मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बाबुराम भट्टराई काठमाडाैं
२०७६ असोज १५ बुधबार ०८:०६:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

गान्धी र माओ

गान्धीलाई ‘अहिंसाका दूत’ भनेर विश्वले चिनेको छ भने माओ सशस्त्र क्रान्तिका पक्षपाती हुन्, उनीहरूका मार्ग पृथक् थिए, तर दुवैको लक्ष्य समान थियो

Read Time : > 5 मिनेट
बाबुराम भट्टराई काठमाडाैं
२०७६ असोज १५ बुधबार ०८:०६:००

एक्काइसौँ शताब्दी ‘एसियाली शताब्दी’ हुनेछ भनेर धेरैले आकलन गरेका छन् । साथै चीन र भारतले बदलिँदो विश्व राजनीतिक रंगमञ्चको केन्द्रमा स्थान जमाउनेछन् । यस्ता युगान्तकारी परिवर्तनमा निश्चित विचार र ती विचारसँग जोडिएका अगुवा व्यक्तित्वले अग्रणी भूमिका निर्वाह गर्छन् । यो सन्दर्भमा २०औँ शताब्दीको एसियाका दुईजना प्रमुख चिन्तक, महात्मा गान्धी र माओत्से तुङबारे विश्वले गहिरोसँग अध्ययन गर्न र बुझ्न आवश्यक छ । 

बिल्कुल विपरीत धार र विचारका यी दुई महान् व्यक्तित्वलाई एकसाथ प्रस्तुत गर्दा अस्वाभाविक र अनादर गरेको जस्तो लाग्न सक्छ । गान्धीलाई ‘अहिंसाका दूत’ भनेर सारा विश्वले चिनेको छ । यता माओ सशस्त्र क्रान्ति वा ‘जनयुद्ध’का खुला पक्षपाती हुन् । गान्धी सबै खालका शक्ति र सत्तालाई परित्याग गर्ने एक खालका साधु हुन् भने माओ शक्ति र सत्ताको केन्द्रमा रहेर २६ वर्षसम्म राज्यसत्ता सञ्चालन गरेका राजनेता । तर, सारमा हेर्ने हो भने गान्धी र माओ दुवै विशिष्ट र मौलिक चिन्तक प्रतीत हुन्छन् ।

दुवैजना आफ्ना देशवासीलाई निश्चित उद्देश्यका लागि व्यापक परिचालन गर्न सक्ने कुशल नेता र अगुवा हुन् । विश्वकै विशाल देश र करोडौँ जनतालाई विदेशी आधिपत्य र दासत्वबाट मुक्त गर्न सफल ऐतिहासिक व्यक्तित्व हुन् । गान्धी र माओका मार्ग पृथक थिए, तर दुवैको लक्ष्य समान थियो । गान्धी–माओको विचार र व्यवहारमा समानता पनि छन् र भिन्नता पनि छन् ।

 समानता
इतिहासका अन्य महान् व्यक्तित्वहरूझैँ गान्धी र माओ पनि २०औँ शताब्दीको सुरुमा विश्वभर देखिएको अभूतपूर्व उथलपुथलका उपज हुन् । पहिलो र दोस्रो विश्वयुद्धताका विश्वव्यापी रूपमा चर्किएको उपनिवेशवादविरोधी संघर्ष र लोकतान्त्रिक आन्दोलनको आँधी–बेहरीबीच गान्धी र माओको उदय भएको थियो । आफ्नो देश र जनताप्रति असीम गर्व र प्रेम तथा विगतको गौरव पुनस्र्थापित गर्ने हुटहुटी यी दुवै महान् नेताको प्रमुख समानता थियो । 

उत्पीडित जनसमुदायमाथि अगाध विश्वास र विशेषगरी ग्रामीण किसान समुदायलाई मुक्ति आन्दोलन र लोकतान्त्रिक संघर्षको अग्रदस्ताको रूपमा परिचालन गर्नु गान्धी र माओबीच देखिने अर्को निकै महत्वपूर्ण समानता हो । दुवैजना जनतासँग एकाकार हुने र जनसमुदायलाई विशाल जनप्रदर्शन र र्‍यालीमा परिचालन गर्न सक्ने जादुगरी क्षमता भएका व्यक्तित्व थिए ।

