१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज ७ मंगलबार ०७:३७:००
Read Time : > 4 मिनेट
सेयर बजार

२२ प्रतिशत घट्यो कारोबार रकम

Read Time : > 4 मिनेट
२०७६ असोज ७ मंगलबार ०७:३७:००

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव १५ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेमा सुधार भए पनि यस दिन कारोबार रकम पनि घटेको छ । यस दिन करिब १८ करोड रुपैयाँबराबरको मात्र सेयर खरिद–बिक्री भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा २२ प्रतिशत कम हो । 

लाभांश घोषणा हुँदा पनि बजार नबढेका कारण लगानीकर्ताहरू बजारबाट टाढिन थालेको एक ब्रोकरले बताए । अहिले दसैँको चहलपहल सुरु हुन थालिसकेको छ । बजारले लामो समयदेखि गति लिन सकेको छैन । त्यसैले, अधिकांश लगानीकर्ता अहिले लगानी नगर्ने निर्णय गरी बसेका कारण कारोबार रकम घटेको उनको भनाइ छ । 
साउन १ गतेदेखि सुरु भएको लाभांश विवाद पूर्ण रूपमा समाधान नहुँदा नेप्सेले गति नलिएको एक लगानीकर्ताले बताए । सिडिएस एन्ड क्लियरिङले ‘मेरो सेयर’ सफ्टवेयरमा भारित औसत गणना गर्ने विधि थप गरे पनि सो सुविधा प्रभावकारी नभएका कारण लाभकर विवाद अन्त्य हुन सकेको छैन । यसले लगानीकर्ताको मनोबल घटाएको उनको भनाइ छ । 

बजार सारांश
सोमबार नेप्से परिसूचक १ दशमलव ७३ अंक बढेर १ हजार १ सय ४० दशमलव ९८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव १० अंक बढेर २ सय ४९ दशमलव ८१ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव १० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ३ अंक बढेको छ । यस दिन १ सय ७० कम्पनीको ४ हजार ६ सय ८४ पटकको कारोबारमा १७ करोड ७२ लाख ७९ हजार ३९ रुपैयाँबराबरको ७ लाख ४३ हजार ३ सय १५ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण

आरएसआई : नेप्सेको आरएसआई यस दिन ३६ दशमलव ४२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन १ दशमलव शून्य ७ रहेको छ । यसले नेप्से बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७० कम्पनीमध्ये ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३३ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ३६ दशमलव ४४ बिन्दुमा पाउने देखिन्छ । सो टेवाबिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ३१ दशमलव ९० बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ४६ दशमलव ९१ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ५२ दशमलव ८४ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

सेयरमूल्य फरकदर न्यून
यस दिन कारोबारमा आएका कम्पनीको सेयरमूल्य अघिल्लो दिनको तुलनामा धेरै फरक भएनन् । कुनै पनि कम्पनीको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटबढ भएन । कारोबारमा आएको साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमूल्य यस दिन ४ दशमलव ९४ प्रतिशत बढेको छ । 

त्यसैगरी, सिर्जना फाइनान्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर र सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, आँखुखोला जलविद्युत् कम्पनी, ग्लोबल आइएमई समुन्नत स्किम र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ । अन्य कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा कम घटेको छ । 

९ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ३ समूहको परिसूचक बढेको छ । व्यापार समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ८४ प्रतिशत बढेको छ । 

अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ६२ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ३५ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ३३ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव २६ प्रतिशत बढेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव २० प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव १७ प्रतिशत, होटेल समूहको शून्य दशमलव १२ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ४ प्रतिशत बढेको छ । यस दिन म्युचुअल फन्ड समूहको परिसूचक शून्य दशमलव ६२ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव शून्य ७ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ३ प्रतिशत घटेको ।

सर्वाधिक कारोबार हुनेमा प्रभु बैंक
यस दिन वाणिज्य बैंकको सेयर कारोबार अन्य कम्पनीको तुलनामा धेरै भएको छ । सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचीमा ८ वाणिज्य बैंक रहेका छन् । यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ४५ पटकको कारोबारमा १ करोड २५ लाख २३ हजार ४ सय ४७ रुपैयाँबराबरको ४८ हजार ६१ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

त्यसैगरी, शिवम् सिमेन्ट्सको यस दिन १ सय ४९ पटकको कारोबारमा १ करोड २० लाख ५२ हजार ५ सय ३ रुपैयाँबराबरको २१ हजार ६ सय ५६ कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा यस दिन रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ४ सय ८७ पटकको कारोबारमा २७ हजार ५ सय १२ कित्ता सेयर कारोबार भएको छ । 

सबैकोको लाभांश 
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १६ करोड ५० लाख रहेको छ । 

नेपाल एग्रोको लाभांश संशोधन
नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकले पुँजी कोष पर्याप्तताका लागि नगद लाभांश वितरण गर्न नसकिने, तर बोनस सेयर वितरण गर्न सकिने जानकारी दिएपछि कम्पनीको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट अब १५ प्रतिशत बोनस सेयर वितरण गर्नेछ ।  

नेसनलको लाभांश 
नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट ८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज २ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले ७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १५ करोड ८ लाख ८३ हजार रहेको छ । 

आरम्भको लाभांश 
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज ५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ६ करोड रहेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी ६ करोड ४८ लाख पुग्नेछ ।