मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असोज १६ बिहीबार ०९:२५:००
Read Time : > 1 मिनेट
प्रदेश

प्रदेशको पाँचवर्षे आवधिक योजना तयार : पाँच वर्षभित्र प्रतिव्यक्ति आय १६ सय २० डलर पुर्‍याइने

Read Time : > 1 मिनेट
२०७६ असोज १६ बिहीबार ०९:२५:००

आगामी पाँच वर्षभित्र प्रदेश १ सरकारले प्रतिव्यक्ति आय १६ सय २० डलर पुर्‍याउने लक्ष्य बनाएको छ । प्रदेश सरकारको योजना आयोगले प्रदेशको पाँच वर्षे आवधिक योजना तयार पारेको हो । गरिबी निवारण र तीव्र आर्थिक विकासका लागि ९ दशमलव ७ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य राखेको प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताए ।

प्रदेश १ सरकारले आगामी पाँच वर्षभित्र शून्य दशमलब ५२३ को मानव विकास सूचकांकलाई शून्य दशमलव ६०० पुर्‍याउने तथा ८ दशमलव ७ प्रतिशतको आर्थिक वृद्धिदरलाई १० दशमलव ४ प्रतिशत बनाउने पनि लक्ष्य लिएको छ ।

आवधिक योजनामा प्रदेश सरकारले पाँच वर्षभित्र कालोपत्रे सडकको लम्बाइ पाँच हजार किलोमिटर पुर्‍याउने लक्ष्य लिएको छ । १४ हजार २ सय २६ किमि सडक सञ्जाल भएको प्रदेश १ का १४ जिल्लामा अहिले एक हजार ५ सय किलोमिटर सडक मात्र कालोपत्रे छन् । जसमध्ये २ हजार ९ सय किलोमिटर ग्राभेल र ९ हजार ७ सय ६३ किलोमिटर सडक कच्ची छन् ।

यसैगरी, एक सय स्थानमा केबलकार, २५ किलोमिटर रेल मार्ग, दुई हजार एक सय झोलुंगे पुल निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ । प्रदेश सरकारले पाँच वर्षभित्र एक सय किलोमिटर जलमार्गसमेत निर्माण गर्ने लक्ष्य लिएको छ ।

 पाँच वर्षभित्र लगानी ८ खर्ब ३ अर्ब पुर्‍याइने   
प्रदेश सरकारले पाँच वर्षभित्रमा हालको लगानी ५ खर्ब ५० अर्ब २९ करोड १० लाखबाट बढाएर ८ खर्ब ३ अर्ब ५ करोड ३० लाख पुर्‍याउने लक्ष्य राखेको छ । योजना कार्यान्वयनका लागि कुल १४ खर्ब ४२ अर्ब ८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा सरकारले ५ खर्ब ५७ अर्ब ७८ करोड, निजी क्षेत्रबाट ७ खर्ब ७६ अर्ब ५३ करोड, सहकारीबाट ७९ अर्ब ३० करोड र सामुदायिक क्षेत्रबाट २८ अर्ब ४६ करोड लगानी हुने प्रक्षेपण गरिएको छ ।

प्रदेश सरकारले औद्योगिक लगानीमा वार्षिक १३ प्रतिशतले वृद्धि गरी ९ अर्ब २५६ करोड उत्पादनलाई पाँच वर्षभित्र १४ अर्ब ८९७ करोड पुर्‍याउने योजना राखेको छ । यस्तै कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १९ दशमलव ९२ प्रतिशतबाट २३ दशमलव ६१ प्रतिशत पु¥याउने र १ लाख २१ हजार रोजगारी संख्यालाई २ लाख बनाउने लक्ष्य सरकारको छ ।

प्राथमिकतामा पर्यटन र विद्युत्
पाँच वर्षभित्र प्रदेश सरकारले ३२ हजार रोजगारीलाई ६४ हजार पुर्‍याउने र हाल पहिचान भएका १३ पर्यावरणीय अनुकूल पर्यटकीय क्षेत्रको संख्या ५० बनाउने लक्ष्य लिएको छ । पर्यटन क्षेत्रको विकास र पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको प्रदेश सरकारले कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ बाट ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । यसैगरी, प्रदेश सरकारले पाँच वर्षभित्र विद्युत् उत्पादन १५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ । अहिले प्रदेश १ मा १ सय २१ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । प्रदेश १ मा ३४ हजार मेगावाट विद्युत् उत्पादन हुन सक्ने सम्भावना छ ।