१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
बायाँबाट क्रमशः अवकाशप्राप्त एयरहोस्टेस कविता श्रेष्ठ राई, मञ्जु थामी लामा र नीतामणि सिंह ठकुरी । तस्बिर : अमुल थापा
२०७६ असोज २६ आइतबार १६:०८:००
Read Time : > 2 मिनेट
नयाँCity

रिटायर्ड एयरहोस्टेस : त्यो पाँचतारे जीवन

Read Time : > 2 मिनेट
२०७६ असोज २६ आइतबार १६:०८:००

नेपाल वायु सेवा निगमको एयरहोस्टेसबाट मञ्जु थामी लामा, कविता श्रेष्ठ राई र नीतामनी सिंह ठकुरीले सात वर्षअघि अवकाश पाए । ०३९ सालदेखि सुरु भएको करिअरमा उनीहरू ‘इनफ्लाइट सुपरभाइजर’सम्म बने । आकाशमा उड्दाउड्दै बनाएको योजनाअनुसार मञ्जुले अहिले घुमघाम र परिवारलाई समय दिइरहेकी छिन् । नीता र कविता भने अवकाशपछि एयरहोस्टेस र क्याबिन क्रुलाई तालिम दिने शिक्षक बनेका छन् । उनीहरू जागिरे जीवनमा आफूले सिकेको सीप बानेश्वरस्थित ‘एयरहोस्टेस ट्रेनिङ सेन्टर’मा नयाँ पुस्तालाई बाँडिरहेका छन् ।

०००
१४ वर्षअघि कविता नियमित उडानमा नयाँदिल्लीबाट काठमाडौं उड्ने तयारीमा थिइन् । उड्नै लाग्दा श्रीमान् शरद राई ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परेको खबर पाइन् । पतिको शोकमा रहँदा पनि उनले कर्तव्य भुलिनन्, आकाशमा यात्रीको सेवा गरिरहिन् । उनका श्रीमान् त्यतिवेला वन विभागका महानिर्देशक थिए ।

आकाशमा उड्न थालेको १३ महिनामै ताप्लेजुङ विमानस्थलमा कविता दुर्घटनामा परेकी थिइन् । जहाज अवतरण भएपछि धावनमार्गबाट चिप्लियो र छेउको नालीतिर मोडियो । अनुभवी क्याप्टेनले जहाजलाई फेरि धावनमार्गतिरै मोडे । तर, पल्टिनबाट जोगाउन सकेनन् । कविताको घुँडामा चोट लाग्यो । चालकदलका सदस्य र यात्रीलाई आँखा, नाक र हातमा चोट लाग्यो । त्यस दुर्घटनाले उनलाई उडानका क्रममा सावधानी अपनाउन सचेत गरायो ।

आकाशमा उड्दै गर्दा हावाको बहाव र प्राविधिक समस्याका कारण धेरै चुनौतीसँग जुधे, उनीहरू । तर, यात्रीलाई त्यसको छनक पनि दिँदैनथे, ‘प्लान इमर्जेन्सीमा छौँ’ मात्र भन्थे । त्यस्तो वेलामा यात्रीलाई सिटबेल्ट बाँध्न लगाउने उनीहरूको जिम्मेवारी थियो । आफू पनि सुरक्षित बन्न सिटमा बस्थे ।

०००
तीनैजना निगममा प्रवेश गर्दा १० वर्षमै अवकाश पाउने नियम थियो । उनीहरूको १५ जनाको ब्याचले त्यसको विरोध ग¥यो । त्यतिवेलासम्म सेवा सुरु भएको तीन वर्षसम्म विवाह गर्न नपाउने र विवाह गरेपछि बच्चा जन्माउन नपाउने नियम थियो । बच्चा जन्मिए ‘ग्राउन्डेड’ हुनुपथ्र्यो । बच्चा जन्माउन पाउने अधिकारका लागि उनीहरूले सरकारी निकाय र राजनीतिक नेताहरू गुहारे । तर, त्यतिवेलाका पर्यटनमन्त्रीले ठाडै अस्वीकार गरिदिए । निगमका ‘फ्लाइट एजेन्डेन्ट’ (पुरुष)हरूले भने ५८ वर्षको उमेरसम्म काम गर्न पाउँथे । अन्य मुलुकमा महिला–पुरुष दुवै ५८ वर्षसम्म सेवामा रहन पाउने नियम रहेको पत्ता लगाए । र, निगमको नियमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे । अदालतको फैसला उनीहरूकै पक्षमा आयो, महिलाले पनि ५० वर्षको उमेरसम्म सेवा गर्न पाउने भए । साथमा, एयरहोस्टेसले बच्चा जन्माउन पाउने नियम पनि आयो । त्यसपछि ‘फ्लाइट एजेन्डेन्ट’ले पनि ५० वर्ष भएपछि अवकाश पाउने भए । 

