मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ पौष २५ बुधबार ०८:५५:००
Read Time : < 1 मिनेट
विश्व

फेरि रेल चढेर बेइजिङ पुगे किम

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष २५ बुधबार ०८:५५:००

उत्तर कोरियाली नेता किम जोङ उन चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङकोे निमन्त्रणामा चारदिने भ्रमणका क्रममा किम मंगलबार बेइजिङ पुगेका हुन् । किम एउटा रेलबाट बेइजिङ पुगेका थिए । किमसँग श्रीमती री सोल जुसहित उत्तर कोरियाको एक उच्चस्तरीय प्रतिनिधिमण्डल रहेको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ । मंगलबार बिहान बेइजिङमा ठूलो सुरक्षाका साथ मोटरकेड देखिएको रोयटर्सले जनाएको छ ।

 दोस्रो शिखर सम्मेलनको तयारी 
उत्तर कोरियाली नेता किम जोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शिखर वार्ताको तयारी भइरहेका वेला किम दोस्रोपटक बेइजिङ पुगेका छन् । किमको यस भ्रमणले उत्तर कोरिया र अमेरिकाबीचको दोस्रो शिखर बैठक चाँडै हुँदै छ भन्ने अनुमानलाई बल पुगेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको दोस्रो शिखर सम्मेलनको तयारीको रूपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन् । गत वर्षको जुन महिनामा सिंगापुरमा किम र ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । यसै साता ट्रम्पले किमसँगको दोस्रो शिखर सम्मेलन गर्ने देश चाँडै सार्वजनिक गर्ने बताएका थिए । बैठक बस्ने स्थान र मितिबारे दुई देशको उच्च तहमा छलफल भइरहेको छ । 

 प्रतिबन्धबारे छलफल हुने
बेइजिङ भ्रमणका क्रममा किमले राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा चिनियाँ राष्ट्रपति सीसँग वार्ता गर्नेछन् । उत्तरले आफ्ना आणविक गतिविधि निष्क्रिय पारे पनि ऊमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध अझै हटेको छैन । नयाँ वर्ष २०१९ को अवसरमा किमले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध नहटे आफूले कठोर कदम चाल्ने चेतावनी दिएका थिए । यसअघि सन् २०१८ मार्चमा पनि किम रेल चढेर बेइजिङ पुगेका थिए । त्यो उनको पहिलो विदेश भ्रमण थियो । चीन उत्तर कोरियाको प्रमुख कूटनीतिक मित्रशक्ति हो ।