उदाहरणका लागि, गान्धीले नेतृत्व गरेका अनगिन्ती सत्याग्रह आन्दोलन र विशेषगरी सन् १९३० को डान्डी मार्च (नुन सत्याग्रह) अब इतिहास बनिसकेको छ । त्यस्तै, माओले सन् १९३४–३५ मा नेतृत्व गरेको नौ हजार किलोमिटर लामो ‘लम्बे अभियान’ अब दन्त्यकथाजस्तो भइसकेको छ । सहरी मजदुर वर्ग तथा बौद्धिकवर्गमाथि भर गर्नुपर्छ भन्ने यसअघिको क्रान्तिकारी रणनीतिभन्दा पृथक यो अवधारणा क्रान्तिकारी रणनीतिमा धेरै महत्वपूर्ण नवीन खोज थियो ।

गान्धी र माओबीच अर्को महत्वपूर्ण समानता हो, दुवैले विकासको पश्चिमी मोडेल वा पुँजीवादी मोडेलको विरोध गर्थे । गान्धीले आधुनिक औद्योगिक विकासको मार्गलाई नै पूरै परित्याग गर्नुपर्छ भन्ने धारणा राख्थे । गान्धीले आत्मनिर्भर ग्रामीण अर्थतन्त्र वा ग्रामीण समुदाय निर्माण गर्नुपर्छ भन्दै विकासको नयाँ वैकल्पिक मार्गको रूपमा ‘सर्वोदय’को अवधारणा अघि सारे । त्यस्तै, माओले पनि ठूला र भीमकाय उद्योगको वर्चस्व रहने आर्थिक प्रणालीप्रति एक खालको सन्देह राख्थे ।

कृषि र उद्योग अनि साना र ठूला उद्योगबीच सही सन्तुलन हुनुपर्छ भन्ने माओको धारणा थियो । तर, गान्धीको झैँ विकासको आधुनिकतावादी मार्गलाई पूर्ण रूपमा परित्याग गर्नुपर्छ भन्ने पक्षमा भने माओ थिएनन् । समग्रमा विकासको अन्तिम लक्ष्य भौतिक आवश्यकता पूर्ति गर्ने मात्रै होइन, नैतिकवान् नवमानव बनाउने हो भन्ने दुवैको समान विचार थियो । 

  भिन्नता
गान्धी र माओको सोच र दृष्टिकोणबीच रहेका केही महत्वपूर्ण भिन्नतालाई पनि बुझ्नु आवश्यक छ । विश्व दृष्टिकोण र दार्शनिक कोणबाट हेर्ने हो भने गान्धी कट्टर आदर्शवादी र अध्यात्मवादी थिए । गान्धीले मानव जीवन र जगत्लाई अधिभूतवादी वा मेटाफिजिकल कोणबाट हेर्थे । गान्धीको आध्यात्मिक जीवन गीता र रामायणजस्ता हिन्दू ग्रन्थबाट बढी प्रभावित र निर्देशित थियो । यद्यपि, उनी जातिवादका कट्टर विरोधी थिए र अन्य धार्मिक आस्थाप्रति सम्मान राख्ने सहिष्णु व्यक्ति थिए । उनले आफू टोल्सटोय, रस्किन, थोरो, इमर्सनजस्ता आधुनिकतावादविरोधी पश्चिमी चिन्तकबाट बढी प्रभावित भएको कुरा सगर्व स्वीकार गर्थे । 

यी सबैको योगफलबाट गान्धीको नितान्त नयाँ अवधारणा ‘स्वराज’को जन्म भएको थियो । सन् १९०९ मा लिखित र प्रकाशित उनको सबैभन्दा महत्वपूर्ण रचना ‘हिन्द स्वराज’मा यो नयाँ अवधारणा प्रखर रूपमा मुखरित भएको पाइन्छ । त्यसमा उनको मार्गनिर्देशक सिद्धान्त यसरी अंकुरित भएको थियो– ‘व्यक्तिभित्रको आन्तरिक परिवर्तन नै समाजको बाहिरी परिवर्तनको प्रस्थानबिन्दु बन्नुपर्छ ।’ यहीँबाट उनले आजीवन अनुशरण गरेको मार्ग ‘सत्याग्रह’ र ‘सर्वोदय’को अभ्युदय भएको थियो ।

