१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज ८ बुधबार १०:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेकपाले संविधानविरोधी जनशक्ति तयार पार्दै छ : निधि

Read Time : > 1 मिनेट
२०७६ असोज ८ बुधबार १०:५५:००

कांग्रेस उपसभापति विमलेन्द्र निधिले आफ्ना कार्यकर्तालाई चिनियाँ शासन व्यवस्थाको विचारधाराबारे तालिम दिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधानविरोधी जनशक्ति तयार पारिरहेको आरोप लगाएका छन् । चिनियाँ राष्ट्रपतिको विचारधाराबारे काठमाडौंमा भएको नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त प्रशिक्षणलाई संकेत गर्दैै उनले संविधान सिध्याउने जनशक्ति तयार पार्न लागिएको दाबी गरे । धनगढीमा भएको कांग्रेसको जागरण तथा विरोध सभामा निधिले उत्तरी छिमेकीको एकतन्त्रीय शासन व्यवस्थाको प्रशिक्षणले नेपालको शासन व्यवस्थामाथि खतरा हुने चिन्ता उनले व्यक्त गरे ।

‘नेपालमा लोकतान्त्रिक व्यवस्था छ । संसदीय प्रणाली छ । बहुदलमा आधारित बहुदलीय प्रणाली छ र स्वतन्त्रता छ । तर हाम्रो उत्तरी छिमेकी मुलुकमा एकदलीय कम्युनिस्ट शासन छ । स्वतन्त्रता, मानव अधिकार छैन,’ निधिले प्रश्न गरे, ‘त्यस्तो व्यवस्थाको तालिम दिएर सत्ताधारी दलले कस्तो किसिमको जनशक्ति तयार गर्न खोज्दै छ ?’ 

निधिले सरकारबाटै नेपालको संविधान र लोकतन्त्रमाथि खतरा रहेको आरोपसमेत लगाए । सरकार र सत्तारुढ दलका संविधान विरोधी कार्यले लोकतन्त्र खतरामा परेको उनले बताए । ‘राजतन्त्र आउने बेकारका कुरा हुन् । राजतन्त्र फर्केला भनेर नसोचे हुन्छ,’ पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहका निधिले भने, ‘लोकतन्त्रमाथि खतरा छ भने सरकारबाटै छ । सरकारका हरेक गतिविधिबाट त्यो देखिन्छ ।’

प्रदेश सरकार र स्थानीय तहलाई अधिकार नदिएर सरकारले संघीयतालाई कमजोर बनाउन खोजेको आरोप उनले लगाए । संविधानले दिएका प्रदेश र स्थानीय तहका महत्वपूर्ण अधिकार संघले नै राखेको निधिले बताए । उनले भने, ‘प्रणाली संघीयताको छ तर प्रदेश प्रहरी छैन, प्रदेश सरकारका आफ्ना कर्मचारी छैनन् । मेयरलाई थाहै नदिई स्थानीय तहका कर्मचारी संघले सरुवा गर्छ । यस्ता कार्यले संघीयता खतरामा परेको छ ।’

कांग्रेसको नेतृत्वमा मात्र लोकतन्त्र सुरक्षित रहनसक्ने उनको दाबी थियो । उपसभापति निधिले पार्टीलाई बलियो र सुदृढ बनाउन जनता र मतदातामा जोडिन नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए । २००७, ०४६ र ०६२/६३ को परिवर्तन, संविधान निर्माण र कार्यान्वयन कांग्रेसकै नेतृत्वमा भएको जनतालाई बुझाउनुपर्नेमा उनले जोड दिए । कार्यकर्ता व्यक्तिभन्दा नीतिको पछि लागे पार्टीभित्रको गुटबन्दी अन्त्य हुने उनले बताए ।     

कांग्रेस नेता ईश्वरी न्यौपाने, डा. आरजु राणा देउवा, योगेन्द्र शाहीलगायत नेताहरूले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । आन्तरिक विवादले पार्टी कमजोर भएको भन्दै नेताहरूले विवाद अन्त्य गरी सरकारका गलत क्रियाकलापविरुद्ध जनतामाझ जानुपर्ने धारणा राखेका थिए । धनगढीमा भएको सभामा जिल्लाका विभिन्न ठाउँबाट अगुवा कार्यकर्ता आएका थिए ।