मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
साथीसँगै बसेर भोज खाना वञ्चित सिरहा नगरपालिका–११ भलुवाहीका वीरेन्द्रकुमार महरा
२०७६ असोज ९ बिहीबार ०६:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

गाउँमै मिलाइन्छन् जातीय छुवाछुतका घटना

स्थानीयको दबाब, प्रहरीको उदासीनताका कारण छुवाछुतका घटना अदालतसम्म पुग्न पाउँदैनन्

Read Time : > 1 मिनेट
२०७६ असोज ९ बिहीबार ०६:१६:००

सिरहामा जातीय छुवाछुतका घटनाले भयावह रूप लिएको छ । फौजदारी अपराधको रूपमा लिइने जातीय छुवाछुतसम्बन्धी घटना भएमा अदालतसम्म पुग्नै नपाई गाउँमै मिलाउने गरिएको छ । प्रहरीको उदासीनता, गाउँमै मिलाउन स्थानीयको चर्को दबाबलगायतका कारण छुवाछुतका घटना त्यति धेरै सार्वजनिक हुने गरेका छैनन् ।

सिरहा नगरपालिका–११ भलुवाही गाउँमा जातीय छुवाछुतसम्बन्धी घटना गाउँमै मिलाउने प्रयास गरिएको छ । स्थानीय मुनिया कामतीका बाबु गह्राइ कामतीको मृत्यु भएको नवौँ दिन भोज खान गएका दलित समुदायका २५ वर्षीय वीरेन्द्रकुमार महरालाई आफ्नै दौँतरीसँग बसेर खान दिइएन ।

२५ भदौमा भोज खान बसेपछि खानाको भाग पस्किन दिइएको पातसमेत खोसेर लगेपछि उनी नखाई घर फर्किएका थिए । ‘कामती समुदायका जातीय माइञ्जन ६० वर्षीय अधिकारी भनिने जोगेन्द्र कामती र ५५ वर्षीय दुःखी कामतीले पात खोसेर लगेपछि घर फर्किएर प्रहरीमा जाहेरी दिन खोजेँ,’ उनले भने, ‘गाउँलेहरूले स्थानीयस्तरमै मिलाउन चर्को दबाब दिएपछि प्रहरीसम्म जानै सकिनँ ।’

कार्यालयमै कुटिन्छन् दलित
सिरहाको नरहा गाउँपालिका–५ बलुवाका जुगुतलाल महरा गत १९ साउनमा भूमिसुधार कार्यालयमै कुटिए । आफ्ना बाबुको नाममा रहेको मोही जग्गा नामसारीको मुद्दाको तारेख लिन गएका उनलाई बलुवाका दुखमोचन यादव, हरिदेव यादव, विष्णुदेव यादव, सुन्दर यादव, सोमनीदेवी यादवसहित ६ जनाको समूहले कुटपिट गरेको थियो । ‘सानो जातको भएर ठूलो हुने’ भन्दै कुटिएपछि प्रहरीले पीडकहरूमाथि कुटपिटको मुद्दा चलाएको छ । ‘कुटपिट गर्न थालेपछि भागेर प्रहरीमा पुगी ज्यान जोगाएँ,’ उनले भने । 

टेम्पोमा समेत छुवाछुत !
लहान नगरपालिका–१८ अमही गाउँका ६१ वर्षीय चलितर मरिकले लहान बजार ओहोरदोहोर गर्न गाउँबाट चल्ने टेम्पोमा चढ्दा छुवाछुत मान्ने गरेको सुनाउँछन् । ‘गाउँबाट चल्ने टेम्पोमा हामी चढेपछि अन्य गाउँलेहरू चढ्दैनन्, झुक्किएर चढिहाले डोमलाई उतारे मात्र जान्छौँ भन्दै टेम्पो चालकलाई धम्क्याउँछन्,’ मरिकले गुनासो गरे, ‘लहानबाट करिब चार किलोमिटरको दूरीमा रहेको अमही गाउँबाट चल्ने तीनवटा टेम्पोमा चालकले केही भन्दैनन्, तर गाउँलेहरूले तल्लो जातको भन्दै दुव्र्यवहार गर्छन् ।’

प्रहरी भन्छ–छुवाछुतविरुद्ध जाहेरी नै पर्दैन
प्रहरीमार्फत जिल्ला सरकारी वकिल हुँदै अदालतसम्म पुग्नुपर्ने जातीय छुवाछुतका घटनासम्बन्धी किटानी जाहेरी नै नपर्ने हुँदा मुद्दा चलाउन नसकिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अपिलराज बोहरा भन्छन्, ‘पीडितहरूको मौखिक उजुरीका आधारमा मुद्दा चलाउन सकिँदैन । किटानी जाहेरी लिएर आउनुस् भनेर पठाएपछि फर्किंदैनन्, गाउँमै मिलाउँछन् ।

मुलुकमै दोस्रो ठूलो संख्यामा दलितहरू बसोवास गर्ने सिरहामा जातीय छुवाछुतसम्बन्धी घटना भइरहे पनि प्रहरीमा किटानी जाहेरी नपर्नुले जातीय छुवाछुतका घटना दबाबको आधारमा गाउँमै मिलाइने गरेको पुष्टि हुने दलित अधिकारकर्मी विनोदकुमार विसुन्के बताउँछन् ।

‘जातीय छुवाछुतविरुद्ध संविधान, ऐन–कानुन बनेका छन्, तर जनप्रतिनिधि र समाजका अगुवाहरूमा समेत गाउँको कुरा गाउँमै मलाउनुपर्छ भन्ने मानसिकता अझै छ,’ उनले भने, ‘सामाजिक सद्भाव भड्किन्छ भन्ने बुझाइ र प्रहरी प्रशासनको उदासीनताले जातीय छुवाछुतसम्बन्धी घटना अदालतसम्म पुग्नै पाउँदैनन् ।’

चार आर्थिक वर्षमा ६ मुद्दा
जिल्ला प्रहरी कार्यालय सिरहाको अपराध तालिकाअनुसार पछिल्लो चार आर्थिक वर्षको अवधिमा जातीय भेदभाव र छुवाछुतसम्बन्धी चारवटा मुद्दा चलाइएका छन् । आव २०७२/०७३ मा एक, ०७३/७४ मा दुई, ०७४/७५ मा एक र ०७५/७६ मा जातीय भेदभाव र छुवाछुतसम्बन्धी दुई मुद्दा चलेको सिरहा प्रहरीको तथ्यांकमा उल्लेख छ । सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बोहराका अनुसार आव ०७६/७७ को पछिल्लो दुई महिनामा जातीय विभेदका घटनासम्बन्धी मुद्दा दर्ता नै भएका छैनन् ।