मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज २७ सोमबार ०७:२२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

अति–न्यून ब्याजदर : विश्वव्यापी अर्थतन्त्रमा आघात

Read Time : > 3 मिनेट
२०७६ असोज २७ सोमबार ०७:२२:००

अमेरिकाको दशवर्षे बचत कोष लगानीको वास्तविक प्रतिफल यतिखेर शून्य बनेको छ । यो विगत आठ वर्षकै अति न्यून प्रतिफलको अवस्था हो । यसैबीच, भर्खरै युरोपेली केन्द्रीय बैंकले बचत ब्याजदर थप घटाएर माइनस शून्य दशमलब ५ प्रतिशतमा पु¥याएपछि मुलुकबाहिर रहेको अमेरिकाको ४० प्रतिशत इन्भेस्टमेन्ट–ग्रेड बोन्ड (डिफल्ट जोखिम कम भएको उच्चस्तर ऋणपत्र एवं बचत खातामा गरिएका लगानी)को प्रतिफल त अझ–झन् नकारात्मक बनेको छ । युरोपेली केन्द्रीय बैंकको ब्याजदर कटौतीको यो नयाँ योजना युरो क्षेत्रमा आर्थिक प्रोत्साहनकै एक हिस्साका रूपमा आएको छ । 

परम्परागत दृष्टिमा न्यून ब्याजदरलाई आर्थिक वृद्धिका लागि सकारात्मक रूपमा लिइन्छ । तर, हाम्रो ताजा अनुसन्धानले भने त्यस्तो नहुन पनि सक्ने देखाएको छ । बरु ज्यादै न्यून ब्याजदरबाट बजारमा चाप बढ्ने र अर्थतन्त्रलाई सुस्त वृद्धितर्फ डो-याउने पाइयो । यदि यसै हो भने यसको अर्थ ब्याजदर अरू थप घटाउने कदमले विश्वव्यापी अर्थतन्त्रलाई गतिहीनताबाट जोगाउने छैन । 

लामो अवधिका ब्याजदर ओरालो लाग्दा लगानीकर्तालाई उत्पादकत्व–अभिवृद्धि गर्ने प्रविधिमा लगानी गर्ने आकर्षक अवसर प्राप्त हुन्छ भन्ने परम्परागत अवधारणा छ । त्यसैकारण न्यून ब्याजदरबाट उत्पादकत्व वृद्धि हुँदा अर्थतन्त्रमा विस्तारवादी असर परेको छ । 

तर, न्यून ब्याजदरको एउटा अर्को विपरीतखालको रणनीतिक असर पनि पर्न सक्छ । त्यसो भयो भनेचाहिँ तिनले उत्पादकत्व अभिवृद्धिमा लगानी गर्ने कम्पनीहरूको प्रतिफल घटाउनेछन् । यसक्रममा लामो अवधिका वास्तविक ब्याजदर शून्यमा पुगेसँगै यसखाले रणनीतिक संकुचनवादी असर हाबी हुनेछ । त्यसैले, अहिलेको यसै पनि ब्याजदर न्यून रहेको अवस्थामा ब्याजदरमा थप कमीले उत्पादकत्व वृद्धि घटाउने र अर्थतन्त्रलाई सुस्त बनाउँदै लैजाने उच्च सम्भावना छ ।

यस रणनीतिक असरले क्षेत्रगत प्रतिस्पर्धामार्फत काम गर्छ । ब्याजदर घट्दा कुनै पनि उद्योग (क्षेत्र)का सबै व्यवसायी लगानी थप्न प्रोत्साहित हुन्छन्, तर प्रतिफलचाहिँ सामान्य कम्पनीले भन्दा पनि बजारका अग्रणी ठूला कम्पनीले नै बढी प्राप्त गर्छन् । फलस्वरूप, त्यस्ता ठूला अग्रणी उद्योगधन्दा लामो अवधिका ब्याजदर घटेपिच्छे उनीहरूलाई अतिरिक्त लाभ पनि प्राप्त हुँदै जाने भएकाले उनीहरूको बजारमा वर्चस्व बढ्दै जान्छ र अझ एकाधिकारवादी बन्दै जान्छन्  ।

