मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका बाँके
२०७६ असोज २७ सोमबार १२:०७:००
Read Time : > 1 मिनेट
प्रदेश

पक्की घरमा दसैँ मनाउन पाए बाढीपीडितले 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका बाँके
२०७६ असोज २७ सोमबार १२:०७:००

राप्तीसोनारी गाउँपालिकाका बाढीपीडितले यस वर्ष पक्की घरमा दसैँ मनाउन पाएका छन् । विभिन्न संस्थाको सहयोगमा पक्की घर निर्माण गरी दसैँ मनाउन पाएपछि बाढीपीडित खसी भएका छन् । 

शारिरीक अपांगता भएका राप्तीसोनारी गाउँपालिका–६, खल्ला टेपरीका प्रेम परियारले यसपालीको दसैँ पक्की घरमा मनाएका छन् । हेबिट्याटको सहयोगमा महिला उपकार मञ्चले बाढीपीडितका लागि चार लाख रुपैयाँ लागतमा पक्की घर निर्माण गर्न सहयोग गरेपछि उनले यसपालीको दसैँ पक्की घरमा मनाउन पाएका छन् । 
सिलाइ–कटाइ पेसा गर्दै आएका उनले पक्की घरमा बस्ने सपना साकार भएको बताए । ‘सिलाइ–कटाइ पेसाले पक्की घर बनाउने कल्पनासमेत गरेको थिएन, हेबिट्याटले सहयोग गरेपछि पक्की घरमा बस्ने सपना साकार भएको छ,’ उनले भने ।

घर निर्माण गर्न दुई लाख ५० हजार खर्च लागेको बताउँदै उनले एक लाख ६५ हजार रुपैयाँ संस्थाले व्यहोरेको बताए । उनले खलो प्रथामा स्थानीयको लुगा सिलाउने काम गर्दै आएका छन् । वार्षिक सय किलो धान र ५० किलो गहुँ ज्याला लिएर स्थानीयको लुगा सिलाउने गरेका छन् । ‘संस्थाले दिएको रकम अपुग भएपछि ऋण–धन गरेर पक्की घर निर्माणमा लगाएँ,’ उनले भने । 

राप्तीसोनारी गाउँपालिका–६, कमैयाडाँडाकी मीनाकुमारी थारूले पनि पक्की घरमा दसैँ मनाएकी छिन् । २९ साउन, ०७४ मा राप्ती नदीमा आएको बाढीले घर बगाएपछि भत्केको घरमा गुजारा गर्दै आएकी उनले बरन्डासहित दुई कोठा, एक भान्सा भएको पक्की घरमा दसैँ मनाउन पाउँदा छुट्टै आनन्द आएको बताइन् । ‘पक्की घर बनाउने सपनासमेत देखेका थिएनौँ, पक्की घरमा दसैँ मनाउन पाउँदा बेग्लै आनन्द आयो,’ उनले भनिन् ।  

पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका–६ का ४० परिवार बाढीपीडितका लागि भूकम्प प्रतिरोधी घर निर्माण सुरु गरेकोमा ३६ घर पूरा भएको छ । बाढीले पूर्ण क्षति पु¥याएका ४० परिवारमध्ये ३६ परिवार भूकम्प प्रतिरोधी घरमा बस्न थालिसकेको वडाध्यक्ष जनकबहादुरले बताए । ‘पूर्ण क्षति भएका ३६ परिवारले पक्की घरमा दसैँ मनाउन पाएका छन्,’ उनले भने । 

आंशिक क्षति भएका थप ४० घर निर्माण गर्ने तयारी
बाढीबाट आंशिक क्षति भएका थप ४० विपन्न परिवारका लागि पनि भूकम्प प्रतिरोधी घर निर्माण गर्ने तयारी गरिएको हेबिट्याट नेपालका बाढी प्रकोप प्रतिकार्य कार्यक्रम संयोजक साजन महर्जनले जानकारी दिए । 

एउटा घर निर्माण गर्न चार लाख २५ हजार लाग्ने अनुमान गरिएको छ । पूर्ण क्षति भएका बाढीपीडितको तुलनामा आंशिक क्षति भएका बाढीपीडितलाई अलि कम आर्थिक सहयोग गर्ने योजना रहेको उनले बताए । ‘कति रुपैयाँ सहयोग गर्ने भन्ने छलफलको क्रममा छ । तर, तत्काल थप ४० वटा घर निर्माण गर्ने योेजना अन्तिम चरणमा पुगेको छ,’ उनले भने । 

संस्थाले बढीमा एक लाख रुपैयाँबराबरको निर्माण सामग्री खरिदमा सहयोग गर्ने योजना यसअघि बनाएको थियो । ‘घरधनीलाई आवश्यक पर्ने निर्माण सामग्री वा मजदुरीबापतको खर्च दिने योजना छ,’ उनले भने । दुई वर्षमा एक सय चार परिवार बाढीपीडितका लागि घर निर्माण गर्ने लक्ष्य छ ।