१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
स्टेफन एस. रोच
२०७६ असोज १० शुक्रबार ०९:०७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

नवीकरणीय ऊर्जामा चीनको प्रगति

Read Time : > 2 मिनेट
स्टेफन एस. रोच
२०७६ असोज १० शुक्रबार ०९:०७:००

तथ्यांकमा हेर्ने हो भने, चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्र हो । तर, पछिल्लो समय चीनले दिगो विकासमा जति जोड दिएको छ, त्यो अन्य देशका लागि पनि उदाहरणीय छ । चीनले आर्थिक मोडल बदल्ने, इन्धनको स्रोतमा नयाँपन ल्याउने, नयाँ यातायत प्रणाली विकास गर्ने र पर्यावरणमैत्री सहरीकरणतर्फ अग्रसर हुनेजस्ता कार्यमार्फत यसमा ठूलो प्रगति गरेको छ ।

पछिल्लो १२ वर्षमा चीनको आर्थिक संरचना नाटकीय रूपान्तरणबाट गुज्रियो । धेरै धुवाँ निकाल्ने उत्पादन उद्योगको बाहुल्य रहेको चिनियाँ अर्थतन्त्र अहिले न्यून–कार्बन उत्सर्जन गर्ने सेवा क्षेत्रको प्रधान अर्थतन्त्रमा प्रवेश गरेको छ । तथ्यांकले यसलाई प्रस्ट्याउँछ ।

सन् २००६ मा चीनको कुल गार्हस्थ उत्पादनमा निर्माण तथा घरबार व्यवसाय र उपभोग्य उत्पादनले ४८ प्रतिशत हिस्सा ओगट्थ्यो । त्यो समय सेवा क्षेत्रको योगदान ४२ प्रतिशत मात्र थियो । सन् २०१८ सम्म आइपुग्दा, त्यो हिस्सा झन्डै उल्टिएको छ । अहिले निर्माण क्षेत्रले कुल गार्हस्थ उत्पादनको ४१ प्रतिशत र सेवा क्षेत्रले ५२ प्रतिशत हिस्सा ओगटेको छ । 

ठूला अर्थतन्त्रमा छोटो समयमा यो परिमाणमा संरचनागत परिवर्तन विगतमा कहिले पनि देखिएको थिएन । यो परिवर्तन अचानक भएको भने होइन । सन् २००७ मार्चमा तत्कालीन प्रधानमन्त्री वेन जियाबाओले चिनियाँ अर्थतन्त्र ‘अस्थिर, असन्तुलित, समन्वयविहीन र अल्पकालीन’ रहेको चेतावनी दिए । त्यसले चिनियाँ अर्थतन्त्रको दिगोपनबारे बहस सुरु गरायो । परिणामस्वरूप, चीनको पछिल्लो पञ्च–वर्षीय योजनामा यसको ठूलो प्रभाव देखिएको छ । चिनियाँ नेतृत्वले अर्थतन्त्र सन् १९८० को दशकको सुरुमा देङ सियाओपेङले तय गरेको ऊर्जामुखी र बढी प्रदूषण गराउने मार्गमा अघि बढिरहन नसक्ने निष्कर्ष निकाल्यो । 

उल्लेखित नाटकीय संरचनागत रूपान्तरण अनुकूल हुने गरी चीनले इन्धन उपभोगलाई कोइलाबाट प्राकृतिक ग्यास, जल र नवीकरणीयमा लैजाँदै छ । हुन त कोइलाले अझै पनि चीनको सम्पूर्ण प्राथमिक ऊर्जा उपभोगको ५८ प्रतिशत हिस्सा ओगट्छ । तर, सन् २००६ सम्म त्यो हिस्सेदारी ७४ प्रतिशत रहेको हेर्ने हो भने ठूलो सुधार भएको मान्न सकिन्छ । चीन वायु, सौर्यजस्ता कार्बनविहीन नवीकरणीय ऊर्जा अँगाल्ने मामिलामा अमेरिका र युरोपभन्दा अघि छ । चीनले अहिले जुन दरमा नवीकरणीय ऊर्जालाई बढाउँदै लगेको छ, त्यसबाट सन् २०२५ सम्म चीनको २० प्रतिशत ऊर्जा नवीकरणीय माध्यमबाट आउने देखिन्छ । 

