मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज २४ शुक्रबार ०८:५०:००
Read Time : > 1 मिनेट
अर्थ

चीनसँग चुलिँदै व्यापार घाटा

आयात उच्चदरमा बढ्दै जाँदा निर्यात पनि उच्चदरमै घट्दो  

Read Time : > 1 मिनेट
२०७६ असोज २४ शुक्रबार ०८:५०:००

उत्तरतर्फको छिमेकी मुलुक चीनसँग नेपालको व्यापार असन्तुलन बढ्दै गएको छ । दुई मुलुकबीच व्यापारका लागि कानुनी संरचना तथा पूर्वाधार विकास भइरहँदा नेपालको व्यापार घाटा भने अझ चुलिँदै गएको छ । 

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले चीनसँग ४० अर्ब २७ करोड ३३ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ अर्ब ४९ करोड रुपैयाँले बढी हो । आव २०७५/०७६ को पहिलो दुई महिनामा नेपालले २८ अर्ब ७८ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो । 

यस आवको साउन र भदौ महिनामा आकासिँदो रूपमा आयात हुँदा निर्यात भने २९ करोड ४ लाख रुपैयाँ (आयातको शून्य दशमलव ७२ प्रतिशत) को मात्रै भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यात ६ करोड ११ लाख रुपैयाँले घटेको हो । गत आवको पहिलो दुई महिनामा नेपालले ३५ करोड १५ लाख रुपैयाँको निर्यात गरेको थियो । 

निर्यात निरन्तर ओरालो
चीनसँगको नेपालको व्यापार एकपक्षीय रूपमा बढ्दै गएको देखिन्छ । आयात निरन्तर बढिरहँदा निर्यात भने बढ्न सकेको देखिँदैन । पछिल्ला पाँच वर्षयता नेपालको निर्यात घटेको देखिन्छ । आव ०७०/७१ मा नेपालले चीनमा २ अर्ब ५४ करोडको निर्यात गरेको थियो । आव ०७५/७६ मा आइपुग्दा नेपालको निर्यात २ अर्ब १० करोडमा झरेको छ । चीनसँगको नेपालको निर्यात ३ अर्ब रुपैयाँसमेत पुग्न सकेको देखिँदैन ।

शून्य भन्सारको उपयोग किन भएन ?
चीनले करिब ८ हजार ३ वटा वस्तुलाई भन्साररहित सुविधा दिएको छ । तर, यसमध्ये ५ सयवटा वस्तुको भने निर्यात सम्भावना छैन । बाँकी ७ हजार ५ सय वस्तुमध्ये केही वस्तु मात्रै निर्यात भइरहेका छन् । नेपालले निर्यात गर्न नसक्ने वस्तुमा भन्साररहित सुविधा पाए पनि निर्यात गर्न सक्ने वस्तुमा भने भन्सार छुट नपाएको व्यवासायीले गुनासो गर्दै आएका छन् । उनीहरूले भन्साररहित वस्तुको सूची हेरफेरका लागि समेत सरकारसँग आग्रह गर्दै आएका छन् । ‘चीनबाट आयात गर्न जति सजिलो छ त्यता निर्यात गर्न कैयौँ गुणा बढी कठिन छ,’ एक व्यापारीले भने, ‘हाम्रा कतिपय कृषिवस्तुलाई सहज प्रवेश दिइँदैन, अन्य थुप्रै प्रक्रियागत झन्झट छन् ।’ नेपालबाट चीनमा मुख्य गरी गलैँचा, हस्तकला, पस्मिना, तयारी पोसाक, छाला, अगरबत्ती, चिया तथा चाउचाउ निर्यात भइरहेका छन् । त्यस्तै, रुद्र्राक्ष, यार्सागुम्बा, प्राकृतिक मह, वनस्पति घिउ, चाँदीका गरगहना, कफी, फेल्टलगायत वस्तु पनि निर्यात भइरहेका छन् । चीनबाट भने जीवित पशुपक्षी, माछामासु, कस्मेटिक, चकलेट, बटर, चिज, फूल र फूलका बोट, फर्निचर, इलेक्ट्रोनिक्स, स्याउ, कफी, लत्ताकपडा, जुत्ताचप्पल, मेसिनरी, अलैँची, सोयाबिनलगायत थुप्रै मालवस्तु आयात हुने गरेको छ ।

तातोपानी नाकाबाट निर्यात शून्य
अहिले नेपाल र चीनबीच दुई व्यापारिक नाका सञ्चालनमा छन् । जसमा रसुवाबाट आयात–निर्यात दुवै भइरहेको छ भने तातोपानी नाकाबाट निर्यात भएको देखिँदैन । भन्सार विभागका अनुसार समीक्षा अवधिमा रसुवाबाट ९ अर्ब ३ करोड रुपैयाँको आयात हुँदा १८ करोड ७७ लाख रुपैयाँको मात्रै निर्यात हुन सकेको छ । तातोपानी नाकाबाट २९ करोड ९० लाख रुपैयाँबराबरको मालवस्तु आयात हुँदा निर्यात भने हुनै नसकेको विभागको तथ्यांक छ ।