मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज २६ आइतबार ११:२१:००
Read Time : > 1 मिनेट
प्रदेश

कजिन सारा तालमा महोत्सव

Read Time : > 1 मिनेट
२०७६ असोज २६ आइतबार ११:२१:००

हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा पर्यटन प्रवद्र्धनका लागि ‘कजिन सारा ताल’ महोत्सव गरिएको छ । चामे गाउँपालिकाले नयाँ भेटिएको तालमा पर्यटन महोत्सवको आयोजना गरेको हो । असोज १० देखि १४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । समुद्री सतहदेखि ५ हजार २ मिटर उचाइमा रहेको ताल अवलोकनका लागि महोत्सव गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए ।

प्राकृतिक तालको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि तालमा महोत्सवको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष घलेले बताए । ‘भौगोलिक रूपमा विकट भए पनि मनाङ प्राकृतिक स्रोत–साधनले भरिपूर्ण जिल्ला हो,’ उनले भने, ‘मनाङको मुख्य व्यवसाय पर्यटन भएकाले प्राकृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रचारका लागि स्थानीय निकायले भूमिका खेल्नुपर्ने ठहर गरी महोत्सव आयोजना गरिएको हो ।’

महोत्सवले नेपाल भ्रमण वर्ष र आन्तरिक भ्रमण वर्षलाई सफल बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । केही महिनाअगाडि पत्ता लागेको यो ताल मनाङ सदरमुकामबाट २५ किलोमिटरको दूरीमा पर्छ । उनका अनुसार महोत्सवले पर्यटकका लागि नयाँ गन्तव्य निर्माण गर्नेछ । महोत्सवमा स्थानीय बासिन्दा, सुरक्षा निकाय, आन्तरिक तथा विदेशी पर्यटकको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।

हिमालपारिको जिल्ला मनाङको सिंगरखर्कमा पत्ता लागेको कजिन सारा तालले तिलिचो तालको उचाइलाई उछिनेको छ । मनाङको चामे गाउँपालिकाअन्तर्गत पर्ने सिंगरखर्कमा केही महिनाअघि पत्ता लागेको यो तालको उचाइ तिलिचोको भन्दा बढी पाइएपछि अब यो ताल विश्वकै सर्वाधिक उचाइमा रहेको ताल बन्ने भएको छ । यो तालको उचाइ समुद्री सतहदेखि ५ हजार २ मिटरको उचाइमा छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार तालको खोजी गर्न गएको टोलीले तालको उचाइ नाप्दा यति उचाइ देखिएको हो । तर, यो ताल तिलिचोभन्दा उचाइमा रहेकोबारे सरकारको आधिकारिक निकायले पुष्टि गर्न बाँकी छ । तालको लम्बाइ करिब डेढ किलोमिटर र चौडाइ करिब ६ सय मिटर रहेकोे अनुमान गरिएको छ । गहिराइ भने अनुमान गर्न सकिएको छैन । अहिले सर्वाधिक उचाइमा रहेको तिलिचो ताल समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा छ । 

नयाँ ताल भेटिएपछि मनाङको पर्यटनमा थप टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ । यो ताल मनाङको पर्यटनमा नयाँ नाम भए पनि यसले यहाँको पर्यटकीय विकासमा थप मद्दत पुग्ने चामे गाउँपालिकाका अध्यक्ष घले बताउँछन् । ‘देश–विदेशबाट आएका धेरैजसो पर्यटक तिलिचो ताल र थोराङपास पुग्नका लागि मनाङलाई प्रमुख 
गन्तव्य बनाउँदै आउने गर्छन् ।’ उनले भने, ‘अब कजिन तालसम्म पर्यटक पुर्‍याउने योजनामा गाउँपालिका लाग्नेछ ।’

मनाङमा विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल विश्वभरका पर्यटकको रोजाइमा छ । यसबाहेक गंगापूर्ण ताल, डोना ताल, ठुलागी ताललगायत ताल मनाङका सम्पदा हुन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको सदरमुकाम बेँसीसहरबाट चामेसम्मको ६५ किलोमिटर र त्यसभन्दा माथि झन्डै ३० किलोमिटरको दूरीमा माथिल्लो मनाङ पुग्न सकिन्छ ।