मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७६ असोज १२ आइतबार ०९:५८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

जमरा : स्वास्थ्यदेखि संस्कृतिसम्म

Read Time : > 1 मिनेट
मञ्जु टेलर काठमाडाैं
२०७६ असोज १२ आइतबार ०९:५८:००

विजया दशमीमा मान्यजनबाट टीका ग्रहणपछि शिरमा सिउरिइने धान, गहुँ, मकै र जौका लामा आँकुरालाई जमरा भन्ने गरिन्छ । टीका ग्रहणपछि पुरुषको शिर र टोपी तथा महिलाको कपालमा जमरा राखिदिने चलन छ । कतिपयले जमराको मालासमेत लगाउने गरेका छन् ।

घटस्थापनाका दिन पूजाकोठामा धान, गहुँ, मकै र जौ छरेर त्यसबाट टुसाएका आँकुरालाई देवीको प्रसादका रूपमा सिउरिने परम्परा छ । यो परम्परालाई नेपालीले मात्र अनुशरण गरेको पाइन्छ । नेपालीको बसोवास रहेका अन्य मुलुकमा पनि यसलाई निरन्तरता दिइएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि जमरा महत्वपूर्ण छ ।

आश्विन शुक्ल प्रतिपदामा घरघरमा जमरा राख्दै घटस्थापना गरिन्छ, जुन नवरात्रिको पहिलो दिन पनि हो । संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार नदीको बालुवा ल्याएर घरको पूजाकोठा वा मन्दिरमा राख्ने गरिन्छ । र, त्यसमा किराले नखाएको शुद्ध जौ छरिन्छ । पूजा, अर्चनापछि छरेको जौलाई तामा वा पित्तलको भाँडाले छापिन्छ । त्यसो गर्दा जमरा पहेँलो हुने विश्वास छ । यो चलन कहिलेदेखि सुरु भएको हो भन्ने यकिन छैन । डा. टण्डनका अनुसार खासगरी, देवीभागवत्मा यसको धार्मिक महत्वबारे वर्णन गरिएको छ ।

जौको जमरा नै किन ?
धान, मकै र गहुँभन्दा जौको जमरालाई शुद्ध मानिन्छ । डा. टण्डनका अनुसार वैदिक ग्रन्थमा जौलाई रोगबाट टाढा राख्ने, यज्ञ–यज्ञादिमा उपयोगी र शरीरमा ऊर्जा दिने अन्नको रूपमा वर्णन गरिएको छ । पौराणिक ग्रन्थमा पनि जौलाई अन्नको राजा मानिएको छ । भागवत् गीतामा भगवान् श्रीकृष्णले जौको वर्णन गरेका छन् । जौको जमरालाई नवदुर्गाको स्वरूप पनि मानिन्छ । ‘रातो टीका र जमरा हाम्रो संस्कृतिको शान हो,’ डा. टण्डन भन्छन्, ‘तिहारमा पनि दसैँको जमराको धुलो बनाएर टीका लगाएमा शुभ हुने विश्वास छ ।’

स्वास्थ्यका लागि फाइदाजनक
 डा. रूपेन्द्र पुरी
आयुर्वेदविज्ञ, स्वास्थ्य मन्त्रालय

जौ पौष्टिक गुणयुक्त अन्न हो । चिकित्सा विज्ञानमा यसलाई औषधिका रूपमा लिने गरिन्छ । त्यसैले जौको जमरालाई सांस्कृतिक मात्र नभई स्वास्थ्यका दृष्टिकोणले समेत अति उपयोगी मानिन्छ ।

पछिल्लो समय जमराको जुस बनाएर खाने प्रचलन बढेको छ । आयुर्वेदमा जौलाई विशेष औषधि मानिएको छ । जमराको जुस सेवन गर्दा रगतमा हेमोग्लोबिनको मात्रा बढ्ने विभिन्न अनुसन्धानबाट प्रमाणित भएको छन् । छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, रक्तचाप, घाउ, चोटपटकलगायत स्वास्थ्य समस्यामा जमराको जुसलाई औषधिका रूपमा प्रयोग गरिन्छ ।

हरियो जमरामा शरीरलाई आवश्यक खनिज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । जमरामा प्रशस्त क्लोरोफिल हुने भएकाले एन्टिअक्सिडेन्टको गुण पनि पाइन्छ, जसले कोषलाई छिटो बुढो हुनबाट बचाउँछ र शरीर तन्दुरुस्त राख्न मद्दत गर्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।