मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज ४ शनिबार ०७:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चौथो संविधान दिवस : ‘अग्रगतिमा बाधा परे मात्र संविधान संशोधन’

Read Time : > 1 मिनेट
२०७६ असोज ४ शनिबार ०७:५६:००

प्रधानमन्त्री केपी ओलीले अग्रगतिको अघि तगारो बन्दा मात्र संविधान संशोधन हुने स्पष्ट पारेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा ओलीले संविधानको कुन भाग, धारा वा दफामा के कति अधिकार रह्यो वा रहेन भन्ने विषयमा नअल्झन आग्रह गरे ।

‘संविधानको कुन भाग, धारा वा दफामा के कति अधिकार रह्यो वा रहेन जस्ता विषयमा अल्झिने भन्दा जुन वेला जे मिल्दैन, जुन अग्रगतिका अघि तगारो बन्छ, त्यसलाई त्यही वेला विधिसम्मत ढंगले मिलाउँदै÷पन्छाउँदै अघि बढिन्छ,’ ओलीले भने, ‘संविधान कार्यान्वयनको सन्दर्भमा हामी कोही पक्ष वा कोही प्रतिपक्ष होइनौँ । यसमा कोही पक्ष, कोही प्रतिपक्ष हुँदैनन् ।’ 

घुमाउरो भाषामा संविधान संशोधन गर्न नसकिने बताएका ओलीले तराईमा पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतलाई मूलधारको राजनीतिमा लिएको विषयलाई निकै चर्चा गरे । विप्लवप्रति लक्षित गर्दै ओलीले बाटो भुलिरहेका केही शक्तिहरूलाई पनि मूलधारको राजनीतिमा आउन ढिला नगर्न आग्रह गरे । 

मुर्छित सपनामाथि पानी छम्केकै हो 
आफूले मुर्छित सपनामाछि पानी छम्केको बताउँदै ओलीले निदाएको वेला देख्ने सपना नभई ब्युँझिएको वेला सपना देखेको बताए । ‘भन्नकै लागि त भन्न सकिन्छ नि– खै त रेल, खै त पानी जहाज ? कहाँ छ सुरुङ खनेको ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ?’ आक्रोशित हुँदै ओलीले भने, ‘मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ– निदाएको वेलामा देख्ने सपना हैन, ब्युँझिएको वेलाको सपना देखौँ ।’ कुनै देशले भविष्यप्रति आशावादी भई सपना देख्छ भने त्यो देश धेरै बाँच्ने ओलीले बताए ।

मृत्युलाई नजिकबाट देखेको छु 
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यतर्फ संकेत गर्दै आफूले मृत्युलाई धेरैपटक नजिकबाट देखेको बताए । मृत्युलाई आफ्नो टिमका साथीहरूले पनि उत्तिकै नजिकबाट चिनेको भन्दै ओलीले आफ्ना सहकर्मीहरू पनि नाफाको जिन्दगी बाँचेको बताए । ‘आधा शताब्दी अघि कलिलै वयमा आफ्ना दौँतरीहरूसँगै घरबार छोडेर हिँडेको के का लागि ? र, जवाफ पाउने गरेको छु– मुलुक बनाउनका लागि । तपाईं हाम्रा साझा सपना पूरा गर्नका लागि ।’ भावुक हुँदै  प्रधानमन्त्री ओलीले भने, ‘यी सबै संघर्षहरूमा मेरो संलग्नता कुनै दिन प्रधानमन्त्री पदको विज्ञापन खुल्ला र निवेदन गरौँला भनेर किमार्थ थिएन ।’ 

कार्यक्रममा सातै प्रदेशको झझल्को दिनेगरी सांस्कृतिक झाँकी प्रस्तुतसमेत गरिएको थियो । सबै जातजातिको झल्को दिनेगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सांस्कृतिक प्रस्तुति देखाएका थिए । विकास निर्माण, कृषि, पशुपंक्षी र पर्यटनसम्बन्धी झल्को दिनेगरी तस्बिरसहित झाँकी देखाइएको थियो । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्षलगायत उच्च पदस्थत व्यक्तिहरू सहभागी थिए ।