मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ४ शनिबार ०७:४०:००
Read Time : > 2 मिनेट
अर्थ

निगमको २ अर्बको सम्पत्ति प्रयोगविहीन

Read Time : > 2 मिनेट
२०७६ असोज ४ शनिबार ०७:४०:००

नेपाल वायुसेवा निगमको करिब २ अर्बबराबरको सम्पत्ति प्रयोगविहीन  रहेको छ । निगमको कमजोर व्यवस्थापनका कारण जिन्सी सम्पत्तिहरूको उचित प्रयोग नभएको हो । नेपाल वायुसेवा निगम सुधार सुझाब कार्यदलको प्रतिवेदनअनुसार निगमसँग ३ अर्ब ६० करोड १५ लाख रुपैयाँबराबरको जिन्सी मौज्दात छ । तर, निगमले १ अर्ब ८० करोड ४४ लाख रुपैयाँबराबरको सम्पत्ति प्रयोग गर्न सकेको छैन । उक्त सम्पत्तिको तत्काल उचित व्यवस्थापन गर्न कार्यदलले सरकारलाई सुझाब दिएको छ । 

निगमसँग १ अर्ब ३ करोड ५० लाख रुपैयाँबराबरको बोइङ ७५७ का पार्टसहरू छन् । त्यस्तै, ६८ करोड ६४ लाख रुपैयाँबराबरका एमए ६० का र ९ करोड २८ लाख रुपैयाँबराबरको वाई १२ ईका पार्टस्हरू छन् ।

सरकारले गत साउन २२ मा वायुसेवा निगमको वर्तमान अवस्था, समस्या र सुधारका सुझाब पेस गर्न निगम सुधार सुझाब कार्यदल गठन गरेको थियो । कार्यदलले १ असोजमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाएको थियो ।

 ४० अर्ब ऋणमा छ निगम
 निगम सुधार सुझाब कार्यदलको प्रतिवेदनअनुसार निगमको दीर्घकालीन ऋण ४० अर्ब १३ करोड ३८ लाख रुपैयाँ छ । गत आवसम्म निगमको सञ्चित नोक्सानी ५ अर्ब २१ करोड ७६ लाख रुपैयाँ रहेको कार्यदलका संयोजक सुशील घिमिरेले बताए । 

निगम सुधार सुझाब कार्यदलको प्रतिवेदनअनुसार निगमसँग ३ अर्ब ६० करोड १५ लाखबराबरको जिन्सी मौज्दात छ । तर, निगमले १ अर्ब ८० करोड ४४ लाखबराबरको सम्पत्ति प्रयोग गर्न सकेको छैन

तीन दशकअगाडि किनेका पार्टपुर्जा अझै प्रयोग भएनन्
नेपाल वायुसेवा निगमले तीन दशकअगाडि खरिद गरेका पार्टपुर्जासमेत प्रयोग नगरेको पाइएको छ । बोइङ जहाजसँगै ठूलो मात्रामा पार्टपुर्जाहरू खरिद गरी स्टक राखिएका अधिकांश पार्टपुर्जा अहिले पनि सिलबन्दीमा नै रहेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । निगमसँग काठमाडौं नयाँ सडकमा रहेको १४ रोपनी र कार्यालय रहेको भवन, एयरपोर्ट सिनामंगलमा ४३ रोपनीलगायत २१ वटा स्थानमा जग्गा छ । तर, त्यसको उचित प्रयोग गर्न नसकेको कार्यदलले बताएको छ ।
  
क्षमताभन्दा कम उडान 
निगमले आफ्नो क्षमताभन्दा कम उडान गरेका कारण अपेक्षित आम्दानी गर्न नसकेको कार्यदलले बताएको छ । निगमसँग एयरबस ए २३० दुई थान छन् । जसले औसत १४ देखि १५ घन्टा उडान गर्न सक्ने भए तापनि १० देखि ११ घण्टासम्म मात्रै उडान भर्दै आएको छ । त्यस्तै, एयरबस ए ३३०–२०० दुई थान जहाज छन् । जसले दैनिक ८ देखि ९ घन्टा मात्रै उडान भर्दै आएका छन् । 

आवश्यकताभन्दा बढी कर्मचारी
नेपाल वायुसेवा निगममा आवश्यकभन्दा बढी कर्मचारी रहेको पाइएको छ । निगम सुधार सुझाब कार्यदलको प्रतिवेदनअनुसार निगममा अनावश्यक विभाग रहेको समेत पाइएको छ ।

पाँच वर्षदेखि घाटामा
नेपाल वायुसेवा निगमले उडाउँदै आएको एम–६० र वाइ–१२ ई विगत पाँच वर्षदेखि सञ्चालन घाटामा छ । उक्त जहाज खरिद गरेदेखि नै लगातार घाटामा रहेको निगमको तथ्यांकले देखाएको छ । विगत आठ महिनामा मात्रै उक्त जहाज सञ्चालनबाट ३३ करोड ४३ लाख रुपैयाँ निगमले घाटा व्यहोरेको छ । निगमको तथ्यांकअनुसार ०७५ साउनदेखि फागुनसम्म उक्त जहाजबाट निगमले सो रकमबराबरको सञ्चालन घाटा व्यहोर्नुपरेको हो ।

पाइलटको व्यवस्थापन हुन नसक्नु, उत्पादकले समयमा स्पेयर पार्ट उपलब्ध नराउनु, उपलब्ध भएका स्पेयर पार्ट महँगो हुनु, जहाजको बिमा शुल्क महँगो हुनु, नेपालको भौगोलिक अवस्थााका कारण उडानमा सिट खाली हुनुले सञ्चालन घाटा हुँदै आएको कार्यदलको प्रतिवदेनले देखाएको छ । 

महालेखा परीक्षकको तथ्यांकअनुसार उक्त जहाज सञ्चालनबाट निगमलाई आव ०७३/४ र ०७४/७५ मा ९१ करोडभन्दा बढी नोक्सानी भएको छ । एमए ६० बाट आव ०७४/७५ मा २४ करोड ८६ लाख खुद घाटा भएको थियो । वाइ १२ एबाट भने ८ करोड ९७ लाख रुपैयाँ घाटा भएको तथ्यांकले देखाएको छ । निगम उडाउँदै आएको ए ३२०–२०० पनि खरिद गरेदेखि निरन्तर घाटामा छ । 

ए३३०–२०० जहाज पनि पूर्ण क्षमतामा उडान हुन सकेको छैन । जसका कारण अपेक्षित आय हुन नसकेको कार्यदलको प्रतिवदेनले देखाएको छ । निगमले १२ भदौदेखि जापानको ओसाका सहरमा निगमको ए३३० ले उडान भर्न सुरु गरेको छ । तर,  सुरुदेखि नै यात्रुको आकर्षण कम रहेको र विविध समस्यामा अल्झेका कारणले उक्त उडानमाबाट मुलुक र निगमलाई अपेक्षित फाइदा पुग्न नसक्ने प्रतिवेदनमा उल्लेख छ ।