मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
२०७६ असोज ९ बिहीबार ०७:३०:००
Read Time : > 3 मिनेट
राजनीति

कांग्रेसको राष्ट्रिय जागरण अभियान : ‘पहिलोभन्दा दोस्रो जागरण प्रभावकारी’

Read Time : > 3 मिनेट
२०७६ असोज ९ बिहीबार ०७:३०:००

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताले पार्टीको दोस्रो जागरण अभियान पहिलोभन्दा प्रभावकारी भएको दाबी गरेका छन् । सरकारविरुद्ध भण्डाफोर र संगठन सुदृढीकरण गर्नेभन्दा कांग्रेसले २४ भदौमा थालेको दोस्रो जागरण ७ असोजमा सकिएको हो । 

‘हामी पहिलेभन्दा मिलेका छौँ, आरोप–प्रत्यारोप घटेर गएको छ,’ कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने, ‘पार्टी सुदृढीकरणको पक्षमा लाग्नुपर्ने बोध नेतालाई भएको छ ।’ केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पनि जागरणले सरकारका कमजोरी र प्रतिपक्षी दलका दायित्व उजागार गरेको दाबी गरे ।

पहिलो चरणमा ७७ जिल्लामा केन्द्रीय नेतालाई केन्द्रीय प्रतिनिधि पठाएकोकांग्रेसले त्यसको तीन महिनापछि पूर्वमन्त्री, पूर्वसभापति, पूर्वसांसद, प्रदेशका सांसदसहितलाई केन्द्रीय प्रतिनिधि पठाएको थियो । दोस्रो चरणमा कांग्रेस एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेश सभा क्षेत्रीय समिति गठन गरेर १५ दिने अभियानमा होमिएको थियो । पहिलेको तुलनामा पार्टी तल्लो तहसम्म क्रियाशील भएपछि तेस्रो चरणको कार्यक्रममा आन्तरिक संगठन सुदृढ गर्नुपर्ने दबाब कांग्रेस नेतृत्वमाथि परेको छ ।

आन्तरिक संगठन अझै सुस्त
वैशाखमा भएको पहिलो चरणको एकमहिने अभियानमा तल्लो तहलाई जागृत गराउन पुगेका नेतालाई पहिले कार्यकर्ताले आफैँ जागृत भएर आउन सुझाब दिएका थिए । दोस्रो चरणमा जानुअघि पनि पहिलेजस्तै सरकारविरुद्ध भण्डाफोरसहित पार्टीका आन्तरिक संगठन सुदृढीकरणका मुद्दा कांग्रेसका थिए । प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्रीय समिति गठन गरे पनि आन्तरिक संगठन सुदृढीकरणका थुप्रै काम अझै गर्न बाँकी छ । 

पहिलेको तुलनामा पार्टी तल्लो तहसम्म क्रियाशील भएपछि तेस्रो चरणको कार्यक्रममा आन्तरिक संगठन सुदृढ गर्नुपर्ने दबाब कांग्रेस नेतृत्वमाथि परेको छ

दोस्रो चरणको कार्यक्रम सरकारको भण्डाफोरअन्तर्गत वाइडबडी, बालुवाटार जग्गाप्रकरण, विभिन्न विधेयकका विरोधमा बढी केन्द्रित थियो । पार्टीका स्थानीय तह संरचना गठन, सदस्यता वितरण, सरकारमा प्रभावकारी प्रतिपक्षी भूमिका, भ्रातृ संगठनको चुस्तता, नियमित प्रशिक्षणजस्ता पुसमा गरिने तेस्रो चरण अघि पूरा गर्नेपर्ने चुनौती कांग्रेस नेतृत्वसामु देखिएको छ । आउँदो पुस ७ देखि १६ सम्म सात सय ५३ स्थानीय तहमा तेस्रो एवं अन्तिम चरणको कार्यक्रम गर्ने तयारी कांग्रेसको छ । 

गुटबन्दी अन्त्यको सन्देश
तनहुँ २ (क) प्रदेशसभामा केन्द्रीय प्रतिनिधि बनेका राजु थापाले पार्टीमा गुटबन्दी अन्त्यको विषयलाई कार्यकर्ताले फेरि उठाएको बताए । ‘अभियान उत्साहजनक रह्यो । पार्टी तल्लो तहसम्मै परिचालन भएको छ । हाम्रो बढी प्राथमिकता सरकारविरोधी कार्यक्रममा बढी भयो,’ थापाले भने, ‘पार्टीको केन्द्रमा गुटबन्दीको अन्त्य, नेताबीच मेलमिलाप भए मात्रै पार्टी सुध्रिन्छ भन्ने सुझाब धेरै आएका छन् ।’ साथै, तनहुँमा नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीले आपसमा विवाद नगरी दोस्रो पुस्तालाई पार्टी नेतृत्वमा सहयोग गर्नुपर्ने विषय उठेको पनि उनले बताए ।

आफूहरू जागृत भएको भन्दै फेरि उनीहरूले आफैँ जागृत भएर आउन, गुटबन्दी अन्त्य गर्न, कार्यकर्ताको मूल्यांकन गर्न पार्टी नेतृत्वसमक्ष सुझाब प्रवाह गरेका छन् ।
पर्वत प्रदेश सभा (ख) मा पुगेका केन्द्रीय प्रतिनिधि मेखलाल श्रेष्ठले अभियानबाट कार्यकर्तामा उत्साह र पार्टी नेतृत्वप्रति आशा बढेको सुनाए । ‘दुईतिहाइको सरकारले गरेका नराम्रा काम, भ्रष्टाचार बढाएको, शान्ति सुरक्षामा चुकेको विषयमा जागृत गराउने काम ग-यौ ।

