मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ५ आइतबार ०९:१७:००
Read Time : > 3 मिनेट
सेयर बजार

सातामा २१ प्रतिशत बढ्यो कारोबार रकम

Read Time : > 3 मिनेट
२०७६ असोज ५ आइतबार ०९:१७:००

पछिल्ला साताहरूमा ओरालो लागेको नेप्से परिसूचक गत साता पनि ओरालो लागेको छ । नेप्से ओरालो लागे पनि गत साताको कारोबार रकम अघिल्लो साताको तुलनामा बढेको छ । अघिल्लो साताको तुलनामा गत साताको कारोबार रकम २१ प्रतिशत बढेको छ । पाँच कारोबार दिनका लागि खुला रहेको बजारमा ३ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने दुई कारोबार दिन नेप्से बढेको थियो । 

गत मंगलबार अर्थमन्त्रीले दिएको एक अभिव्यक्तिका कारण दुई कारोबार दिन नेप्से बढेको विश्लेषण गरिएको छ । गत मंगलबार अर्थमन्त्रीले कर्मचारी सञ्चयकोषको कार्यक्रममा अहिले सेयर खरिद गर्ने उपयुक्त समय भएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका कारण लगानीकर्ताको मनोबल बढेको एक लगानीकर्ताले बताए । सधैँ सेयरबजारप्रति नकारात्मक अभिव्यक्तिका कारण विवादमा रहेका अर्थमन्त्रीले सकारात्मक अभिव्यक्ति दिएका कारण लगानीकर्ता उत्साहित भएका उनको भनाइ छ । बजार निरन्तर ओरालो लागेका कारण कम्पनीको सेयरमूल्य निकै सस्तिएको छ । कम्पनीले गत आवको मुनाफाबाट लाभांश पनि घोषणा गरिरहेका छन् । सस्तो मूल्यमा सेयर खरिद गरी छोटो समयमा लाभांश संकलन गर्ने समय भएका कारण बजारले गति लिएको एक ब्रोकरले बताए । 

गत साताको अन्तिम कारोबार दिन भने लगानीकर्ता प्रोफिट बुकिङ गर्नतर्फ लागेका कारण नेप्से ओरालो लागेको हो । मंगलबार र बुधबार दुई दिनमा नेप्से कुल ५० अंक बढेपछि अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका हुन् । 

बजार सारांश 
गत साता नेप्से परिसूचक २ दशमलव ५८ अंक घटेर १ हजार १ सय ५५ दशमलव ३० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता १ दशमलव ५८ अंक घटेर २ सय ५२ दशमलव २१ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स शून्य दशमलव १४ अंक घटेर ८५ दशमलव ५५ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४१ अंक घटेर ८१ दशमलव २२ बिन्दुमा पुगेको छ । सो साता १ सय ८४ कम्पनीको ३७ हजार ३ सय २७ पटकको कारोबारमा १ अर्ब ८९ करोड २७ लाख ४० हजार २ सय ७८ रुपैयाँबराबरका ६५ लाख ८७ हजार २२ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ३९ दशमलव ७० स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता १ दशमलव ६६ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । सो साता कारोबारमा आएका १ सय ८४ कम्पनीमध्ये ६५ कम्पनीको सेयरमूल्य घटेको छ भने १ सय ८ कम्पनीको सेयरमूल्य बढेको छ । बाँकी ११ कम्पनीको सेयरमूल्य सो साता स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार १ सय ५१ दशमलव ७८ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार १ सय २५ दशमलव २४ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार ९५ दशमलव १८ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ८१ दशमलव ८४ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार २ सय ८ दशमलव ३८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

सर्वाधिक कारोबार हुनेमा शिवम् सिमेन्ट्स
गत साता कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडअगाडि रहेको छ । सो कम्पनीको गत साता १ हजार ६ सय १२ पटकको कारोबारमा १५ करोड ४३ लाख ७२ हजार रुपैयाँबराबरको २ लाख ७५ हजार ४ सय ६१ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा गत साता सिद्धार्थ बैंकअगाडि रहेको छ भने कारोबार संख्याका आधारमा रसुवागढी हाइड्रोपावरअगाडि रहेको छ । सिद्धार्थ बैंकको गत साता १ हजार १ सय ६३ पटकको कारोबारमा ११ करोड ६५ लाख ६१ हजार रुपैयाँबराबरको ३ लाख ६० हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । रसुवागढी हाइड्रोपावरको गत साता ३ हजार ७ सय ९१ पटकको कारोबारमा ४ करोड ६३ लाख ३८ हजार रुपैयाँबराबरको २ लाख ८९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

९१ लाख कित्ता सेयर सूचीकृत
गत साता दुई कम्पनीहरूले नेप्सेमा कुल ९१ लाख ११ हजार ३ सय ४९ दशमलव ३५ कित्ता सेयर सूचीकृत गरेका छन् । सो साता रिलायन्स फाइनान्स लिमिटेडले ८ लाख ९१ हजार ८ सय ७४ दशमलव ३५ कित्ता बोनस सेयर र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद सेयर सूचीकृत गरेका छन् ।

७ समूहको परिसूचक बढ्यो
गत साता कारोबारमा आएका १२ समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ५ समूहको परिसूचक घटेको छ । सो साता उत्पादनमूलक समूहको परिसूचक ७८ दशमलव ४८ अंक बढेको छ । होटेल समूहको परिसूचक सो साता ३५ दशमलव ९३ अंक, लघुवित्त समूहको १९ दशमलव ४६ अंक, व्यापार समूहको १० दशमलव ९७ अंक, जलविद्युत् समूहको ६ दशमलव ६६ अंक, वित्त समूहको ३ दशमलव शून्य २ अंक र विकास बैंक समूहको २ दशमलव १९ अंक बढेको छ । 

सर्वाधिक गुमाउने समता माइक्रोफाइनान्स
गत साता समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । सो लघुवित्त कम्पनीको सेयरमूल्य गत साता ५४ दशमलव २७ प्रतिशत घटेको छ । कम्पनीको २ सय प्रतिशत हकप्रद सेयर समायोजनका कारण सेयरमूल्य घटेको हो । कम्पनीले १ बराबर २ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि असोज १ गते बुक क्लोज गरेको थियो । सो साता प्राइमलाइफ इन्स्योरेन्स कम्पनी, एनआइसी एसिया बैंक र सिटिजन्स् बैंक इन्टरनेसनलको सेयरमूल्य १० प्रतिशतभन्दा बढी घटेको छ । सो साता नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक १४ प्रतिशत बढेको छ । कम्पनीले गत आवको मुनाफाबाट ८० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका कारण लगानीकर्ताहरू सो कम्पनीतर्फ आकर्षित भएका हुन् । सिटिजन्स् बैंक इन्टरनेसनलको संस्थापक सेयर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिवम् सिमेन्ट्स, ओरियन्टल होटेल र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ को इकाइमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ ।

सिर्जना फाइनान्सको १०:६ हकप्रद

सिर्जना फाइनान्स लिमिटेडले असोज १७ गतेदेखि १० बराबर ६ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो हकप्रद सेयरमा असोज ५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द कात्तिक २१ गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीले सन्राइज क्यापिटल, सिर्जना फाइनान्सको केन्द्रीय तथा शाखा कार्यालय सन्राइज बैंकका विराटनगर, पोखरा, वीरगन्ज, बुटवल तथा नारायणगढ र सी–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ७ लाख ८२ हजार रहेको छ ।