मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज १० शुक्रबार ०६:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

कक्षा ११ को नतिजा : विद्यार्थी अंग्रेजीभन्दा नेपालीमा कमजोर

Read Time : > 2 मिनेट
२०७६ असोज १० शुक्रबार ०६:२५:००

अनिवार्य अंग्रेजीमा ४७३ र नेपालीमा ५३ विद्यार्थीको ए प्लस, ऐच्छिक नेपालीमा शून्य

नेपाली विद्यार्थी नेपाली भाषामै कमजोर देखिएका छन् । मंगलबार प्रकाशित कक्षा ११ को नतिजाअनुसार अन्य विषयको तुलनामा नेपाली विषयमा विद्यार्थीले अत्यन्त कमजोर ग्रेड प्राप्त गरेका छन् । नेपालीमा भन्दा अंग्रेजीमा ए प्लस हासिल गर्ने विद्यार्थीको संख्या अत्यन्त बढी छ । अनिवार्य अंग्रेजीमा चार सय ७३ विद्यार्थीले ए प्लस ल्याउँदा अनिवार्य नेपालीमा ५३ जनाले मात्र उच्चतम ग्रेड प्राप्त गरेका छन् । अझ, ऐच्छिक नेपालीमा त एकजनाले पनि ए प्लस ल्याएका छैनन् । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा ११ को परीक्षामा कुल पाँच लाख नौ हजार विद्यार्थी सहभागी भएका थिए । अंग्रेजीमा चार लाख ३८ हजार ९७ र नेपालीमा तीन लाख २१ हजार एक सय ८० ले आवेदन फारम भरेका थिए । जसमध्ये अंग्रेजी विषयमा २१ हजार एक सय ७५ र नेपालीमा १५ हजार एक सय ४६ अनुपस्थित रहे । परीक्षार्थीमध्ये अंग्रेजीमा ग्रेड ए ल्याउने १३ हजार सात सय एक र नेपालीमा तीन हजार एक सय १५ छन् । बी प्लस ल्याउने अंग्रेजीमा ३३ हजार सात सय ३१ र नेपालीमा १८ हजार चार सय तीनजना छन् । नेपालीमा बी, सी प्लस र सी ग्रेड ल्याउने विद्यार्थी धेरै छन् । ४२ हजार आठ सय २९ जनाले बी, ६१ हजार चार सय ९८ जनाले सी प्लस र ७२ हजार तीन सय ६० जनाले सी ग्रेड हासिल गरेका छन् । अंग्रेजीमा भने बी ल्याउने ३९ हजार आठ सय ६५, सी प्लस ल्याउने ४३ हजार दुई सय ९४ र सी ग्रेड ल्याउने ५९ हजार ६ सय सातजना छन् । 

अंग्रेजीमा डी प्लस, डी र ई ल्याउने धेरै छन् । ७८ हजार ६ सय ५३ ले डी प्लस, ६८ हजार नौ सय ३४ ले डी र ७८ हजार ६ सय ६४ ले ग्रेड ई ल्याएका छन् । त्यसैगरी, नेपालीमा डी प्लस ल्याउने ६१ हजार आठ सय ७७, डी ल्याउने ३१ हजार ५६, ई ग्रेड ल्याउने १४ हजार आठ सय ४३ छन् । ऐच्छिक नेपालीमा ८४ हजार विद्यार्थीले फारम भरेकामा एकजनाले पनि ए प्लस ग्रेड हासिल गर्न सकेनन् । ए ग्रेड ल्याउने जम्मा १३ जना छन् । 

प्रयोगात्मकमा ए प्लस ल्याउने अत्यधिक
कक्षा ११ को परीक्षामा सैद्धान्तिकमा ए प्लस ल्याउने कम भए पनि प्रायोगात्मक परीक्षामा भने धेरै विद्यार्थीले यो ग्रेड हासिल गरेका छन् । सैद्धान्तिक मात्र परीक्षा हुने विषयमध्ये म्याथमा ए प्लस ल्याउनेको संख्या धेरै छ । म्याथमा ६४ हजार नौ सय ६७ जनाले परीक्षा फारम भरेकामा तीन हजार ६ सय ४२ जनाले ए प्लस ल्याएका छन् । एन्भाइरोमेन्टल एजुकेसन, रुरल डेभलपमेन्टलगायतका विषयमा सैद्धान् ितकमा ए प्लस ल्याउने शून्य भए पनि प्रयोगात्मकमा हजारौँ विद्यार्थीले ए प्लस ल्याएका छन् । 