निराश भएर बसेका जनतालाई हामीले उत्साह जगाउन सक्यौँ,’ श्रेष्ठले भने, ‘आन्तरिक सृदढीकरणका लागि क्रियाशील सदस्यदेखि केन्द्रीय नेतासम्मले गुटमा नलाग्ने, संगठनका लागि इमानदार भएर काम गर्नुपर्ने सुझाब हामीले लिएर आएका छौँ ।’ कांग्रेस बलियो भए मात्रै लोकतान्त्रिक गणतन्त्र बलियो र सुरक्षित हुने टिप्पणी कार्यकर्ताको रहेको भन्दै यस्तो सन्देश नेतृत्वसमक्ष पु-याउने उनी बताउँछन् ।

केन्द्रमा हामी नेता पहिलेभन्दा मिलेका छौँ
विमलेन्द्र निधि उपसभापति, कांग्रेस

दोस्रो चरणको अभियान अत्यन्त सफल भएको छ । तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा पार्टीका साथी सक्रिय भएका छन् । नेता परिचालित भएका छन् । यसले संगठन परिचालन, पुनर्ताजगी, वैचारिक पक्ष विस्तारित भएका छन् ।

सरकारका क्रियाकलापविरुद्ध देशैभर सन्देश दिन सफल भयौँ । ७ असोजमा समापनमा देशैभर एकैपटक विरोधसभा गरेर सरकार गलत कार्यशैलीतिर लागेको सन्देश प्रवाह ग-यौँ । 

तेस्रो चरणअघि आन्तरिक संगठन सुदृढीकरणका लागि अभियान जारी रहन्छ । अब गठन गर्न बाँकी अन्तरिम संरचना गठनको गृहकार्य हुन्छ ।

जहाँसम्म पार्टीको तल्लो तहबाट केन्द्रीय नेता मिल्नुस्, गुटबन्दी नगर्नुस् भन्ने सुझाब छ, हामी पहिलेभन्दा मिलेका छौँ । आरोप–प्रत्यारोप घटेर गएको छ । पार्टी सुदृढीकरणका पक्षमा लाग्नुपर्ने बोध नेतालाई भएको छ । 

प्रतिपक्षीको दायित्व उजागर भएको छ 
 डा. मीनेन्द्र रिजाल केन्द्रीय सदस्य, कांग्रेस

हामी आफू केन्द्रीय नेताभन्दा प्रतिनिधिसहितका नेता अभियानमा बढी सक्रिय हुनुभयो । म पछिल्ला चार दिन मोरङको आफ्नै निर्वाचन क्षेत्रमा घुमे । प्रदेश तहसम्मै प्रतिनिधि पुग्दा पार्टीमा जागरणको कार्यक्रम प्रभावकारी भएको छ ।

खटिएका साथीले सक्रियतापूर्वक काम गर्नुभएको छ । सरकारलाई सुधार्ने, संगठन सुदृढीकरण गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको छ ।

अघिल्लो पटकजस्तै यस पटक पनि हामी जागृत भएका छौँ । नेता पनि जागृत भएर आउनुस् भनेर फेरि पनि भनेका छन् । जहाँसुकैबाट पनि माथि सुध्रिनुस् भन्ने कुरा आएको छ । प्रतिनिधि र हामी नेता आफू पनि सुध्रिन्छौँ र माथि पनि सुधार्छौँ भनेर आएका छौँ । जागरणले सरकारले गर्नुपर्ने काम, उनीहरूको कमजोरी, हामी प्रतिपक्षी दलको दायित्वका विषयलाई पनि उजागार गरेको छ । 

तेस्रो चरणअघि पार्टीको माथिल्लो तहले आफूलाई सुधार्ने हुनुपर्छ । दुई चरणको कर्याक्रममा नेताहरूले भनेअनुसार काम भएको छ । अब कार्यकर्ताहरूले नेता फेरिए–नफेरिएको हेर्नेछन् । तीन महिनापछि जाँदा हामीले सुध्रिन्छौँ भनेर गरेको विश्वास पूरा गर्नुपर्छ । 

अर्को निर्वाचन जित्ने गरी अभियान चाल्नुपर्छ
प्रदीप पौडेल केन्द्रीय सदस्य

पहिलो चरणमा ७७ जिल्लामा मात्रै केन्द्रीय प्रतिनिधि पुगेका थिए । तर, दोस्रो चरणमा तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि पुग्दा स्वाभाविक रूपमा बढी गतिविधि भए । अघिल्लोपटकको अनुभवले काम ग-यो । सबैतिर कार्यक्रम हुँदा सहभागी थोरै भए पनि धेरैतिरको संख्या जोड्दा मुभमेन्ट बढेको छ ।

भ्रष्टाचारको मुद्दामा सरकारको कमजोरी केलाउने, सरकारलाई भ्रष्टाचारको मुद्दासँग जोडेर आलोचनाको विषय राम्रो हो । तर, यसरी सार्वजनिक मञ्चमा आफ्नो कुरा कम गरेर आफूले चाहेको कुरा बढी गर्ने हुनुपर्छ ।

तेस्रो चरणका लागि तलसम्मको संरचनालाई पूर्णता दिने, भ्रातृ संस्थालाई पूर्णता दिने, प्राथमिकता छुट्टाउने, सच्याउनुपर्ने के हुन्, सरकारले सकेन भने हामीले देखेको समृद्ध देश बनाउने एजेन्डा के हुन् ? यी विषयमा प्रस्ट हुनुपर्छ ।

विरोधका लागि विरोध मात्रै गर्नेभन्दा हामी रचनात्मक कसरी बन्ने बनेर देखिनुपर्छ ।