मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भानुभक्त आचार्य काठमाडाैं
२०७६ असोज ९ बिहीबार ०८:४९:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

पत्रकारितामा पश्चगामी पाठ्यक्रम

Read Time : > 6 मिनेट
भानुभक्त आचार्य काठमाडाैं
२०७६ असोज ९ बिहीबार ०८:४९:००

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभागले पढाइ सुरु भइसक्नुपर्ने वेला घक्र्याउँदै हतार–हतार स्नातक तहको चारवर्षे पाठ्यक्रम आंशिक रूपमा तयार पारेको छ । स्नातक तह अध्यापन गर्ने देशभरिका ६ दर्जनभन्दा बढी कलेज र हजारौँ विद्यार्थीसँग पुगिसक्नुपर्ने पाठ्यक्रम बल्लतल्ल पहिलो वर्षका लागि दुई विषय तयार भएको छ । यही पाठ्यक्रम पनि कतिपय पत्रकारिताका अध्यापक र विद्यार्थीसम्म अझै पुगेको छैन ।

त्रिविले सेमेस्टर प्रणाली अपनाएर चारवर्षे स्नातक तह लागू गर्ने नीति पारित गरेको वर्षौंपछि पत्रकारिता केन्द्रीय विभागले स्नातक तहलाई चारवर्षे त बनायो । तर, अझै सेमेस्टर प्रणालीमा नगएर वार्षिक प्रणालीमै अलमलिएको छ । पत्रकारिता शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउने हो भने, पत्रकारिता पाठ्यक्रमलाई हरेक सेमेस्टरमा अद्यावधिक गर्दै जानुपर्ने हो । तर, पाठ्यक्रम निर्माण समितिलाई त्यसो गर्ने फुर्सद नहोला । यस आलेखमा त्रिविले हालै तयार गरेको पत्रकारिता स्नातक तहको नयाँ पाठ्यक्रमका बारेमा समीक्षात्मक विश्लेषण प्रस्तुत गरिएको छ ।

सञ्चारको सतही बुझाइ
नयाँ पाठ्यक्रमको १४ ठाउँमा ‘कम्युनिकेसन्स’ (बहुवचन) र २४ ठाउँमा ‘कम्युनिकेसन’ (एक वचन) प्रयोग गरिएको पाइयो । यो हिज्जेको त्रुटि मात्रै होइन कि पाठ्यक्रम निर्माताकै अज्ञानता हुन सक्छ । अक्सफोर्ड डिक्सनरीका अनुसार ‘कम्युनिकेसन’ले बोलेर, लेखेर वा कुनै माध्यमबाट सूचनाको आदानप्रदान गर्ने कार्यलाई जनाउँछ भने ‘कम्युनिकेसन्स’ले सूचना पठाउने वा प्राप्त गर्ने टेलिफोन वा कम्प्युटरजस्ता साधनलाई जनाउँछ । त्यसैगरी, राजमार्ग वा रेलजस्ता यातायातका साधनलाई पनि यस शब्दले बुझाउँछ ।

छोटकरीमा ‘कम्युनिकेसन’ले सञ्चारकार्य र ‘कम्युनिकेसन्स’ले सञ्चार प्रविधि एवं यातायातका साधन बुझाउँछ । शब्दचयन हेर्दा विद्यार्थीलाई कुशल सञ्चारकर्मी बनाउन खोजिएको हो कि सञ्चार प्राविधिक भन्ने द्विविधा उत्पन्न हुन्छ । प्राविधिक ज्ञान (जस्तो इन्जिनियरिङ वा सफ्ट्वेयर डेभेलपमन्ट) दिन खोजिएको त पक्कै होइन होला ! यति सामान्य कुरा बुझ्न पत्रकारितामा एमए वा पिएचडी गरिरहनुपर्दैन, ‘गुगल’ गरे पुग्छ ।

अझ त्रिवि केन्द्रीय पत्रकारिता विभागले दिने स्नातकोत्तर र एमफिल तहको ‘ट्रान्सक्रिप्ट’मा समेत ‘मास कम्युनिकेसन्स’ लेखिएको रहेछ । यो अझै अल्पविद्या हो । भोलि त्रिविबाट उत्तीर्ण विद्यार्थीले विदेशी शैक्षिक संस्थामा उच्चशिक्षाका लागि ‘जर्नालिजम एन्ड मास कम्युनिकेसन्स’ भएको शैक्षिक प्रमाणपत्र पेस गर्दा ती संस्थाले पत्रकारिता विभागमा भएको जनशक्तिबारे के सोच्लान् ?

