१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज २५ शनिबार ०९:४६:००
Read Time : > 4 मिनेट
फिचर

पूर्वी अफ्रिकामा चम्किएका नेपाली

Read Time : > 4 मिनेट
२०७६ असोज २५ शनिबार ०९:४६:००

युगान्डाको राजधानी कम्पला र अर्काे सहर एन्तेबेलाई जोड्ने चार लेनको एउटा सुन्दर राजमार्ग भर्खरै निर्माण भएको छ । ‘एक्सप्रेस–वे’ नामक यो सडकलाई युगान्डाको पूर्वाधार विकासमा नमुना सडकमा रूपमा लिइन्छ । यो सडकको नाता नेपालसँग समेत गाँसिएको छ । नेपाली इन्जिनियर कीर्तिबहादुर थापाले सडकको डिजाइन गरेका हुन् ।

चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन’ले निर्माण गरेको सो सडक परियोजनामा परामर्शदाताका रूपमा थापाले सडकको डिजाइन गरेका हुन् । विभिन्न देशका परियोजनामा काम गरिसकेका थापाको यो कामले युगान्डामा नेपालीकै शान बढाएको छ । थापाजस्तै पूर्वी अफ्रिकी देशमा धेरै नेपाली छन्, जसको इमान्दारी र मिहिनेतले ती देशमा नेपालीले सफलताको उचाइ चुमेका छन् । 

एन्तेबेमै रहेको पाँचतारे होटेल ‘के होटल्स्’को महाप्रबन्धकमा स्याङ्जाका जिभनाथ पंगेनी कार्यरत छन् । उनी भारत हुँदै होटेलमा काम गर्ने क्रममा युगान्डा पुगेका थिए । ‘द्वन्द्वको समयमा देशमा बस्ने वातावरण नभएपछि मुम्बई पुगियो,’ उनी भन्छन्, ‘त्यहाँबाट मलेसिया, सिंगापुर र दुबईमा पुगेरसमेत होटेल क्षेत्रमा काम गरे, युगान्डामा आएर जमेँ ।’ 

सन् २००२ मा एक भारतीय मूलका व्यापारीले उनलाई युगान्डा लगेका थिए । पछि उनी के होटल्स्मा प्रबन्धक पदमा जोडिए । भारतीय मालिकले होटेल व्यवस्थापनको जिम्मेवारी उनलाई नै सुम्पिएका छन् । करिब एक दशकदेखि परिवारसहितै युगान्डामा बस्दै आएका छन् पंगेनी । पंगेनी एनआरएन युगान्डाका पूर्वअध्यक्षसमेत हुन् । 

युगान्डाको मन्त्रालयमा पनि एक नेपाली कार्यरत छन् । अर्थ मन्त्रालयमा वरिष्ठ कानुनी सल्लाहकारका रूपमा काठमाडौंका प्रज्ज्वलराज ज्ञवाली एक वर्षदेखि कार्यरत छन् । उनी ‘अक्सफोर्ड पोलिसी फेलोसिप’अन्तर्गत सो जिम्मेवारीमा पुगेका हुन् । युगान्डा सरकारले विभिन्न देश र दातृ निकायबाट लिने वैदेशिक ऋणबारे समन्वय गर्ने उनको जिम्मेवारी छ । उनी सो पदमा दुई वर्षका लागि नियुक्त भएका हुन् । 

भारतबाट एलएलबी गरेका उनले सुरुमा भारतको आइसिआइसिआई बैंकमा अधिवक्ताका रूपमा काम गरे । ‘बिजनेस ल’मा स्नातकोत्तर गर्न उनी जर्मनी, नेदरल्यान्ड र इजरायल पुगेर अध्ययन गरे । लगत्तै उनी यो फेलोसिपमा छानिएका हुन् । 

अफ्रिका भन्नेबित्तिकै हामीमा गरिबीलगायत नकारात्मक कुराको छाप परेको छ । तर, युरोप, अमेरिकाभन्दा अफ्रिकी देशमा कार्यरत नेपालीको कमाइ र सुविधा राम्रो छ । कर्मचारीले आवाससहित सुविधा पाउँछन् । धेरैले परिवारलाई समेत सँगै राखेका छन् । विगतमा बहादुर गोर्खाली भनेर नेपाली विश्वमा चिनिएका थिए । पछिल्लो समयमा कामप्रतिको लगनशीलताका कारण अफ्रिकी देशहरूमा नेपालीको गौरव बढेको छ । उनीहरू इमानदार नेपाली भनेर चिनिने गरेका छन् ।

