मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७६ असोज २६ आइतबार ११:१४:००
Read Time : > 1 मिनेट
प्रदेश

महाकाली नदी उत्खननमा विवाद

प्रहरीले जेसिभी र टिपर नियन्त्रणमा लिएपछि व्यवसायी रुष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका कञ्चनपुर
२०७६ असोज २६ आइतबार ११:१४:००

महाकाली नदीबाट ढुंगा, बालुवा, गिट्टी उत्खननको विषयमा विवाद सिर्जना भएको छ । मापदण्डविपरीत जेसिभी लगाएर नदी उत्खनन गरिएको भन्दै प्रहरीले शनिबार तीनवटा जेसिभीसहित १६ वटा टिपर नियन्त्रणमा लिएपछि व्यवसायी र प्रहरीबीच विवाद बढेको हो ।प्रहरीले भीमदत्त नगरपालिका–१३ पिपरैयास्थित महाकाली नदी क्षेत्रबाट जेसिभी, चालक र टिपर नियन्त्रणमा लिएको छ । महाकाली नदीबाट उठाइने नदीजन्य पदार्थको ठेक्का भवानी निर्माण सेवाले पाएको छ । विनाकारण काम गरिरहेका चालक, टिपर र जेसिभी नियन्त्रणमा लिएर प्रहरीले दुःख दिएको भन्दै निर्माण व्यवसायीले आपत्ति जनाएको छ । प्र्रहरीलाई रकम नदिएपछि नदी उत्खननमा अवरोध सिर्जना गरेको भवानी निर्माण सेवाका प्रतिनिधि तेजबहादुर चन्दको आरोप छ ।

मापदण्डविपरीत उत्खनन : प्रहरी
प्रहरीले भने वातावरणीय प्रभाव मुल्यांकनविपरीत नदीजन्य पदार्थको उत्खनन भएकाले जेसिभी र टिप्पर नियन्त्रणमा लिइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेशकुमार आचार्यले मापदण्डविपरीत उत्खनन गरिएकाले जेसिभी र टिपर नियन्त्रणमा लिइएको बताए । ‘सम्झौताविपरीत जेसिभी लगाएर नदीजन्य पदार्थ उत्खनन गरेकाले नियन्त्रण गरेका हौँ,’ आचार्यले भने, ‘ठेक्का लिएको नाममा मनपरी गर्ने छुट कसैलाई छैन ।’ महाकाली नदीबाट गैरकानुनी ढंगले ढुंगा, गिट्टी र बालुवा संकलन भइरहेकाले प्रहरीले त्यसलाई रोक्ने प्रयास गरेको एसपी आचार्यले बताए । 

जेसिभी प्रयोग गर्छौँ : व्यवसायी
भवानी कम्पनीका प्रतिनिधि तेजबहादुर चन्दले महाकाली नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्दा जेसिभी प्रयोग गैरकानुनी नभएको बताए । ‘यसअघिका वर्षमा पनि जेसिभीबाटै नदीजन्य पदार्थ संकलन हुन्थ्यो,’ ‘उनले भने, ‘अहिले आएर प्रहरीले के गर्न खोजेको हो, हामीले बुझ्न सकेका छैनौँ ।’ नदीबाट हाले औजार र हातखुट्टाको प्रयोगले ढुंगा, गिट्टी र बालुवा संकलन गर्न नसकिने चन्दको भनाइ छ । 

उनले देशैभरिका नदीनालाबाट जेसिभी लगाएरै नदीजन्य पदार्थको उत्खनन हुने गरेको बताए । ‘यसले प्रहरीको नियत ठीक छैन भन्ने देखिन्छ,’ उनले भने, ‘रकम नपाएपछि प्रहरीले विनासूचना धमाधम मजदुर र उपकरण नियन्त्रणमा लिनु खेदजनक छ ।’

पौने चार करोडमा ठेक्का
भीमदत्त नगरपालिको चालू आर्थिक वर्षका लागि तीन करोड ७५ लाख रुपैयाँमा महाकाली नदी ठेक्का लगाएको छ । नगरपालिकासँगको सम्झौतामा उपकरण प्रयोग गर्न नपाइने विषय उल्लेख नभएको चन्दले बताए । 

नेपाल ट्रेड युनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष सिद्धराज भट्टले मजदुरलाई विनाकारण गैरकानुनी तरिकाले प्रहरीले पक्राउ गरेको आरोप लगाए । ‘खोलामा काम गरिरहेका मजदुरलाई पक्राउ गर्नु खेदजनक छ,’ भट्टले भने, ‘मजदुरलाई पक्राउ गर्नु र थुन्नु गैरकानुनी हो । जे मालिकले गर भन्छ, मजदुरले त्यही गर्ने हो, सक्छ भने प्रहरीले ठेकेदार र मालिकलाई थुनोस् ।’