त्रिविले प्रवीणता प्रमाणपत्र तहलाई हटाएको धेरै वर्ष भइसक्यो । यस विश्वविद्यालयले पत्रकारिता विषय स्नातक तहदेखि पढाउने भएकाले सिद्धान्ततः यस तहका सबै विषय अन्तरसांकायिक (इन्टरडिसिप्लिनरी) हुनुपर्ने हो । यसको अर्थ पत्रकारिता विषयमा स्नातक तहमा भर्ना हुने विद्यार्थीले कक्षा ११ र १२ मा जुनसुकै विषय पढे पनि भर्ना हुन पाउने र समान विषय पढ्ने भन्ने हो । तर, पाठ्यक्रम अध्ययन गर्दा यसका निर्माताले पत्रकारिता पढ्न ‘तलैदेखि पत्रकारिता पढेकै हुनुपर्छ’ भन्ने पुरातन मानसिकता कायमै राखेको देखिन्छ ।

फलस्वरूप पत्रकारिता विषय नपढेका विद्यार्थीलाई स्नातक तहमा भर्ना हुँदा एउटा वैकल्पिक विषय पढ्न बाध्य पारिएको छ । पहिलो वर्ष नै ‘सञ्चार र आमसञ्चार माध्यम’ र ‘पत्रकारिताको सिद्धान्त र अभ्यास’बारे विस्तारमा पढेका विद्यार्थीका लागि यो वैकल्पिक विषय आवश्यक थिएन । खासमा स्नातक तहमा पढाइने पत्रकारिताका सबै विषय जुनसुकै शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीले बुझ्ने गरी तयार पार्नुपर्ने हो । तर, पाठ्यक्रम निर्माताले त्यो ‘झन्झट’ गर्न चाहेको देखिएन ।

किस्ताबन्दीमा अस्पष्ट र पुरानै पाठ्यक्रम
चार वर्षको पाठ्यक्रममा नौवटा विषय राखिएका छन्, जसमध्ये पाँचवटा अनिवार्य (सबैका लागि), एउटा वैकल्पिक (११ र १२ मा पत्रकारिता नपढेकाका लागि) र तीनवटा ऐच्छिक (जसमध्ये दुईवटा छान्नुपर्ने) छन् । पहिलो वर्षका दुईवटा विषयको मात्र पाठ्यक्रम तयार भएको छ र अरूको विषय शीर्षक मात्रै छ । मानविकी संकायका ग्रामीण विकास, अर्थशास्त्र आदि विभागले चार वर्षकै पाठ्यक्रम बनाइसकेर लागू गर्दा पत्रकारिता विभाग के कति कारणले पछि प-यो ? किस्ताबन्दीमा पत्रकारिता पाठ्यक्रम जारी गर्नुपर्ने बाध्यता के हो ? त्यसको जवाफ दिने निकाय वा व्यक्ति को हो ? यस विषयमा विषय शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाले थाहा पाउनुपर्छ ।

उपलब्ध पत्रकारिता प्रशिक्षक, सञ्चारविज्ञ, पत्रकारिता पेसा र अध्यापनमा संलग्न व्यक्तिलगायत सरोकारवालाहरूसँग एकसरो छलफलसमेत नगरी हतारहतार तयार पारिएकाले यो ‘नयाँ पाठ्यक्रम’ भनिए पनि नयाँ बोतलमा पुरानै रक्सीजस्तो भएको छ ।

समग्रमा यो पाठ्यक्रममा ‘न्यु मिडिया र अनलाइन जर्नालिजम’बाहेक अरू लगभग पुरानै पाठ्यक्रमको निरन्तरता हो । समयले छापामाध्यमलाई उछिनेर प्रसारण र अनलाइन माध्यमलाई मज्जाले अँगालेको वेला तयार पारिएको यस पाठ्यक्रमले पत्रकारिता भनेको घुमीफिरी छापामाध्यम नै हो भन्न खोजेको छ । पाठ्यक्रमको विवरण दिइएका विषयवस्तु पनि बृहत् र असीमित अर्थ लाग्ने किसिमका छन्, जसले गर्दा हरेक शिक्षकले आ–आफ्नै बुझाइअनुसार पढाउने जोखिम रहन्छ ।