हाम्रो अनुसन्धानले कुनै पनि उद्योग क्षेत्रका नेतृत्वकर्ता र अन्य अनुचर कम्पनीमाझ रणनीतिक रूपले अन्तरक्रिया भइरहने देखिएको छ । हरेकले आफ्नो निजी मामलामा निर्णय गर्नेबखत अन्य कम्पनीका लगानी नीतिलाई ध्यान दिएर केलाउने गर्छन् । विशेषगरी, कुनै पनि क्षेत्रका (उद्योग) अग्रणी कम्पनीले ब्याजदर कम हुँदा प्रभावशाली कदम चाल्ने भएकाले अनुचर कम्पनीहरू त्यसबाट हतोत्साहित बन्नुका साथै ठूला कम्पनी धेरै अगाडि बढिसकेको अवस्थामा उनीहरूले लगानी गर्नै बन्द गरिदिन्छन् । त्यसपछि ती अग्रणी कम्पनीले कुनै गम्भीर प्रतिस्पर्धाको चुनौती सामना गर्नुपर्ने अवस्थै नरहने भएकाले उनीहरूले पनि लगानी गर्न छाडिदिन्छन् र ‘अल्छी एकाधिकारवादी’ बन्छन् ।

अति न्यून ब्याजदरका संकुचन प्रभावको विश्वव्यापी अर्थतन्त्रमा महतत्वपूर्ण उपयोगिता छन् । हाम्रा विश्लेषणले ब्याजदरपहिलेबाटै अति न्यून रहेको अवस्थामा थप घटाउँदा त्यसले बजार संकुचन बढाउने र उत्पादकत्व वृद्धि न्यून बनाएर नकारात्मक आर्थिक प्रभाव पार्ने देखाएका छन् ।

निकटतम वा समकक्षी दुई प्रतिस्पर्धीबीचको दौड अझ रोचक हुन्छ । यस व्यावसायिक दौडको प्रत्येक लक्ष्य ‘ल्याप’ पहिला पूरा गर्ने (व्यवसायी) पुरस्कृत हुँदै जान्छन् । यी पुरस्कार सम्भावित पुरस्कारका अग्रिम छुट मूल्यमा प्राप्त प्रतिफल हुन्, जसबाट धावकलाई आफ्नो स्थितिमा थप सुधार गर्न प्रोत्साहन मिल्छ (व्यावसायिक दौडमा पछि पर्नेलाई यस्तो लाभ प्राप्त हुँदैन र निरुत्साहित हुन पुग्छन् ) ।

एकछिनका लागि मानिलिऊँ, व्यावसायिक दौडका क्रममा ब्याजदरको कारण कुनै समय यस्तो आइदिन्छ कि भविष्यमा पाइने लाभ अहिले नै हातलागी हुने अवस्था सिर्जना हुन्छ । यस्तोमा भविष्यमा प्राप्त हुने लाभभन्दा सामुन्नेको प्रतिफल तुलनात्मक रूपमा थोरै भए पनि त्यो नै महत्वपूर्ण हुन्छ । त्यसैले, त्यो प्रतिफल प्राप्त गर्न दुवै धावक छिटो दौडन खोज्छन् । यो परम्परागत आर्थिक प्रभाव नै हो । अगुवाइमा रहने धावकलाई पछाडि पर्नेको तुलनामा बढी प्रेरणा प्राप्त भइरहेको हुन्छ, किनकि ऊ पुरस्कारको नजिक हुन्छ र जित्ने सम्भावना पनि बढी उसकै हुन्छ ।

त्यसैकारण अग्रणी धावकले आफ्नो गतिलाई अनुचरले भन्दा बढी गतिवान् बनाउन सक्छ, जसका कारण अनुचरहरूले जितको आशा त्यागिदिन्छन् । निराशाको प्रभाव धेरै बढी भयो भने त अनुचरहरूले सहजै हार नै मानिदिन्छन् । एकपटक यस्तो भइसकेपछि अग्रणी कम्पनीलाई प्रतिस्पर्धीको अभाव हुन्छ र अग्रणी कम्पनी पनि सुस्ताउन थाल्छन् । साथै, हाम्रो अनुसन्धानले के पनि देखाएको छ भने न्यून ब्याजदरबाट प्राप्त हुने पुरस्कार (प्रतिस्पर्धा सकिएसँगै यसको महत्व पनि सकिने भएकाले)को मूल्य शून्य बनेसँगै यसखाले हतोत्साहनका रणनीतिक प्रभाव हाबी हुन पुग्छन् ।