बदलिँदो यातायत प्रणाली उसको दिगो रणनीतिको तेस्रो हिस्सामा पर्छ । यसका लागि चीनले हाई–स्पिड रेल सञ्जाल, सहरी भूमिगत रेलमार्ग र विद्युतीय वाहनलाई जोड दिएको छ । यी तिनै यातायात माध्यममा चीन विश्वमा अग्रस्थानमा छ । वातावरणीय दिगोपनमा उत्तिकै महत्वपूर्ण हिस्सा हो, सहरी वातावरण । चीन अझै तीन दशक तीव्र सहरीकरणबाट गुज्रने प्रक्षेपणमाझ चीनको सन्दर्भमा यो झनै महत्व्पूर्ण देखिन्छ । सन् २०५० मा चीनको ८० प्रतिशत जनसंख्या सहरमा बस्ने अनुमानअनुसार चीनले तयारी गरिरहेको छ ।

चीनको प्रतिव्यक्ति आय विकसित राष्ट्रको तुलनामा एकतिहाइ मात्र छ, तर यो तुलानात्मक गरिब राष्ट्रले प्रदूषणसँग लड्नका लागि विकसित राष्ट्रले भन्दा प्रभावकारी उपलब्धि हासिल गरेको छ

चीनले यसका लागि भूमिगत मेट्रोलाई प्राथमिकता दिएको छ । आज नै विश्वका १२ सबैभन्दा ठूला भूमिगत रेलमार्गमध्ये सातवटा चीनमा छन् । त्यसअतिरिक्त चीनको विद्युतीय वाहन बजार अन्तभन्दा निकै ठूलो छ । सन् २०१७ मा त्यहाँ पाँच लाख विद्युतीय वाहन बिक्री भए । जुन अमेरिका र युरोपकोमा भएको बिक्रभिन्दा दोब्बर बढी हो । आगामी दशकमा चीनको विद्युतीय वाहनको अग्रता थप फराकिलो हुने प्रक्षेपण छ । 

चीनले नयाँ खालको पर्यावरणमैत्री सहरी मोडलमा जोड दिएको छ । एक मापनअनुसार चीनले अहिले दुई सय ५० भन्दा बढी पर्यावरणमैत्री सहर निर्माण गर्ने योजना बनाएको छ । सहरीकरणपछि प्रवेश गरेकाले चीनसँग सहरी योजना तथा ऊर्जा प्रभावकारितामा नयाँ मोडल खोज्ने अवसर छ । चीन र हाम्रो ग्रहका लागि यति कदमले पुग्छ त ?

सुखद् खबर के हो भने सन् २०११ देखि विश्वव्यापी हरितगृह उत्सर्जनमा चीनको हिस्सा स्थिर बनेको छ । तर, दुःखको कुरा चीनका यी सुखद् खबर संकटको अवस्थामा पुगिसकेको भनिएको हाम्रो ग्रहको लागि पर्याप्त हुँदैन । तथापि दिगोपनतर्फ चीनको प्रयासलाई प्रेरणादायी मान्न सकिन्छ । अन्य देशले त्यसबाट पाठ सिक्न सक्छन् । 

अहिले अन्तर्राष्ट्रिय मञ्चमा व्यापार युद्धमा सबैको ध्यान गएको छ । तर, चीनले त्योभन्दा निकै महत्वपूर्ण दिगोपनको संघर्ष जितिरहेको छ । चीनको प्रतिव्यक्ति आय विकसित राष्ट्रको तुलनामा एकतिहाइ मात्र छ । तर, यो तुलानात्मक गरिब राष्ट्रले प्रदूषणसँग लड्नका लागि विकसित राष्ट्रले भन्दा प्रभावकारी कदम चालेको छ ।

ë Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य

मोर्गन स्ट्यान्ले एसियाका पूर्वअध्यक्ष स्टेफन एस. रोच एल विश्वविद्यालयका प्राध्यापक हुन् ।