उदाहरणका लागि ‘मास मिडिया एन्ड कम्युनिकेसन्स’ विषयको पहिलो एकाइमा सञ्चारका ढाँचाहरू पढाउने भन्ने उल्लेख छ, तर कति वा कुन भन्ने छैन । यसैको पाचौँ एकाइमा समाजसेवा र व्यापारिक सञ्चारका छानिएका सवाल अध्ययन गराउने भन्ने वाक्यांश छ । तर, ती सवाल के हुन् भन्ने उल्लेख छैन ।

अन्तिम खण्डमा प्रयोगात्मक अभ्यासका लागि ३० क्रेडिट आवर छुट्याइएको छ । तर, त्यसका लागि के गर्ने भन्ने स्पष्ट छैन । प्रयोगात्मक भनिएकै एकाइले विद्यार्थीलाई झन् बढी ‘भगवान् भरोसे’ बनाएको छ । यस्तो अस्पष्टताले परीक्षामा सोधिने प्रश्न र विद्यार्थीले दिने उत्तरमा तालमेल हुँदैन र विद्यार्थीले कम अंक पाउँछन् । यसलाई हटाउन शिक्षण निर्देशिका (टिचिङ म्यानुअल) बनाउन सकिन्छ, तर पाठ्यक्रम नै बनिनसकेका वेला त्यो बनाउने कसले ?

पाठ्यक्रम अपडेटले केही सुधार गर्ने प्रयास गरेको छ, तर त्यो अपर्याप्त छ । जस्तैः पहिले ‘मिडिया हिस्ट्री, ल एन्ड एथिक्स’ विषयमा मिडिया व्यवस्थापनका कुरा पनि थिए, अहिले त्यो हटाइएको छ । तर, कानुन र आचारसंहिताको विषयमा अझै इतिहास जोडिनु असान्दर्भिक छ । पत्रकारिताको गुणस्तर खस्केको भन्ने जनगुनासो बढिरहेका वेला आचारसंहितालाई सिंगो विषयका रूपमा प्रस्तुत गर्न सक्नुपथ्र्यो । पाठ्यक्रम त्यसमा चुकेको छ । 

सन्दर्भ सामग्रीमा भद्रगोल
पाठ्यक्रममा सबैभन्दा चौपट पक्ष विद्यार्थीलाई पढ्न सिफारिस गरिएका पाठ्यपुस्तक र सन्दर्भसामग्रीको सूची हो । दुवै विषयमा पाठ्यक्रमले समेटेको क्षेत्रभन्दा बाहिरका पाठ्यपुस्तक राखिएका छन्, जसमध्ये अधिकांश नेपालमा त के, विदेशमा खोजे पनि भेट्टाउन मुस्किल छ ।

उदाहरणका लागि ‘मास मिडिया एन्ड कम्युनिकेसन्स’ विषयको दोस्रो एकाइको ‘मिडिया लिटरेसी, न्यु मिडिया र सोसल मिडिया’, तेस्रोको ‘मास मिडिया र सोसल इन्टिट्युसन’, चौथोको ‘मास मिडिया, कल्चर एन्ड सोसाइटी’ र छैटौँ एकाइको ‘मिडिया लिटरेसी’लाई समेट्ने पुस्तक सूचीमा समावेश छैन । बरु, आमसञ्चारको विषयमा पत्रकारिताका तीन पुस्तक र विकास सञ्चारको एउटा पुस्तक राखिएका छन्, जसले पाठ्यवस्तुसँग गोरु बेचेको साइनो पनि राख्दैनन् । 

पाठ्यक्रम एउटा, सिफारिस गरिएका पुस्तक अर्को र विषय शिक्षकले अरूथोकै खोजेर पढाउनुपर्ने हुन्छ । अनि पछि प्रश्न तयार गर्नेले स्वविवेक प्रयोग गर्छ, पाठ्यक्रम र सिफारिस गरिएका पाठ्यपुस्तक हेर्दैन । यो सबै पक्षमा तालमेल नमिल्नुको भार विद्यार्थीमाथि पर्छ ।

अझ लाजमर्दो त बाबु पुस्ताका किताब छोरा–नाति पुस्तालाई पढ्न सिफारिस गरिएको छ । उदाहरणका लागि जोसेफ डोमिनिकको ‘डाइनामिक्स अफ मास कम्युनिकेसन’को १२औँ संस्करण बजारमा आइसक्दा यस पाठ्यक्रममा उक्त पुस्तकको १९९९ मा प्रकाशित तेस्रो संस्करण सिफारिस गरिएको छ । त्यस्तै, माइकल कुन्जिकको सन् १९९२ मा प्रकाशित पुस्तक ‘डेभलपमेन्ट एन्ड कम्युनिकसेन्स’लाई सिफारिस पाठ्यपुस्तकको सूचीमा राखिएको छ ।