लामो समय विदेश बसेकाले अब देशमै केही गर्ने उनको इच्छा छ । ‘यहाँ आएर अरू देशसँग कसरी नेगोसिएसन गर्नुपर्छ भन्ने कुरा मैले धेरै सिकेँ,’ ज्ञवाली भन्छन्, ‘यो अनुभव आफ्नो देशका लागि पनि काम लाग्छजस्तो लाग्छ, त्यसकारण देशमै बसेर एक वर्षपछि केही गर्ने योजनामा छु ।’ 

युगान्डामा जमेका अर्का नेपाली हुन् राजमणि भण्डारी । युगान्डामा व्यवसाय सुरु गर्ने उनी पहिलो नेपाली हुन् । एक गुजराति साथीको सल्लाहमा एक दशकअघि उनी केन्या हुँदै व्यवसाय गर्न युगान्डा पुगेका हुन् । नाइल नदीको मुहानका लागि पर्यटकीय गन्तव्य बनेको जिन्जामा उनले लिओस रेस्टुरेन्ट चलाउँदै आएका छन् । विगतमा सो रेस्टुरेन्टका तीन शाखा खोलेका उनी ती सबै बन्द गरेर होटेल चलाउने तयारीमा जुटेका छन् । एनआरएन युगान्डाका पूर्वअध्यक्ष रहेका उनी हालै आइसिसी सदस्यमा सर्वसम्मत रूपमा चयन भएका छन् । स्वदेशमा पनि व्यवसायमा लगानी गर्ने उनको योजना छ । 

श्यामकृष्ण मानन्धर युगान्डामा उच्च पदमा बसेर काम गर्ने अर्का नेपाली हुन् । उनी मेहफिर क्यासिनोका महाप्रबन्धकका रूपमा कार्यरत छन् । नेपालमा पनि विभिन्न क्यासिनोमा काम गरेको अनुभव उनीसँग छ । त्यस्तै, आशिष खड्का पनि सो क्यासिनोमा प्रबन्धकका रूपमा कार्यरत छन् ।

अरू थुप्रै नेपाली युगान्डाका विभिन्न कम्पनीमा उच्च पदमा कार्यरत छन् । गुल्मीका रमेश कँडेल बेस्ट वेस्टर्न प्रिमियर गार्डन रिसोर्टमा मल्टी कुजिन एन्ड सेकेन्ड एक्जुकेटिभ सेफका रूपमा कार्यरत छन् । उनी एनआरएनए युगान्डाका पूर्वअध्यक्ष हुन् । उनी कलाकार पनि हुन् । रमेश गीत लेख्ने र गाउने पनि गर्छन् । 

मुनोनियो कमन वेल्थ रिसोर्टमा चिफ सेफका रूपमा रमेश गिरी कार्यरत छन् । सञ्जीव शर्मा र रमेश शर्मा फाइनान्स कन्ट्रोलरका रूपमा कार्यरत छन् । एनआरएन युगान्डाका अध्यक्ष रहेका विनोद थापा आकासिया मलमा सेक्युरिटी म्यानेजरका रूपमा कार्यरत छन् । उनीसँगै सोही पदमा कमलदत्त भट्ट पनि कार्यरत छन् । 

युगान्डामा रमा अर्यालले हालै कस्मेटिक पसल खोलेकी छिन् । एयरपोर्ट ड्युटी फ्री रेस्टुरेन्टमा मीन शाही प्रबन्धकका रूपमा कार्यरत छन् । महादेव सुवेदी, वासुदेव पाण्डे, वीरबहादुर थापा, कृष्ण भण्डारी, एलबी थापा, गंगालाल खरेल, यम पराजुली ठूला एक्जुकेटिभ सेफ पदमा कार्यरत छन् । त्यस्तै, इन्दु गिरी ब्युटीसियनका रूपमा कार्यरत छिन् । नेपालमा विभिन्न ठूला होटेलमा काम गरिसकेका निमेष श्रेष्ठ स्पिक अपार्टमेन्टमा फ्रन्ट अफिस मेनेजरका रूपमा कार्यरत छन् । ईश्वरी गैरे र प्रेम श्रेष्ठ मिलेर हालै कम्पलामा हिमालय फास्ट फुड नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । त्यहीँ धनराज गिरीले पनि भान्छा घर फ्यजुर फास्ट फुड नामको रेस्टुरेन्ट सुरु गरेका छन् । 