०००
उडानको समयमा खराब मौसमका कारण जहाज बेस्सरी हल्लिन्थ्यो । उनीहरूको मनमा अवतरण हुनासाथ राजीनामा दिन्छु भन्ने भावना आउँथ्यो । तर, अवतरण गर्नासाथ फेरि उड्न तयार हुन्थे । ‘झट्ट हेर्दा एयरहोस्टेस जहाजमा चिया, पानी बाँड्ने होटेलका वेटरजस्तो लाग्न सक्छ, तर यात्रीको सुरक्षा उनीहरूको मुख्य जिम्मेवारी हुन्छ,’ कविता भन्छिन् । मञ्जुका अनुसार पाइलट वा को–पाइलट ककपिटमै बेहोस भए भने जहाज अवतरणका लागि सहयोग गर्न सक्ने गरी तालिम दिइएको हुन्छ, एयरहोस्टेसहरूलाई ।

खासगरी, विदेशका गन्तव्यमा उड्ने एयरहोस्टेसले कम्तीमा तीनवटा भाषा सिक्नैपर्छ । सम्बन्धित मुलुकको भाषा मात्र होइन, त्यहाँका आधारभूत कुरा पनि सिक्नैपर्छ । उनीहरूले वर्षमा सातवटा फ्री–टिकट पाउँथे । त्यसबाट बाबु–आमा, श्रीमान् र छोराछोरीलाई विभिन्न देशको शयर गराए । छोराछोरी सानैदेखि स्कुल बिदा हुनुअघि त्यसपटक घुम्न जाने देशबारे योजना बनाउँथे । परिवारसँग विदेश शयर गर्न पाएको त्यो जिन्दगीलाई साह्रै ‘मिस’ गर्छन्, आजकल ।

जर्मनी, जापान, फ्रान्स, लन्डन, सिंगापुर, बैंकक, इजरायल, ब्रुनाईलगायत धेरै मुलुकमा पुगे, उनीहरू । ‘त्यो ग्ल्यामरस जागिर थियो,’ मञ्जु भन्छिन्, ‘त्यो जीवन पाँचतारे स्तरको थियो । घरमै गाडी लिन आउँथ्यो । जहाज लिएर पुगेको देशको विमानस्थलबाट बाहिरिएपछि घुमिन्थ्यो, नाइट क्लब र डिस्को गइन्थ्यो ।’

हरेक यात्रुको यात्राको सुरु र अन्त्य एयरहोस्टेसबाटै हुन्छ । त्यसैले सधैँ ‘फ्रेस’, हँसिली र राम्री देखिनु उनीहरूको जागिरको प्रकृति नै हो । राज्यका उच्च पदमा रहेकाहरू मात्र होइन, विभिन्न सेलेब्रिटीसँग पनि जम्काभेट भइरहन्थ्यो । ‘फ्लाइटमा हामीले हरेक दिन नयाँ मान्छे भेट्थ्यौँ, उनीहरूबाट नयाँ कुरा सिक्थ्यौँ,’ नीता भन्छिन्, ‘देश/विदेशका थुप्रै सेलीबे्रटीसँग भेट हुनु एयरहोस्टेस जागिरको राम्रो पक्ष हो ।’ उनीहरू निद्रामा अहिले पनि जहाजमा उडिरहेको सपना देख्छन् । आकाशमा उडिरहँदा चाडपर्व या घरमा आयोजना हुने कार्यक्रम ‘मिस’ गर्थे, अहिले उडान ‘मिस’ गर्छन् । पुरानो नियास्रो मेट्न अहिले परिवारका हरेक कार्यक्रममा सरिक हुन्छन् भने आकाशको नियास्रो मेट्न आफूसँग उडेका साथीभाइ भेला पारेर ‘ग्यादरिङ’ गर्छन् ।