कुन्जिकको यो पुस्तक सञ्चार र आमसञ्चारको आधारभूत जानकारी दिन लेखिएकै होइन । फेरि यो किताब अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छैन । त्यस्तै, दोस्रो विषय ‘प्रिन्सिपल्ज एन्ड प्राक्टिसेस अफ जर्नलिजम’मा जोफ्रे ह्यारिस र डेभिड स्पार्कको सन् १९९८ मा प्रकाशित ‘प्राक्टिकल न्युजपेपर रिपोर्टिङ’ पुस्तक सिफारिस गरिएको छ, जबकि त्यही पुस्तकको चौथो संस्करण सन् २०१० देखि बजारमा उपलब्ध छ । सायद यसबारे पाठ्यक्रम निर्माता जानकार थिएनन् ।

पाठ्यक्रममा सबैभन्दा चौपट पक्ष विद्यार्थीलाई पढ्न सिफारिस गरिएका पाठ्यपुस्तक र सन्दर्भसामग्रीको सूची हो । दुवै विषयमा पाठ्यक्रमले समेटेको क्षेत्रभन्दा बाहिरका पाठ्यपुस्तक राखिएका छन्, जसमध्ये अधिकांश नेपालमा त के विदेशमा खोजे पनि भेट्टाउन मुस्किल छ ।

इन्टरनेट युग सुरु हुनुभन्दाअघि महत्वपूर्ण मानिएको मेल्भिन मेन्चरको सन् १९८३ मा प्रकाशित पुस्तक ‘बेसिक न्युज राइटिङ’को २००३ को संस्करणलाई नै पाठ्यक्रमले सिफारिस गरेको छ । अहिले त मेन्चरले नै यो पुस्तकको नामै परिवर्तन गरेर ‘न्युज रिपोर्टिङ एन्ड राइटिङ’को १२औँ संस्करण निकालिसकेका छन् । त्यस्तै, ह्यारिस र स्ट्यान्लीको सन् १९८१ मा प्रकाशित ‘द कम्प्लिट रिपोर्टर’को दोस्रो संस्करण सिफारिस गरिएको छ, जबकि यसको सातौँ संस्करणसम्म बजारमा आईकन यसको प्रकाशन बन्द भइसक्यो । सन् १९८१ मा प्रकाशित रिपोर्टिङसम्बन्धी पुस्तकले ३८ वर्षपछि नेपाली पत्रकारलाई कस्तो ज्ञान देला ? अब सम्झनुस्, हामी कहाँ छौँ ? अनि हामीले भर्खरै परिमार्जन गरेको कथित नयाँ पाठ्यक्रमले हामीलाई अग्रगमनतर्फ डोहो-याउँछ कि पश्चगमनतर्फ ?

अन्तर्राष्ट्रिय मापदण्डको बेवास्ता
पाठ्यक्रमको परिचय खण्डको दोस्रो अनुच्छेदमा चारवर्षे पाठ्यक्रम निर्माणको उद्देश्य ‘विश्वभरिका मिडियामा देखिएका चुनौतीलाई सम्बोधन गर्नु’ हो भनिएको छ । तर, यो पाठ्यक्रमले भर्खरै प्रकाशन भएका विश्वस्तरीय पुस्तक र जर्नल आलेख सिफारिस गर्न सकेको छैन । उत्तर अमेरिकामा कोर्स बनाउने शिक्षकले विभिन्न जर्नल लेख, पुस्तकका परिच्छेद र पत्रपत्रिकाका खोजमूलक आलेखसमेत राखेर फोटोकपीको सँगालो (कोर्सप्याक)लाई पुस्तकाकार रूपमा विद्यार्थीलाई उपलब्ध गराउँछन् । कुनै एक पुस्तकलाई आधार पुस्तक मानिएको हुन्छ, बाँकी कोर्सप्याकमा उपलब्ध हुन्छ ।

अचेल त प्रिन्ट गरिरहनु पनि पर्दैन । डिजिटल पुस्तकालय प्रणालीमा राखिदिएपछि सबै विद्यार्थीको पहुँच पुग्छ । कुरा डिजिटल मिडिया र ग्लोबलाइजेसनका गर्ने, काम ४० वर्षअघि आफैँले पढेका पुस्तक र नोटको सहारा लिने हो भने हाम्रो पत्रकारिता शिक्षा अहिलेभन्दा अझै गुणस्तरहीन हुनेछ ।