केन्यामा वैज्ञानिकदेखि अफ्रिका मेनेजरसम्म

केन्यामा पनि उच्च पदमा धेरै नेपाली कार्यरत छन् । सडक विभागका पूर्वकर्मचारी इन्जिनियर नारायण भट्टराई केन्याको विकासमा आबद्ध छन् । केन्याको राजधानी नैरोबीको सबैभन्दा लामो (एक किलोमिटर) फ्लाइओभर उनले नै डिजाइन गरेका छन् । नैरोबीको बाहिरी चक्रपथ निर्माणको प्रोजेक्टमा उनी परामर्शदाताका रूपमा कार्यरत छन् । 

कुलबहादुर कार्की केन्याको ठूलो कम्पनी केन्ट्यांक नामक कम्पनीमा महाप्रबन्धकका रूपमा कार्यरत छन् । पानीट्यांकीको व्यवसाय गर्ने सो कम्पनीले अन्य अफ्रिकी देशमा समेत व्यवसाय फैलाएको छ । 

डा. सीताराम घिमिरे इन्टरनेसल लाइफ स्टक रिसर्च इन्टिच्युटमा वैज्ञानिकका रूपमा कार्यरत छन् । केन्या र इथियोपियाले संयुक्त स्थापना गरेको सो संस्थाले अफ्रिकाभर नै काम गर्दै आएको छ । १४ वटा देशमा संस्थाको कार्यालय छ । प्लान्ट प्याथोलोजीमा उनको तीन दशकको अनुभव छ । 

नवलपरासीका यादव काफ्ले टोक्यो ट्रेडिङ ग्लोबल लिमिटेडका अफ्रिकाका क्षेत्रीय प्रबन्धकका रूपमा कार्यरत छन् । उनी जापान हुँदै केन्या पुगेका हुन् । ‘यहाँका नराम्रा धेरै खबर बाहिर आउँछन्, तर राम्रा खबर कमै आउँछ,’ उनी भन्छन्, ‘युरोप, अमेरिकामा जाने नेपालीभन्दा अफ्रिकामा जानेहरूको कमाइ राम्रो छ ।’  सल अफ्रिका हाेटल्समा सुरज डुम्रे म्यानेजरका रूपमा कार्यरत छन् । उनी एनआरएनए केन्याका अध्यक्षसमेत हुन् । 

एनआरएनए केन्याका पूर्वअध्यक्ष कृष्णदत्त भट्ट एचसिजिसिसिके क्यान्सर अस्पतालमा सिनियर रेडियसन थेरापिस्टका रूपमा कार्यरत छन् । विराटनगरका इन्जिनियर रवि जैन ब्रिटानिया इन्ड्रस्टिजमा क्षेत्रीय बिक्री प्रबन्धकका रूपमा कार्यरत छन् । 

युगान्डाको मन्त्रालयमा पनि एक नेपाली कार्यरत छन् । अर्थ मन्त्रालयमा वरिष्ठ कानुनी सल्लाहकारका रूपमा काठमाडौंका प्रज्ज्वलराज पराजुली एक वर्षदेखि कार्यरत छन् । उनी ‘अक्सफोर्ड पोलिसी फेलोसिप’अन्तर्गत सो जिम्मेवारीमा पुगेका हुन् । 

स्याङ्जाका खेम पौडेल बेलायतको रिटलेर कम्पनी क्यालिफोरको केन्या शाखाको म्यानेजरका रूपमा कार्यरत छन् । एनआरएनए इराकका पूर्वअध्यक्ष रहेका उनी यसअघि सोही कम्पनीमा इराकमा कार्यरत थिए । 