व्यवहारमा कुनै पनि उद्योगका अग्रणी एवं अनुचर कम्पनी वा लगानीकर्ताले प्राप्त गर्ने ब्याज दर पनि एउटै हुँदैन । त्यसकारण वास्तविक अर्थतन्त्रमा यसखाले रणनीतिक प्रभाव अझ प्रगाढ हुन सक्ने सम्भावना रहन्छ । अनुचर कम्पनीले ब्याजदर पनि सामान्यतया नेतृत्वदायी कम्पनीले भन्दा बढी नै भुक्तान गर्छन् । ब्याजदर घट्दा पनि यस्तो फरक भने कायमै हुन्छ । यसप्रकार कुनै पनि व्यावसायिक क्षेत्रका नेतृत्वदायी कम्पनीलाई लगानी कोष व्यवस्था गर्दा लाग्ने लागत अनुचर कम्पनीलाई भन्दा कम पर्ने भएकाले न्यून ब्याजदरबाट अर्थतन्त्रमा राणनीतिकतवरले संकुचन प्रभाव थप मजबुत बन्न जान्छ ।

पहिलो, विश्वव्यापी अर्थव्यवस्थामा विद्यमान थुप्रै महत्वपूर्ण आर्थिक बान्कीलाई यसखाले संकुचन प्रभावले स्पष्ट पार्न सहयोग पु-याएको छ । सन् १९८० को सुरुवाती चरणबाट ओरालो लाग्न थालेको ब्याजदरको प्रभाव बजार संकुचनमा वृद्धि, कर्पाेरेट मुनाफामा वृद्धि, व्यावसायिक गतिशीलतामा कमी तथा उत्पादकत्व वृद्धि खस्कनु आदिसँग जोडिएको छ । यी सबै हाम्रा प्रारूप (मोडल्स)सँग दुरुस्तै छन् । यसबाहेक, समग्र प्रवृत्तिको समय पनि यस प्रारूपसँग मिल्छन् । तथ्यांकले के देखाँउछन् भने बजार संकुचन तथा झर्दाे ब्याजदरबाट सन् १९८० देखि २००० सम्ममा हासिल लाभ सन् २००५ देखि उत्पादकत्व वृद्धि सुस्त बन्नमा सहायक बनेको थियो । 

दोस्रो, यस प्रारूपको प्रयोगबाट केही मौलिक एवं प्रयोगसिद्ध प्रक्षेपण गर्न सकिन्छ । त्यसलाई तथ्यांकको कसीमा परीक्षण पनि गर्न सकिन्छ । ब्याजदर घट्दा कुनै एउटा क्षेत्रको अग्रणी कम्पनीले दीर्घकालीन सेयर पोर्टफोलियोबाट सकारात्मक लाभ लिन सक्ने र सोही क्षेत्रका अनुचर कम्पनीले चाहिँ छोटो अवधिको पोर्टफोलियोबाट प्रतिफल हासिल गर्ने कुरालाई नै उदाहरणमा लिऊँ न । ब्याजदर कम भएको अवस्थामा लगानी सुरु गर्दा अझ यसको प्रभाव गतिलो हुन्छ । यी कुरा यस प्रारूपको प्रक्षेपणसँग पनि मेल खान्छन् । 

अति–न्यून ब्याजदरका संकुचन प्रभावको विश्वव्यापी अर्थतन्त्रमा महत्वपूर्ण उपयोगिता छन् । हाम्रा विश्लेषणले ब्याजदर पहिलेबाटै अति न्यून रहेको अवस्थामा थप घटाउँदा त्यसले बजार संकुचन बढाउने र उत्पादकत्व वृद्धि न्यून बनाएर नकारात्मक आर्थिक प्रभाव पार्ने देखाएका छन् । त्यसैले, न्यून–ब्याजदरले विश्वव्यापी अर्थतन्त्रलाई जोगाउनु त कता हो कता, बरु थप पीडाचाहिँ दिन सक्छन् ।

अर्नेस्ट लिउ प्रिन्सटन विश्वविद्यालयको ‘बेन्डहेम सेन्टर फर फिनान्स’मा प्राध्यापक छन् । अतिफ मियान प्रिन्सटन विश्वविद्यालयमा प्राध्यापक र विड्रो विल्सन स्कुलको ‘जुलिस–रविनोइज सेन्टर फर पब्लिक पोलिसी एन्ड फिनान्स’मा निर्देशक छन् । त्यसैगरी, अमिर सुफी सिकागो विश्वविद्यालयमा अर्थशास्त्र र सार्वजनिक नीतिका प्राध्यापक छन् ।

ë Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य