अर्कातिर, माओ भौतिकवादी र नास्तिक चिन्तक हुन् । माओको आजीवन दार्शनिक धार भौतिकवादी द्वन्द्ववाद रह्यो, जसलाई उनले ठोस व्यवहार, पश्चिमी तथा पूर्वीय ज्ञानशास्त्र र यिङ र याङजस्ता प्राचीन चिनियाँ दार्शनिक अवधारणाबाट परिष्कृत गर्ने प्रयास गरिरहे । सर्वविदितै छ, माओ मार्क्स र लेनिनका दृढ समर्थक थिए । तर, उनले चिनियाँ र अन्य समाजको वस्तुगत अवस्थासँग मेल खाने गरी मार्क्सवादलाई परिमार्जन र लागू गर्नुपर्छ भन्ने निरन्तर पैरवी गरिरहे ।

एउटा माक्र्सवादी हुनुको नाताले माओका लागि वर्गीय मुद्दा नै प्रमुख हुन्थ्यो । यसैकारण गान्धीभन्दा फरक उनी सोच्थे । समाजमा विद्यमान वर्गीय सम्बन्धलाई परिवर्तन गरेपछि मात्रै व्यक्तिको आन्तरिक रूपान्तरण हुन सक्छ । यही विशाल वैचारिक खाडल नै गान्धी र माओले मानव मुक्तिको एउटै साझा लक्ष्य प्राप्तिका निम्ति अलग–अलग बाटो अपनाउनुको मुख्य कारण थियो ।

उत्पीडित जनसमुदायमाथि अगाध विश्वास र विशेषगरी ग्रामीण किसान समुदायलाई मुक्ति आन्दोलन र लोकतान्त्रिक संघर्षको अग्रदस्ताको रूपमा परिचालन गर्नु गान्धी र माओबीच देखिने अर्को निकै महत्वपूर्ण समानता हो । दुवैजना जनतासँग एकाकार हुने र जनसमुदायलाई विशाल जनप्रदर्शन र ¥यालीमा परिचालन गर्न सक्ने जादुगरी क्षमता भएका व्यक्तित्व थिए ।

साधन र साध्यको प्रश्नमा गान्धी र माओ विपरीत ध्रुवमा रहेको कुरा सर्वविदितै छ । अहिंसा भनेको मुक्ति वा स्वराजको साधन मात्रै होइन, आफैँमा एउटा साध्य हो । अर्थात् आत्म–मुक्तिको साधन हो भन्ने गान्धीको ठहर थियो । उनी भन्थे–‘शान्तिपूर्ण प्रतिरोध भनेको व्यक्तिगत पीडामार्फत अधिकार हासिल गर्ने विधि हो, यो सशस्त्र प्रतिरोधभन्दा विपरीत कुरा हो ।’ गान्धीले आफ्नो विचारप्रति सन्देह गर्ने एकजना सहकर्मीलाई चिठीमा भनेका थिए– ‘पहिला आफ्नो आत्मालाई मुक्त गर ।

तिमीले आफ्नो आत्मालाई जगाउन सक्यौ भने आफैँभित्र सारा भारत देख्नेछौ । तिम्रो आत्माको मुक्ति नै भारतको मुक्ति हो ।’ यस विषयमा माओको धारणा गान्धीको धारणाभन्दा ठीक विपरीत छ । यसबारे उनको प्रसिद्ध कथन छ– ‘राजनीतिक सत्ता बन्दुकको नालबाट निस्किन्छ’, अनि ‘राजनीतिक सत्ताबाहेक अरू सबै भ्रम हो ।’ त्यस्तै, ‘शान्तिको जवाफ शान्ति र युद्धको जवाफ युद्धबाट दिनुपर्छ’ भन्ने उनको कथन उत्तिकै चर्चित छ ।

समाज व्यवस्थापनको मोडेल र आर्थिक विकासको मार्गबारे पनि गान्धी र माओको धारणा फरक थिए । ‘हिन्द स्वराज’ तथा अन्य रचनामा गान्धी औद्योगिक सभ्यता नै भारत र मानव जातिका समस्याको जड हो भन्छन् र विगतको आत्मनिर्भर ग्रामीण अर्थतन्त्रतिर फर्किने कुराको पैरवी गर्छन् ।