विराटनगरका भक्तबहादुर थापाले करिब १० वर्षदेखि नैरोबीमा हुक एन्ड कुक नामक रेस्टुरेन्ट चलाउँदै आएका छन् । एनआरएनएका नवनिर्वाचित अध्यक्ष सुरज डुम्रे पाँचतारे होटेल सन् अफ्रिकामा सप्लाई मेनेजरका रूपमा कार्यरत छन् । धनेन्द्र बस्नेत आसिआरसीमा प्रशासन तथा आर्थिक मेनेजरका रूपमा कार्यरत छन् । 

‘बहादुर नेपालीबाट इमान्दार नेपाली’ 

युगान्डाका सबैभन्दा धनाढ्य व्यवसायी डा. सुधीर रूपरेलियाको विभिन्न कम्पनीमा मात्र एक सयभन्दा धेरै नेपाली कार्यरत छन् । विदेशी कामदारमा नेपालीलाई नै उनले सबैभन्दा बढी रुचाउँछन् । कारणबारे सोध्दा उनी भन्छन्, ‘नेपालीहरू इमान्दार छन्, आफ्नो जिम्मेवारीप्रति सधैँ लगनशील हुने भएकाले मलाई नेपाली मन परेको हो ।’ 

अफ्रिका भन्नेबित्तिकै हामीमा गरिबीलगायत नकारात्मक कुराको छाप परेको छ । तर, युरोप, अमेरिकाभन्दा अफ्रिकी देशमा कार्यरत नेपालीको कमाइ र सुविधा राम्रो छ । कर्मचारीले आवाससहितको सुविधा पाउँछन् । धेरैले परिवारलाई समेत सँगै राखेका छन् । 

अफ्रिकी देशका कम्पनीले दक्ष कामदार मात्र विदेशबाट ल्याउने गर्छन् । युगान्डा र केन्यामा विदेशी कामदार ल्याउँदा एकवर्षे भिसा शुल्क मात्र करिब तीन लाख नेपाली रुपैयाँबराबर तिर्नुपर्ने हुन्छ । 

टोक्यो ट्रेडिङ ग्लोबल लिमिटेडका अफ्रिकाका क्षेत्रीय प्रबन्धक यादव काफ्ले भन्छन्, ‘यहाँका नराम्रा खबर धेरै बाहिर आउँछन्, तर राम्रा खबर कमै आउँछन्, युरोप अमेरिकामा जाने नेपालीभन्दा अफ्रिकामा जानेहरूको कमाइ राम्रो छ ।’ अफ्रिकामा नेपालीहरूको नकारात्मक समाचार मात्र धेरै आउने गरेको उनीहरूको गुनासो छ । 

अफ्रिकी देशहरूमा भारतीयसँगै नेपालीहरू जान थालेको इतिहास छ । ब्रिटिस सरकारको उपनिवेश हुँदा अफ्रिकी देशहरूमा रेल निर्माणलगायत विकास निर्माणका कामका लागि ठूलो संख्यामा भारतीयलाई लगेका थिए । त्यसरी अफ्रिका पुगेका भारतीय अहिले सबैजसो अफ्रिकी देशमा ठूला व्यवसायी बनेका छन् । उनीहरूसँगै कतिपय नेपाली सहयोगीका रूपमा अफ्रिका जान थालेका थिए । 

नाइजेरियामा बस्दै आएका एनआरएनएका केन्द्रीय कोषाध्यक्षसमेत रहेका हिक्मत थापा भन्छन्, ‘अफ्रिकी देशहरूमा नेपालीको उपस्थिति बढ्दै गएको छ, दक्ष कामदारका लागि अफ्रिकी देशहरूमा धेरै अवसर छ ।’ दक्ष कामदारहरूले अफ्रिकी देशहरूमा उच्च तलब पाउने गरेका छन् । 

विगतमा बहादुर गोर्खाली भनेर नेपालीहरू विश्वमा चिनिएका थिए । पछिल्लो समयमा कामप्रतिको लगनशीलताका कारण अफ्रिकी देशहरूमा नेपालीहरूको गौरव बढेको छ । उनीहरू इमान्दार नेपाली भनेर चिनिने गरेका छन् ।