतापूर्वक संसदीय दलको ध्यानाकर्षण भएको छ । हामी यसबारे छलफल गर्छौँ । आफ्नो राजनीतिक जीवन, निर्वाचन क्षेत्रको विकास तथा आफ्नो भूमिकामा सहयोगी बन्नेलाई नै सांसदहरूले स्वकीय सचिव नियुक्त गर्नुहुन्छ । कतिपय प्रत्यक्ष निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्र र राजधानीमा गरेर २ जना स्वकीय सचिव पनि राख्नुभएको छ । आफ्नो काम सहज बनाउने, सहयोगी भूमिका खेल्ने व्यक्तिलाई नै पिए राख्ने हो । 

हाम्रा होइन राम्रा मान्छे राख्नुपर्छ : रामचन्द्र पौडेल, कांग्रेस नेता
परिवारका सदस्य र नातागोता होइन आफ्नो क्षेत्रका कार्यकर्ता स्वकीय सचिव राख्नुपर्छ । जिम्मेवारी दिन परिवारभन्दा कार्यकर्तालाई स्वकीय सचिवमा प्राथमिकता दिनुपर्छ । हाम्रो होइन राम्रो मान्छे राख्नुपर्छ । परिवारको सदस्य राखेर हुँदैन । परिवारको राख्दा काम हुँदैनन् । उनीहरू दक्ष पनि हुँदैनन् । पारिवारिक घेराभन्दा बाहिरको सोच उनीहरूमा हुँदैन । काम गर्नेभन्दा पनि तलबमात्रै पचाउने खालका हुन्छन् ।  

स्वकीय सचिवमा आफन्त राख्ने विषय सच्याउँछौ 
सुर्यराज आचार्य 
विवेकसिल साझा पार्टीका प्रवक्ता 

स्वकीय सचिवमा आफन्त राख्न नपाउने विषयमा हाम्रो पार्टीका सांसदहरूलाई थाहा रहेनछ । मिडियामा समाचार आएपछि हाम्रो पार्टीबाट स्वकीय सचिव फेर्ने भएका छौँ । सांसद आफैँले पनि मैले केही थाहा नभएर हो म तत्काल सच्याउँछु भन्नु भएको छ । त्यो विषयलाई पार्टीले सच्याउने छ । 

स्वकीय सचिवलाई दिएको तलव भत्ता जनताले तिरेको कर हो । त्यो जुन प्रयोजनका लागि विनियोजन भएको हो त्यसैमा खर्च हुनु पर्ने हो । सांसदलाई दिएको जुन स्वकीय सचिवको सुविधा छ त्यो त सांसदलाई ऐन कानुन लगायत विविध विषयमा आवश्यक पर्दा सहयोग गर्न सक्ने व्यक्तिलाई नियूक्ति दिने हो । तर, हाम्रोमा के भयो त्यो स्वकीय सचिवको पदलाई जागिर खाने बाटो बनाईयो । जुन गलत हो । राज्यलाई के सहयोग गर्न सकिन्छ, के सेवा गर्न सकिन्छ भन्ने भन्दा पनि राज्यको कसरी दोहन गर्न सकिन्छ भन्ने मानसिकता छ । जसले गर्दा देशका हालत यस्तो अवस्थामा पुगेको छ ।