मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज २४ शुक्रबार ०७:४०:००
Read Time : > 1 मिनेट
खेलकुद

विश्वकप छनोट २०२२ : नेपालको पोस्टमा पाँच गोल

Read Time : > 1 मिनेट
२०७६ असोज २४ शुक्रबार ०७:४०:००

सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको एसियन छनोटमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेराको जियो रंगशालामा बिहीबार सम्पन्न खेलमा नेपालले अस्ट्रेलियासँग ५–० ले पराजित भयो । छनोट चरणमा नेपालले योसमेत दोस्रो हारको सामना गरेको छ । नेपालले चाइनिज ताइपेयीलाई २–० ले हराएको थियो । कुवेतसँग नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । नेपाल फिफा बरियताको एक सय ६१औँ र अस्ट्रेलिया ४४औँ स्थानमा छन् । अब नेपालले २८ असोजमा जोर्डनको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । 

पहिलो हाफमा तीन गोल
अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्न नेपाली फुटबल टोली एक साताअघि नै क्यानबेरा पुगेको थियो । एक साताको प्रशिक्षण प्राप्त नेपाली टोलीले फिफा बरियतामा आफूभन्दा उच्च स्थानमा रहेको अस्ट्रेलियाविरुद्ध पहिलोभन्दा दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । नेपालले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल बेहोरेको थियो । अस्ट्रेलियन प्रशिक्षक ग्राहम अर्नाेल्डले नेपालमाथि आक्रामक रणनीति अपनाएका थिए । यता नेपालका प्रशिक्षक योहान कालिनले पहिलो सेटमा नवयुग श्रेष्ठ तथा विमल घर्तीमगरलाई प्रतिस्पर्धा गराएनन् । 

म्याकलोरेनको ह्याट्रिक
नेपालविरुद्ध स्ट्राइकर जेमी म्याकलोरेनले ह्याट्रिक गरेका थिए । खेलको छैटौँ मिनेटमा उनले अस्ट्रेलियालाई १–० को अग्रता दिलाए । खेलको १९औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । अजिजको उत्कृष्ट क्रसमा म्याकलोरेनले हेडिङ गोल गरेका हुन् । खेलको ९०औँ मिनेटमा म्याकलोरेनले नेपाली डिफेन्डरलाई छक्याएर डिबक्सबाट उत्कृष्ट गोल गरी अस्ट्रेलियालाई ५–० को सानदार जित दिलाए । यसघि खेलको २४औँ मिनेटमा ह्यारी सटरले अस्ट्रेलियालाई ३–० को अग्रता दिलाए । सटरले क्रेग गुडविनको पासमा गोल गर्न सफल भए ।

रक्षात्मक रणनीति
नेपालका मुख्य प्रशिक्षक कालिनले अस्ट्रेलियाविरुद्ध रक्षापंक्ति रणनीति अपनाएका थिए । अस्ट्रेलियन खेलाडी आक्रामक रूपमा प्रस्तुत हुँदा नेपाली डिफेन्डर निकै व्यस्त देखिए । नेपालका गोलरक्षक किरण चेम्जोङले प्रतिस्पर्धामा केही उत्कृष्ट बचाउ गरेका थिए । उनले खेलको पाँचौँ मिनेटमा रञ्जित धिमालको ब्याक पासबाट आएको बललाई मुस्किलले क्लियर गरे । खेलको ६५औँ मिनेटमा प्रशिक्षक कालिनले अभिषेक रिजालको स्थानमा विमललाई मैदानभित्र प्रवेश गराएका थिए । यसैगरी खेलको ७९औँ मिनेटमा अन्जन विष्टको स्थानमा तेज तामाङले मौका पाए । 

अहिलेसम्म १२ गोल
विश्वकप छनोटमा नेपालले तीन खेल खेल्यो । तीन खेलमध्ये एकमा जित निकालेको नेपालले अहिलेसम्म १२ गोल खाएको छ । नेपालले खेलेका तीन खेल नै अवे हो । समूह बीमा अस्ट्रेलियाले दुई खेलमा ६ अंक बटुलेको छ । कुवेतले दुई खेलबाट तीन अंक बटुली दोस्रो स्थानमा छ । जोर्डनले तीन अंक जोडी तेस्रो स्थान रक्षा गरेको छ । तीन खेल खेलेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ । लगातार दुई खेलमा हार सामना गरेको चाइनिज ताइपेयी पाँचौँ स्थानमा छ ।