कक्षा ५ : चारवटा प्रदेशका विद्यार्थीले नेपालीमै औसत नम्बर ल्याएनन्
शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षा केन्द्र (इआरओ)ले नेपाली र गणित विषयमा गरेको अध्ययनमा चारवटा प्रदेशका विद्यार्थीले राष्ट्रिय औसत अंकसमेत ल्याउन सकेका छैनन् । केन्द्रले छनोट गरेका २४ जिल्लाका १४ सय विद्यालयका कक्षा ५ पढ्ने २८ हजार तीन सय ८१ विद्यार्थीमा सन् २०१८ मा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गरिएको थियो । जसमा सात सय विद्यालयका १४ हजार दुई सय सात र गणित विषयमा सात सय विद्यालयका १४ हजार एक सय ७४ विद्यार्थी सहभागी थिए । परीक्षणमा नेपाली र गणित दुवै विषयमा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । 

प्रदेश २, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीले नेपालीमा औसत अंकसमेत ल्याउन सकेका छैनन् । औसत अंक ५०० निर्धारण गरेकामा प्रदेश २ का विद्यार्थीले ४८९, प्रदेश ५ का विद्यार्थीले ४९६, कर्णालीका विद्यार्थीले ४८८ र सुदूरपश्चिम प्रदेशका विद्यार्थीले ४९१ मात्र ल्याएका छन् । नेपाली विषयमा प्रदेश १ का विद्यार्थीले ५००, प्रदेश ३ का विद्यार्थीले ५०६ र गण्डकी प्रदेशका विद्यार्थीले ५११ अंक प्राप्त गरेका छन् । 

नेपाली विषयमा कमजोर विद्यार्थी गणितमा अब्बल देखिएका छन् । यो रिपोर्टअनुसार कक्षा ५ को गणित विषयमा सबैभन्दा राम्रो नतिजा प्रदेश २ को छ । सोमबार काठमाडौंमा सार्वजनिक गरिएको अध्ययनअनुसार प्रदेश २ का विद्यार्थीले सबैभन्दा बढी अंक ५२१ ल्याएका छन् । प्रदेश ३ का विद्यार्थीले ५०५, गण्डकीका विद्यार्थीले ५०३ र सुदूरपश्चिमका विद्यार्थीले ५०० अंक प्राप्त गरेका छन् । तीनवटा प्रदेशका विद्यार्थीको नतिजा कमजोर पाइएको छ । कर्णालीका विद्यार्थीले गणितमा ४९६, प्रदेश १ का विद्यार्थीले ४९४ र प्रदेश ५ का विद्यार्थीले ४८६ अंक प्राप्त गरेका छन् । 

प्रा.डा. विद्यानाथ कोइराला भन्छन्–शिक्षकले नेपाली पढाउनै जानेनन्

नेपाली विषयको नतिजा तुलनात्मक रूपमा कमजोर हुनुमा केही कारण छन् । पहिलो, शिक्षकले नेपाली पढाउन जानेनन् । बाहुन–क्षेत्रीका बालबालिकाले नेपाली पढेका छन्, उनीहरूको अभ्यास बढी छ । तर, गुरुङ, मैथिली वा यस्तै अरू भाषा र जातिका बालबालिकालाई नेपालीमा अभ्यास भएन । तराईका बालबालिकालाई कसरी भन्ने वा पढाउने भन्ने शिक्षकलाई नै थाहा भएन । अर्को कारण अंग्रेजीको मोह पनि हो । परिवार, समाजले अंग्रेजीलाई प्राथमिकता दिएको छ, बालबालिकाले त्यसैलाई अनुशरण गरेका छन् । त्यस्तै, नम्बर दिने तरिका पनि फरक छ । गणित, विज्ञानमा मिल्यो भने ठ्याक्कै नम्बर आउँछ, तर नेपालीमा वस्तुगत मात्र होइन, विषयगत पक्षलाई पनि हेरिन्छ । त्यसैले पनि कम नम्बर आएको हुन सक्छ ।