मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज १३ सोमबार ०६:४५:००
Read Time : > 1 मिनेट
समाचार

१५ दिनसम्म देशभरका अदालत बन्द

सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दामा मात्रै सुनुवाइ हुने

Read Time : > 1 मिनेट
२०७६ असोज १३ सोमबार ०६:४५:००

दसैँको १५ दिनसम्मका लागि देशभरका अदालत बन्द भएका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालतका कामकारबाही बन्द हुने भएको हो । गत शुक्रबार सर्वोच्च अदालतले दसैँ, तिहार र छठलगायत पर्वको शुभकामना दिँदै चियापानको आयोजना गरेपछि अदालत नखुलेका हुन् ।

देशभरका ७७ वटा जिल्ला अदालत, सातवटा उच्च अदालत र तिनको ११ वटा इजलासका साथै सर्वोच्च अदालतसमेत बन्द हुनेछ । अर्धन्यायिक निकाय पनि पूर्णरूपमा बन्द हुनेछन् । आगामी २७ असोजबाट मात्रै अदालतले नियमित रूपमा कामकारबाही गर्नेछन् । ‘देशभरका अन्य कार्यालय बन्द नहुनु र अदालत बन्द हुनु भनेको अहिलेको परिवर्तनलाई स्वीकार नगर्नु हो । नयाँ व्यवस्थाअनुसारको परिवर्तनलाई अदालतले आत्मसात् नगर्नुको ज्वलन्त उदाहरण नै अहिलेको बिदा हो,’ अधिवक्ता सतिशराज मैनालीले भने ।

बिदामा अदालतमा के हुन्छ ?
बिदाका वेला सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दामाथि मात्रै सुनुवाइ हुनेछ । तीन दिनभन्दा बढी अदालत बन्द हुने अवस्था आएमा बन्दीको हकमा एकजना न्यायाधीश रहेको इजलास रहने कानुनी व्यवस्था छ । अदालतमा नियमित कामकारबाहीबाहेक बन्दीको हकमा मात्रै खुला हुनेछ । ‘घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालतमा नियमित कामकारबाहीबाहेक बन्दीको हकमा भने खुला हुन्छ । यो न्यायिक परम्परा नै हो,’ सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले भने, ‘पहिले नियमावली नहुँदा सर्वोच्चको फुलकोर्टबाट निर्णय भएर बिदा हुन्थ्यो, अहिले नियमावली नै बनेको छ ।’ जिल्ला अदालत भने जरुरी पक्राउ पुर्जी र पक्राउ पुर्जी लिने कामका लागि मात्रै खुला हुन्छ ।

पाटन उच्च अदालतका साथै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला अदालत पनि बन्द हुने सर्वोच्चका सूचना अधिकारी ढकालले बताए । उनका अनुसार देशभरका अदालतमा मुद्दा दर्ता, फिरादपत्र, प्रतिउत्तरपत्रलगायतका काम हुनेछैन । अदालत बन्दका वेला हदम्याद गुज्रिने मुद्दा भए तिनको हकमा अदालत खुलेका दिन म्याद थपलगायतका काम हुने ढकालले जानकारी दिए ।

विशेष अदालत पनि नखुल्ने
यसबीचमा भ्रष्टाचारसँग सम्बन्धित मात्रै मुद्दा हेर्न स्थापना गरिएको विशेष अदालत पनि बन्द हुनेछ । न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्की भन्छन्, ‘मुद्दा दर्ता हुने र फैसला हुने अदालत सबै बन्द हुन्छ । यसबीचमा बन्दीको हकमा भने खुला रहन्छ र यसअघि मुद्दा जे–जस्तो अवस्थामा थियो, त्यही अवस्थामा रहन्छ ।’ महान्यायाधिवक्ताको कार्यालय र कानुन मन्त्रालय भने फूलपातीको अघिल्लो दिनसम्म खुला नै हुन्छ । बन्दीका लागि मात्रै अदालत खुला हुने भएकाले तीनै तहको अदालतमा आलोपालो केही कर्मचारी र न्यायाधीश रहन्छन् । अदालतमा रहने कर्मचारीले भत्ता पाउँछन् भने न्यायाधीशले पछि सट्टा बिदा पाउने व्यवस्था छ ।

तिहारलगायतका पर्वका वेलामा भने अरूतिर हुने बिदाअनुसार नै अदालत पनि बन्द हुनेछ । ‘न्यायपालिकाले कार्यपालिकाले जे गर्छ, त्यही गर्नुपर्छ भन्ने छैन । परम्परादेखि चलिआएको बिदालाई निरन्तरता दिनु ठीक छ,’ संविधानविद् डा.भीमार्जुन आचार्य भन्छन्, ‘सक्षम न्यायाधीश नियुक्ति नहुनु र अदालतको काम गर्ने शैली नफेरिनुचाहिँ समस्या हो ।’