मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज ६ सोमबार ११:३८:००
Read Time : > 1 मिनेट
प्रदेश

बलात्कारको मुद्दा आर्थिक लेनदेनमा मिलाउने प्रयास

Read Time : > 1 मिनेट
२०७६ असोज ६ सोमबार ११:३८:००

ड्युटीमा रहेका वेला किशोरी बलात्कार गर्ने प्रहरी जवानमाथि चलिरहेको मुद्दा मिलाउन चलखेल सुरु भएको छ । सप्तरीका ३५ वर्षीय प्रहरी जवान प्रकाशकुमार यादवविरुद्ध जिल्ला अदालत ओखलढुंगामा चलिरहेको बलात्कार मुद्दा मिलाउने प्रयास भएको हो ।

उनीविरुद्ध गत २० साउनमा मोलुङ गाउँपालिकाकी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । किशोरीले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा २१ साउनमा यादव पक्राउ परेका थिए । 

घाँस काट्न बारीमा गएको समयमा २० साउन दिउँसो १२ः३० बजे १८ वर्षीया ती किशोरी बलात्कृत भएकी थिइन् । पीडित पक्षको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादव पक्राउ परेका थिए । पुर्पक्षका लागि थुनामा राखेर उनीमाथि अहिले अनुसन्धान भइरहेको छ ।

पीडित किशोरीले अधिकारकर्मीको सहयोगमा अदालतमा मुद्दा दिएकी थिइन् । किशोरीका बाबुले प्रत्यक्ष देखेपछि घटना बाहिर आएको थियो । सरकारी वकिलको कार्यालयमार्फत यादवविरुद्ध १० भदौमा अदालतमा मुद्दा दायर भएको थियो । 

आइतबार ओखलढुंगा जिल्ला अदालतले भौतिक परीक्षण प्रमाण प्रतिवेदन र वादीतर्फका साक्षीलाई अदालतमा झिकाउने आदेश दिएको छ ।

सहमतिमै शारीरिक सम्बन्ध  भएको किशोरीको बयान
बलात्कार घटनाको अनुसन्धान भइरहेकै समयमा यादवका आफन्तले पीडित पक्षलाई केही रकम लिएर मिल्न र अदालतसमक्ष बयान फेर्न बारम्बार दबाब दिइरहेका थिए । पाँच लाख ५० हजार रुपैयाँमा कुरा मिलेको र ओखलढुंगाको सदरमुकामस्थित एक होटेलमा पैसाको लेनदेन भएको स्रोतले जनाएको छ । रकम बुझेपछि पीडित किशोरी र उनका आफन्तले बयान फेरेका छन् ।

आफूलाई बलात्कार गरेको भन्दै मुद्दा दर्ता गराएर बयान दिएकी किशोरी अदालतमा बकपत्र गर्ने वेला ‘होस्टाइल’ भइन् । अदालती भाषामा आफूविरुद्ध बयान दिनुलाई ‘होस्टाइल’ हुनु भनिन्छ । अदालतमा उनले सहमतिमै शारीरिक सम्बन्ध राखेको भनी बयान फेरेकी छिन् । 

उनले आफैँले फोन गरेर यादवलाई बोलाएको र शारीरिक सम्पर्क भइरहेको समयमा बुबाले देखेपछि डरले यादवले आफूलाई जबर्जस्ती करणी गरेको भनी आरोप मात्र लगाएको बयान दिएकी हुन् । ‘पहिले जबर्जस्ती करणी भएको भनी जाहेरी दिइन्, प्रहरीको अनुसन्धानका क्रममा पनि उनले त्यसै भनिन्,’ जिल्ला अदालतका स्रेस्तेदार नेत्रबन्धु पौडेलले भने, ‘अहिले अदालतसमक्ष बकपत्र गर्दा होस्टाइल भइन् ।’ अदालतले बयान र कानुनलाई आधार मानेर फैसला गर्ने उनले बताए ।

पैसा लिएर किशोरीलाई बयान फेराउन यादवका आफन्त, निजी वकिल र प्रहरीले दबाब दिएको उनको आमाको भनाइ छ । ‘नजिकको प्रहरीचौकीबाट पनि पटक–पटक घरमै प्रहरी आएर मिल्नु भने, वकिलले पनि जिल्लामा जाँदा त्यसै भनेपछि पाँच लाख पचास हजार रुपैयाँमा कुरा मिलेको हो,’ किशोरीकी आमाले भनिन्, ‘प्रहरी र अदालतमा धाउँदा आफ्नै तीन लाख जति खर्च भएको थियो ।’ 


जिल्लास्थित एक सेफ हाउसको सहारामा बस्दै आएकी पीडित किशोरीलाई आफन्तले घर फिर्ता लगेका छन् । अदालतमा बयान फेरेपछि उनलाई आफन्तले सेफ हाउसबाट निकालेर घर लगेका हुन् । पीडकबाट रकम लिएर बयान फेरेसँगै उनी आफन्तसँगै घर गएको सेफ हाउसकी अध्यक्ष पेमडोमा शेर्पाले बताइन् । ‘पैसा लिएर अदालतमा बयान फेरेर आएछन्, हामीसँग भेटै नगरी गएछन्,’ शेर्पाले भनिन् ।

आर्थिक लेनदेनकै कारण युवतीले बयान फेरेको हुन सक्ने महिला अधिकारकर्मीसमेत रहेकी शेर्पाको भनाइ छ । पैसा लिनुअघि घटनाको प्रत्यक्षदर्शी रहेको किशोरीका बाबु र आमाले छोरी बलात्कृत भएको भन्दै न्याय खोज्दै सदरमुकाम आएका थिए ।