मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज २७ सोमबार १३:२०:००
Read Time : > 1 मिनेट
प्रदेश

दोधारा चाँदनीवासीलाई जंगली जनावर र बाढीको त्रास

Read Time : > 1 मिनेट
२०७६ असोज २७ सोमबार १३:२०:००

भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–३ दोधारा चाँदनीलाई महाकाली नदी पारीको नेपाल भनेर पनि चिनिन्छ । दोधारा चाँदनीभन्दा पश्चिमतर्फ रहेको जोगबुढा पारी बडुवाल गाउँ छ । करिब दुई सय परिवारको बसोवास रहेको बडुवाल गाउँ विकास निर्माणको दृष्टिले निकै पछाडि छ । 

बस्तीको पूर्वतिर जोगबुढा नदी र बस्तीकै छेउमा भारतीय वन छ । त्यही वनबाट आउने जंगली जनावरले स्थानीयलाई निकै दुःख दिँदै आएका छन् । खेतबारीमा लगाएको बाली स्थानीय किसानले कहिल्यै सग्लो उठाउन पाउँदैनन् ।

तीन वर्षअघि जोगबुढा नदीमा झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई नदी वारपार गर्न केही सहज भएको छ । तर, गाउँमा यातायातको सुविधा छैन । जसको कारण गाउँमा कोही बिरामी परे पिठ्युँमै बोकेर अस्पताल पु-याउनुपर्ने बाध्यता छ ।

बालबालिकालाई पठनपाठनमा समस्या
बडुवाल टोलमा गणेश आधारभूत विद्यालय छ । त्यो विद्यालयमा कक्षा एकदेखि पाँचसम्म मात्रै पढाइ हुन्छ । गाउँमा मावि तहससम्म पढाइ हुने विद्यालय नहुँदा बालबालिकाले सानैमा पढाइ छाड्ने गरेका छन् ।

‘गाउँमा मावि तहको विद्यालय छैन,’ महराले भने, ‘गरिबीका कारण बालबालिका कक्षा ५ उत्तीर्ण गरेपछि आयआर्जनका लागि भारततिर जाने गरेका छन् ।’ कक्षा पाँचदेखि माथि पढ्न गाउँबाट झन्डै दुई घन्टा टाढाको विद्यालयमा पुग्नुपर्छ । 

‘घरमा साइकल हुने विद्यार्थी टाढै भए पनि पढ्न जान्छन्,’ उनले भने, ‘साइकल नहुने विपन्न बालबालिकाले बीचमै पढाइ छाडेर मजदुरी गर्न भारत जाने गरेका छन् ।’ कक्षा ५ उत्तीर्ण गरेपछि थप अध्ययनका लागि करिब ३० प्रतिशत बालबालिका मात्रै दुई घन्टा टाढाको भानु मावि र शंकर पार्वती माविमा जाने गरेका छन् । कक्षा ९ की छात्रा पुष्पा महतले गाउँमा विद्यालय नहुँदा टाढाको विद्यालयमा गएर पढ्न साह्रै गाह्रो हुने गरेको बताइन् । 

गाउँमा खेतीयोग्य जमिनको कमि छ । ‘तर, लगाएको बालीनाली पनि भारतीय जंगलबाट आउने जनावरले खाएर सखाप पारिदिन्छ,’ महराले भने, ‘जसको कारण अधिकांश परिवारले भारतमा गएर मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यता छ ।’ 

नदी कटान र डुबानको जोखिम
बडुवाल टोलका लालबहादुर महराले गाउँको तीनतिरबाट बग्ने जोगबुढा नदीले बर्सेनि दुःख दिने गरेको बताए । ‘बस्ती र खेतीयोग्य जमिनको सुरक्षाको लागि लामो समयदेखि बलियो तटबन्ध निर्माणको माग गर्दै आएका छौँ,’ महराले भने, ‘तर, स्थानीय र केन्द्र सरकार कसैले पनि हाम्रो दुःखलाई देखेनन् ।’

सानो रकमले बर्सेनि तटबन्ध गरिए पनि त्यो प्रभावकारी हुन नसकेको महराले बताए । ‘अघिल्लो वर्ष बाँधिएको तटबन्ध अर्को वर्ष बाढीले भत्काइदिन्छ, बाढी गाउँमा बस्छ, वर्षात्को वेला बस्नै सकिँदैन,’ महराले भने । वर्षात्मा नदीको कटान र डुबान, हिउँदमा जंगली जनावरको आतंकले गाउँमा बस्न निकै गाह्रो भएको उनले बताए । 

धेरैजसो बालबालिका घरायसी परिबन्धले सानैमा मजदुरीको लागि भारत जाने गरेका स्थानीय पद्मा बडुवालले बताइन् । ‘बर्खामा जोगबुढा नदी उर्लेर आउँदा रातभर निन्द्रा लाग्दैन,’ बडुवालले भनिन्, ‘हिउँदमा जंगली जनावरको उस्तै आतंक मच्चाउँछ । गाउँमा बस्ने वातावरण छैन ।’

बर्सेनि भारतीय जंगलबाट आउने हात्तीले गाउँमा पसेर घर भत्काउने र बाली खाएर सखाप पार्ने गरेको उनले बताइन् । ‘गाउँमा हात्ती आउँदा भाग्ने ठाउँसमेत छैन्,’ उनले भनिन्, ‘पश्चिमतिर जंगल छ, बाँकी तीनतिर नदी छ । ज्यान जोगाउनै मुस्किल हुन्छ ।’ 

बडुवाल टोलको विकासमा ध्यान दिन्छौँ : प्रवक्ता
महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले बडुवाल टोलको समग्र समस्या समाधानका लागि नगरपालिकाले योजना बनाउने बताए ।
‘गाउँमै माध्यमिक तहसम्मको विद्यालय स्थापना, तटबन्ध, जंगली जनावर नियन्त्रणको लागि हामी पहल गर्नेछौँ,’ प्रवक्ता सिँजालीले भने ।