१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
वर्षाले जलमग्न पटनाको सडक । तस्बिर : एजेन्सी
२०७६ असोज १४ मंगलबार ०९:३८:००
Read Time : > 1 मिनेट
विश्व

बिहार र युपीमा बाढीको वितण्डा कम्तीमा १२० को मृत्यु

Read Time : > 1 मिनेट
२०७६ असोज १४ मंगलबार ०९:३८:००

भारतमा बाढीका कारण कम्तीमा एक सय २० जनाको मृत्यु भएको छ । बिहार र उत्तर प्रदेशमा चार दिनदेखि परेको अविरल वर्षापछिको बाढीले उनीहरूको मृत्यु भएको हो । बाढीका कारण हजाराैं मानिस बिचल्लीमा परेका छन् भने हजाराैं विस्थापित भएका छन् । वर्षाले राज्यका विभिन्न भाग अस्तव्यस्त भएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सरकारी कर्मचारीलाई बिदा नदिन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । वर्षाले उत्तर प्रदेशको बालिअ, वारणसी, जौउनपुर जिल्ला अत्यधिक प्रभावित भएका छन् । ब्यारेकमा पानी छिरेपछि बालिअका ५ सय बन्दीलाई अन्य स्थानमा स्थानान्तरण गर्न लागिएको छ ।

ठूलो मानवीय क्षति
बाढीका कारण दुवै राज्यमा रेलसेवा, सवारी आवागमन, स्वास्थ्य उपचार सेवा, विद्यालय, विद्युत् सेवा प्रभावित भएको अधिकारीहरूले बताएका छन् । बिहीबारदेखि आएको वर्षाका कारण ९३ जनाको मृत्यु भएको युपी सरकारले जनाएको छ । बिहारको राज्य विपत् व्यवस्थापन निकायका अनुसार बाढीबाट बिहारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ । बाढीका कारण बिहारका अधिकांश रेलसेवा अवरुद्ध भएका छन् । केही स्थानमा वर्षाले सडकको पुल नै बगाइदिएको छ । बाढीले जनजीवनमा पारेको प्रभावका सनसनीपूर्ण भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् । त्यस्तै जलमग्न पानीमा आफ्नो रिक्सा तानेको एक रिक्सा चालकको भिडियोले धेरैको ध्यानाकर्षण गरेको छ ।

हेलिकोप्टर र क्रेनबाट उद्धार
प्रभावित क्षेत्र पट्नाका बाढीपीडितलाई खानेकुराका प्योकट र औषधि वितरण गर्न बिहार सरकारले भारतीय वायुसेवाको हेलिकोप्टर मागेको छ । घर तथा बस्ती र सडकको पानी पम्प गरेर हटाउन सरकारले मेसिनको सहयोग मागेको हो । बाढीका कारण बिचल्लीमा परेकालाई पानी हटाउन प्रयोग भएका क्रेनमार्फत उद्धार गरिएको थियो । बत्ती र पानीको आपूर्तिको अभावमा अलपत्र परेका व्यक्तिलाई क्रेनमार्फत उद्धार गरिएको छ । बिहारमा प्रभावित क्षेत्रका मानिसहरूको उद्धारका लागि राष्ट्रिय विपत् सेवा जवाफ फौज (एनडिआरएफ) का १९ समूह परिचालन गरिएको थियो ।

वर्षाले ढल पनि बगायो
युपीका सडक पनि जलमग्न छन् । ‘वर्षाले यहाँको जनजीवन अत्यन्तै प्रभावित गरेको छ । वाराणसीको अवस्था दयनीय छ । वर्षाले सडकका ढल नै बगाइदिएको छ,’ एक स्थानीयको भनाइ उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

पटना अत्यधिक प्रभावित
मुख्य सहर पटना सबैभन्दा बढी प्रभावित छ । यहाँका सडक जलमग्न छन् । पानीका कारण सडक चिन्नसमेत धौधौ परेको छ, कतिपय सवारीसाधनलाई बाढीले बगाएको छ । बिहारमा अनुमान गरिएभन्दा ठूलो परिमाणमा वर्षा भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । आकाशबाट हेर्दा पटना सहर क्रंकिट ठडिएको एउटा ठूलो तालजस्तो देखिएको छ ।