मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज २८ मंगलबार ०७:३०:००
Read Time : > 3 मिनेट
सेयर बजार

नेप्सेमा त्रैमास अन्त्यको प्रभाव

Read Time : > 3 मिनेट
२०७६ असोज २८ मंगलबार ०७:३०:००

चालू आवको पहिलो त्रैमासको अन्त्य नजिकिँदै गर्दा त्यसको प्रभाव सेयरबजारमा देखिन थालेको छ । लगानीकर्ताहरूले दसैँपछि बजार बढ्ने अपेक्षा गरेका थिए । तर, दसैँको अन्त्यसँगै बजारमा तरलता अभाव भएका कारण सेयरबजार प्रभावित भएको हो । लगानीयोग्य पुँजीको अभावका कारण बैंकहरूले ब्याजदर घटाउने सम्भावना कम भएको छ । यसले लगानीकर्ताहरूलाई निराश बनाएको छ । कम्पनीहरूले गत आवको मुनाफाबाट आकर्षक लाभांश वितरण गर्ने घोषणा गरिरहे पनि त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सकेको छैन । दसैँपछिको पहिलो र दोस्रो दुवै कारोबार दिन नेप्से ओरालो लागेपछि दसैँका लागि बाहिरिएका लगानीकर्ताहरू बजार प्रवेश गर्न हिच्किचाएको एक ब्रोकरले बताए । त्रैमासको अन्त्य निजिकिएका कारण लगानीकर्ताहरूलाई ब्याजले पिरोल्न थालेको छ । सोही कारण केही लगानीकर्ता सस्तोमा सेयर बिक्री गरिरहेको उनको भनाइ छ ।
 
बजार सारांश
सोमबार नेप्से परिसूचक १२ दशमलव शून्य ५ अंक घटेर १ हजार १ सय ३६ दशमलव ९६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ७६ अंक घटेर २ सय ४९ दशमलव १७ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ९२ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ९४ अंक घटेको छ । यस दिन १ सय ५४ कम्पनीको ३ हजार ४ सय ३ पटकको कारोबारमा २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँबराबरको ८ लाख ३३ हजार ७ सय ५३ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
 
प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४० दशमलव ५४ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चापको सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो  नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव २० रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ५४ कम्पनीमध्ये २३ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय ११ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २० कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

सोमबार नेप्सेको पिभट बिन्दु १ हजार १ सय ४१ दशमलव १२ रहेको छ । यस दिनको पिभट विश्लेषण गर्दा मंगलबार नेप्से ओरालो लागे १ हजार १ सय ३० दशमलव ७० बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय २४ दशमलव ४४ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ४७ दशमलव ३८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ५७ दशमलव ८० बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 ६ प्रतिशत घट्यो सिनर्जी पावरको सेयरमूल्य
यस दिन कारोबारमा आएको सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक ६ दशमलव ४९ प्रतिशत घटेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ५ रुपैयाँ घटेर ७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अरुण काबेली पावर लिमिटेड, सानिमा माई हाइड्रोपावर लिमिटेड र गुडविल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ । १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको ओरियन्टल होटल्सको सेयरमूल्य यस दिन ४ दशमलव ९९ प्रतिशत घटेको छ । सो लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते बुक क्लोज गर्नेछ । राधी विद्युत् कम्पनीको सेयरमूल्य यस दिन ५ दशमलव ८४ प्रतिशत बढेको छ । त्यसैगरी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । 
  
सर्वाधिक कारोबार हुनेमा प्रभु बैंक 
यस दिन कारोबार रकम र कारोबार संख्याका आधारमा प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ३ सय ८ पटकको कारोबारमा २ करोड ६५ लाख ७३ हजार १ सय २५ रुपैयाँबराबरको ९९ हजार ४ सय ४४ कित्ता सेयर खरिद–बिक्री भएको छ । बैंकले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । सोही कारण लगानीकर्ताहरू सो बैंकतर्फ आकर्षित भएका हुन् । सेयर संख्याका आधारमा भने यस दिन मेगा बैंकको संस्थाक सेयर अगाडि रहेको छ । सो बैंकको यस दिन १ करोड १६ लाख ४८ हजार रुपैयाँबराबरको १ लाख १२ हजार कित्ता संस्थापक सेयर किनबेच भएको छ । सिद्धार्थ बैंकको यस दिन २ करोड ६४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने र नबिल बैंकको कारोबार रकम १ करोड नाघेको छ ।

११ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका १२ वटा समूहमध्ये ११ समूहको परिसूचक घटेर रातो भएको छ भने १ समूहको परिसूचक बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ९१ प्रतिशत घटेको छ । वाणिज्य बैंक समूहको परिसूचक यस दिन १ दशमलव २७ प्रतिशत, निर्जीवन बिमा समूहको १ दशमलव १६ प्रतिशत, वित्त समूहको १ दशमलव १० प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ९६ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव ९४ प्रतिशत घटेको छ । त्यसैगरी, व्यापार समूहको परिसूचक यस दिन शून्य दशमलव ७८ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ७४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ७३ प्रतिशत, अन्य समूहको शून्य दशमलव ३४ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव शून्य ६ प्रतिशत 
घटेको छ ।

समता लघुवित्तको हकप्रद निष्कासन तथा बिक्री खुला
समता लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २७ गतेदेखि १ बराबर २ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । सो हकप्रद सेयरमा भदौ ३१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द मंसिर १ गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीले समता लघुवित्त, एनआईबिएल एस क्यापिटलका केन्द्रीय तथा शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ६ लाख ७२ हजार रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी १८ करोड २० लाख १६ हजार पुग्नेछ ।

एनएमबि सुलभको बुक क्लोज
एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डले कात्तिक १ गते बुक क्लोज गर्ने भएको छ । यो योजना कात्तिक २ गते परिपक्व हुनेछ । परिपक्व भएपश्चात् योजना खारेज गर्नुपर्ने व्यवस्था रहेको छ । असोज ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीहरूले खारेजीपश्चात् प्रतिफल प्राप्त गर्न सक्नेछन् । यस योजनाको व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रवर्द्धक एनएमबि बैंक लिमिटेड रहेको छ ।