मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असोज २४ शुक्रबार ०७:४६:००
Read Time : > 3 मिनेट
सेयर बजार

६ करोडमा सीमित कारोबार रकम

Read Time : > 3 मिनेट
२०७६ असोज २४ शुक्रबार ०७:४६:००

दसैँपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत घटेर बन्द भएको छ । दसैँपछिको पहिलो कारोबार दिन भएका कारण यस दिन कारोबार रकम ६ करोडमा सीमित भएको छ । अधिकांश लगानीकर्ता अझै पनि चाडपर्वको मुडमा नै रहेका छन् । साताको अन्तिम कारोबार दिन भएका कारण पनि लगानीकर्ता यस दिन खासै कारोबार गर्ने मुडमा नभएको एक ब्रोकरले बताए ।

दसैँ मनाउन घर गएका कतिपय लगानीकर्ताहरू अझै फर्किएका छैनन् । सो कारण पनि यस दिनको कारोबार रकममा कमी आएको उनको भनाइ छ । यस दिनको बजारलाई कम्पनीहरूले घोषणा गरेको लाभांशले प्रभाव पारेको छ । आकर्षक लाभांश घोषणा गरेका कम्पनीहरूको सेयर कारोबार यस दिन बढी भएको छ । आगामी कारोबार दिनहरूमा नेप्सेले सकारात्मक दिशा लिने लगानीकर्ताहरूको अपेक्षा रहेको छ । कम्पनीहरूले आकर्षक लाभांश घोषणा गरिरहेका वेला सेयरमूल्य सस्तो भएका कारण आगामी दिनमा बजार बढ्ने प्रबल सम्भावना रहेको एक लगानीकर्ताले बताए । 

बजार सारांशः यस दिन नेप्से परिसूचक शून्य दशमलव ३९ अंक घटेर १ हजार १ सय ४९ दशमलव शून्य १ बिन्दुमा पुगेको छ । यस दिन १ सय २१ कम्पनीको १ हजार १ सय ५२ पटकको कारोबारमा ६ करोड ३८ लाख ४५ हजार ४ सय ११ रुपैयाँबराबरको २ लाख ३२ हजार ६ सय १९ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव शून्य ४ अंक घटेर २ सय ५१ दशमलव ९३ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य ३ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ५ अंक बढेको छ ।
 
प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ४५ दशमलव १४ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ६९ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । कारोबारमा आएका १ सय २१ कम्पनीमध्ये यस दिन ३९ कम्पनीको सेयरमूल्य बढेको छ भने ५६ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २६ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ४७ दशमलव ३४ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ४५ दशमलव ६७ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, आइतबार बजार उकालो लागे नेप्सेले १ हजार १ सय ५१ दशमलव २८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ५३ दशमलव ५५ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

सर्वाधिक कमाउने गुडविल फाइनान्स
यस दिन कारोबारमा आएको गुडविल फाइनान्सको सेयरमूल्य सर्वाधिक ७ दशमलव ६९ प्रतिशत बढेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन १० रुपैयाँ बढेर १ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ५ दशमलव २८ प्रतिशत बढेको छ । यस दिन बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमूल्य ३ दशमलव ९८ प्रतिशत र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ३ दशमलव ८३ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन कम्पनीहरूको सेयरमूल्य खासै घटेको छैन । सेयरमूल्य ३ दशमलव ६३ प्रतिशत घटेको नेपाल सेवा लघुवित्त वित्तीय संस्था यस दिन सर्वाधिक गुमाउने १० कम्पनीहरूको सूचीमा पहिलो स्थानमा रहेको छ । अपि पावर कम्पनी, रिलायन्स फाइनान्स, नागरिक लगानी कोष, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल हाइड्रो डेभलोपर्सको सेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ । 

प्रभु बैंकको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो बैंकको यस दिन २ सय ४६ पटकको कारोबारमा २ करोड ५५ लाख ५ हजार ४ सय २६ रुपैयाँबराबरको ९४ हजार ६ सय ६४ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकले बजार खुलेसँगै लाभांश घोषणा गरेपछि लगानीकर्ताहरू सो बैंकतर्फ आकर्षित भएका हुन् । कमजोर बैंकहरूलाई गाभेर आकर्षक नाफा कमाएको यस बैंकले लाभांश घोषणा गर्ने प्रतीक्षामा लगानीकर्ताहरू लामो समयदेखि रहेका थिए । २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको सिद्धार्थ बैंक यस दिन कारोबार संख्या र कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको छ । सो बंैकको यस दिन ६२ पटकको कारोबारमा ३९ लाख ७५ हजार ६ सय ८२ रुपैयाँबराबरको ११ हजार ७ सय ३ कित्ता सेयर किनबेच भएको छ । त्यसैगरी, करिब १८ प्रतिशत लाभांश घोषणा गरेको महालक्ष्मी विकास बैंकको यस दिन ५० पटकको कारोबारमा ३५ लाख १५ हजार ४ सय ९१ रुपैयाँबराबरको १६ हजार ३ सय ४८ कित्ता सेयर खरिदबिक्री भएको छ ।  

६ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ५ समूहको घटेको छ । वित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ५१ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव १७ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव १४ प्रतिशत, वाणिज्य बैंकको शून्य दशमलव १३ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव १२ प्रतिशत र म्युचुअल फन्ड समूहको शून्य दशमलव शून्य ८ प्रतिशत बढेको छ । कारोबारमा आएको जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ८९ प्रतिशत घटेको छ । त्यसैगरी, अन्य समूहको शून्य दशमलव ६२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव १६ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव १२ प्रतिशत र होटेल समूहको शून्य दशमलव शून्य ८ प्रतिशत घटेको छ ।