सन् २००७ मा सिंगापुरमा भएको पत्रकारिता शिक्षासम्बन्धी विश्वसम्मेलनले पत्रकारिता शिक्षामा गुणस्तर सुधार गर्न ११ बुँदे मापदण्ड जारी गरेको थियो । त्यस घोषणापत्रमा पत्रकारिता शिक्षालाई अन्तरसांकायिक बनाउनुपर्ने, सैद्धान्तिक र अभ्यासमुखी शिक्षामा सन्तुलन हुनुपर्ने, विद्यार्थीका लागि विशेष तालिम र विद्यार्थी आदानप्रदानको प्रबन्ध गर्नुपर्ने, पाठ्यक्रमलाई नियमित रूपमा अध्यावधिक गर्नुपर्ने, शोधलेखनमा बौद्धिक चोरीलगायत गलत आचरणलाई निरुत्साहन गर्नुपर्ने, विश्वविद्यालय र सञ्चार संस्थाबीच कार्यगत एकता हुनुपर्नेलगायत सूचक उल्लेख थिए । प्रस्तुत पाठ्यक्रममा ती मापदण्ड प्रतिविम्बित हुँदैनन् । 

सन् १९८१ मा प्रकाशित रिपोर्टिङसम्बन्धी पुस्तकले ३८ वर्षपछि पत्रकारलाई कस्तो ज्ञान देला ? अनि भर्खरै परिमार्जन गरिएको नयाँ पाठ्यक्रमले अग्रगमनतर्फ डोहोर्‍याउँछ कि पश्चगमनतर्फ ?

त्यसैगरी, संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले सन् २००७ मा चारवर्षे स्नातक तहका लागि नमुना पाठ्यक्रम तयार पारेको थियो । साथै, सन् २०१४ मा नेपालका तीन विश्वविद्यालयमा पत्रकारिताका पाठ्यक्रमको तुलनात्मक समीक्षा गर्दै पाठ्यक्रम सुधारका लागि केही सुझाब दिएको थियो । जस्तैः पाठ्यक्रम निर्माण व्यक्तिगत वा सानो समूहको तजबिजीमा गर्न नहुने, पाठ्यक्रमको छलफल प्रक्रियालाई औपचारिक र बृहत् बनाउनुपर्ने, सैद्धान्तिक र प्रयोगात्मक पक्षको उचित संयोजन गर्नुपर्ने, प्रयोगात्मक र सीपमूलक पढाइमा जोड दिनुपर्ने, पत्रकारिता शिक्षालाई अन्तरसांकायिक बनाउनुपर्ने, गुणस्तरीय पुस्तक तथा जर्नलमा पहुँच बनाई विद्यार्थीलाई त्यस्ता शैक्षिक सामग्री उपलब्ध गराउने आदि । यस्ता सुझाबप्रति पाठ्यक्रम निर्माताले ध्यान दिएको देखिएन ।

उपसंहार
पाठ्यक्रम अध्ययन गर्दा यो केही सीमित व्यक्ति र तिनको तजबिजी, सीमित ज्ञान र परिश्रमको उपजजस्तो देखिन्छ । काठमाडौं उपत्यकामै उपलब्ध पत्रकारिता प्रशिक्षक, सञ्चारविज्ञ, पत्रकारिता पेसा र अध्यापनमा संलग्न व्यक्तिलगायत सरोकारवालासँग एकसरो छलफलसमेत नगरी हतार–हतार तयार पारिएकाले यो ‘नयाँ पाठ्यक्रम’ भनिए पनि नयाँ बोतलमा पुरानै रक्सीजस्तो भएको छ ।

पाठ्यक्रमले न पत्रकारिता शिक्षाका अन्तर्राष्ट्रिय मापदण्डलाई अनुशरण गरेको छ, न नेपाल र विश्वबजारमा उपलब्ध पछिल्ला पुस्तक एवं जर्नल लेख पढ्न सिफारिस गरेको छ । यस पाठ्यक्रम पढेर विद्यार्थी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नु त परको कुरा नेपालकै अन्य समकक्षी विश्वविद्यालयको तहभन्दा पछाडि हुनसक्ने जोखिम छ । पत्रकारिताको स्नातक तहका विद्यार्थी गुणस्तरीय पाठ्यक्रमका हकदार हुन् । तसर्थ अब प्रक्रियासम्मत तवरले व्यापक छलफल चलाएर पाठ्यक्रम परिमार्जन गर्ने कि अलि जाँगरिलो पाठ्यक्रम समिति बनाउने भन्ने विकल्प मात्र बाँकी छ ।