सारमा उनी आधुनिकतावादी विकासको अवधारणाको पूरै विरोध गर्छन् । उनी केन्द्रीकृत राज्यको विरोध गर्छन् । अनि उनले अघि सारेको ‘स्वराज’को अवधारणा विभिन्न समतलीय ग्रामीण समुदायमा आधारित हुन्छ । यसविपरीत माओ औद्योगीकरण, यान्त्रिकीकरण, सहरीकरण, केन्द्रीकृत राज्य इत्यादिसहितको आधुनिकतावादी धारको पक्षपोषण गर्छन् । परन्तु पछिल्लो चरणमा माओले स्टालिनवादी नोकरशाही प्रणालीको आलोचना गर्दै जनलोकतन्त्र, विकेन्द्रीकृत राजनीतिक तथा आर्थिक प्रणालीको वकालत गर्न थालेका थिए ।

  सान्दर्भिकता
गान्धी र माओको निधनपछि दुवैका उत्तराधिकारीले उनीहरूको उपेक्षा गरे । तर, भारत र चीनको पछिल्लो उदयमा गान्धी र माओले खडा गरेको प्रारम्भिक आधारशीलाको ठूलो देन छ । गान्धी र माओले अघि सारेका कतिपय विचार २१औँ शताब्दीमा अव्यावहारिक र असान्दर्भिक लाग्न सक्छन् । कतिपय विचार बदलिँदो परिवेश, समाज विकासको स्तर र मानवीय चेतनाको स्तरका कारण झनै सान्दर्भिक हुन सक्छन् । विपरीतहरूको एकत्वको सिद्धान्तअनुसार केही भिन्नता समानतामा परिवर्तन हुन सक्छन् भने केही समानता भिन्नतामा रूपान्तरण पनि हुन सक्छन् । यसबारे थप अनुसन्धान गर्ने जिम्मा नयाँ पुस्ताको हो ।

यो पंक्तिकार नेपालमा सञ्चालित माओवादी क्रान्तिमा सहभागी भएको र हाल २१औँ शताब्दीसुहाउँदो समाजवादको नयाँ मोडेल संश्लेषण गर्ने प्रयास गरिरहेको एक पात्र हुनुको नाताले यहाँ केही प्रारम्भिक विचार प्रस्तुत गर्न चाहन्छ । गान्धी र माओ दुवैका सकारात्मक र नकारात्मक पक्ष छन् । हामीले सकारात्मक पक्षलाई ग्रहण गर्ने र नकारात्मक पक्षलाई परित्याग गर्ने साहस गर्नैपर्छ । 

सकारात्मक पक्षलाई संश्लेषण गरेर नयाँ विचार शृंखला निर्माण गर्नुपर्छ । पहिलो, दर्शनको क्षेत्रमा भौतिकवादी द्वन्द्ववादलाई भौतिक विज्ञानका पछिल्ला खोज र आविष्कारको आलोकमा थप परिष्कृत गर्नुपर्छ । यसक्रममा हिन्दू, बौद्ध, ताओ आदि पूर्वीय दर्शनका शाखा–उपशाखाभित्र रहेका सान्दर्भिक अवधारणाको समेत सहयोग लिन सकिन्छ । यसको आधारमा परम्परागत उदारवाद र साम्यवादको सट्टा वैज्ञानिक मानवतावादको नयाँ विचार संश्लेषण गर्नुपर्छ ।

दोस्रो, विद्यमान समाजको उत्तर–पुँजीवादी पुनर्संरचना समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाँ समुन्नत समाजवादी प्रणालीमा गर्नुपर्छ । त्यसको निम्ति आवश्यक नागरिक आन्दोलन र संघर्षको स्वरूप आमसत्याग्रहको चक्रको रूपमा ग्रहण गर्नु उपयुक्त हुन्छ । तेस्रो, आर्थिक विकास र व्यवस्थापन प्रणाली आलोचनात्मक आधुनिकतावादमा आधारित हुनुपर्छ ।

तीव्र तथा दिगो आर्थिक वृद्धि, समन्यायिक वितरण, पर्यावरण संरक्षण र मानवीय खुसीको चार आयामसहितको आर्थिक विकास नीति अनुशरण गर्नुपर्छ । त्यसनिम्ति बजार, समुदाय र राज्यको उचित भूमिका सुनिश्चित गर्नुपर्छ ।नेपालको अवस्थिति गान्धीको भारत र माओको चीनको बीचमा छ, र दुवै देशसँग यसको मित्रवत् सम्बन्ध छ । के नेपाल निकट भविष्यमा गान्धी र माओको मिलनबिन्दु बन्न सक्ला ?