मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ३ शुक्रबार ०८:४५:००
Read Time : < 1 मिनेट
अर्थ

पेट्रोल खानीको चर्चा मात्रै, उत्खनन भएन

Read Time : < 1 मिनेट
२०७६ असोज ३ शुक्रबार ०८:४५:००

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा पेट्रोल खानी उत्खननमा राज्यले चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् । ०२८ मै खानी तथा भूगर्भ विभागले उत्खनन गर्दा बखरियामा ९५ प्रतिशत पेट्रोल भएको प्रमाणित भएको उनीहरूको भनाइ छ ।

दाङको तुलसीपुरबाट झन्डै १२ किलोमिटर दक्षिणमा रहेको बबई किनारको बखरियामा खानी भएको प्रमाणित भएपछि ०३० मा कार्यालय स्थापनाका लागि दुईवटा भवन निर्माण गरिएको थियो । तर, काम अघि नबढ्दा सो भवन अहिले जीर्ण बनेको छ । ०७२ मा भारतले नाकाबन्दी लगाएका वेला खानीबाट सञ्चालनको चर्चा चले पनि पुनः काम अघि बढ्न सकेको छैन । 

तत्कालीन राजा वीरेन्द्रले पनि गरे निरीक्षण
बखरियामा खानी पत्ता लागेपछि तत्कालीन राजा वीरेन्द्रले पनि सो ठाउँको अवलोकन गरेका थिए । ०३० को दशकमा साबिक दाङ फूलबारी–६ बखरियास्थित पेट्रोल खानी उत्खनन भइरहेको स्थानको निरीक्षण र अवलोकन गर्न राजा वीरेन्द्र बखरिया आएको स्थानीयको भनाइ छ । 

०२७ मा पेट्रोल खानी उत्खननमा सहयोगका लागि तत्कालीन गाउँ पञ्चायतका प्रधानपञ्च ईश्वरीप्रसाद उपाध्यायको आग्रहमा स्थानीय भूपाल बस्नेत र उनका बुबा नरबहादुर बस्नेतले आफ्नो जग्गा खानीको नाममा नामसारी गरेका थिए ।

त्यसपछि जापानबाट झिकाइएका प्राविधिकसँगै खानी तथा भूगर्भ विभागको टोलीले बखरियामा आएर उत्खननको काम सुरु गरेको थियो । करिब १५ सय फिट जमिनमुनि खन्दा खानी रहेको निष्कर्ष निकालिएको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन् । खानीका लागि आवश्यक संरचना निर्माण गरिए पनि नाटकीय ढंगले सबै काम रोकिएको थियो ।