मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एन्ड्रयु जे. ब्याकभिच काठमाडाैं
२०७६ असोज २ बिहीबार ०८:१०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

साउदी अरब अमेरिकाको मित्र होइन

अमेरिकाको सैन्य शक्ति एउटा अविश्वासिलो ‘मित्र’का लागि प्रयोग गर्नुअघि ट्रम्प प्रशासन निकै होसियार हुनुपर्छ

Read Time : > 2 मिनेट
एन्ड्रयु जे. ब्याकभिच काठमाडाैं
२०७६ असोज २ बिहीबार ०८:१०:००

सन् १९८७ मा एउटा इराकी युद्ध विमानले पर्सियन खाडीको गस्ती गरिरहेको अमेरिकी नौसेनाको ‘द स्टार्क’ नामको युद्ध जहाजमा आक्रमण गर्‍यो । ३७ नाविकको मृत्यु भएको आक्रमण दुर्घटना हो भन्ने सद्दाम हुसेनको भनाइलाई स्विकार्दै  अमेरिकी अधिकारीले यो घटनालाई लिएर इरानमाथि दबाब दिन प्रयोग गर्‍यो । यो प्रकरण इरान–इराक युद्ध बेस्सरी चर्किएको समयमा भएको थियो । यो घटना अहिले धेरैले बिर्सिइसकेको इरान र अमेरिकाबीचको छोटो समुद्री युद्धको कारण बन्यो । 

गत हप्ता साउदी अरबका दुई तेल प्रशोधन केन्द्रमा आक्रमण भयो । आक्रमणमा को जिम्मेवार छ भन्ने हालसम्म यकिन भएको छैन, तर अमेरिकी अधिकारीले आक्रमणमा इरानको हात भएको आरोप लगाइसकेका छन् । यसले दुई देशबीच हिंसात्मक द्वन्द्वको सम्भावना पुनः बढाएको छ । तर, युद्धमा जाने निर्णय गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माथि उल्लेखित सन् १९८७ को घटना र त्यसको प्रभावबारे पुनरावलोकन गर्नु राम्रो हुन्छ । 

त्यसवेला, इरानी नौसेनामाथि आक्रमण गरेर अमेरिका अत्यन्त रक्तपातपूर्ण र अन्त्यहीनजस्तो देखिँदै गएको इरान–इराक युद्धमा संलग्न भएको थियो । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन युद्धमा इराकलाई सहयोग गर्दा अमेरिकाको स्वार्थअनुकूल हुने निष्कर्षमा पुगेका थिए । 

‘स्टार्क’ युद्ध जहाजमाथिको आक्रमण प्रकरणपछि, अमेरिकी र इरानी नौसैनिक फौज खाडी क्षेत्रमा मुठभेड गर्न थाले । यो मुठभेड दुई अत्यन्त असमान शक्तिबीच भएको थियो । त्यसैले छोटो समयमै १९८८ अप्रिलमै इरानी नौसेनाको लगभग समूल नष्ट भएर संघर्ष अन्त्य भएको थियो । यद्यपि, अमेरिकाले पनि यस जितबाट थोरै मात्र उपलब्धि हासिल गर्‍यो ।

मुख्यतः फाइदा सद्दामलाई भयो । इरानसँगको युद्ध रोकिएको अवस्थामा अमेरिकाको तत्कालीन ‘मित्र’ इराकले अमेरिकाकै रणनीतिक साझेदार कुवेतमाथि आक्रमण गरेर ‘शत्रु’मा रूपान्तरण भयो ।  

सन् १९८८ मा इरानसँगको मुडभेड पाठ सिकाउने घटना बन्यो । त्यसयताका प्रत्येक अमेरिकी प्रशासनमा सैन्य शक्तिको प्रत्यक्ष वा अप्रत्यक्ष प्रयोगले खाडी क्षेत्रमा स्थायित्व पुनस्र्थापना हुन्छ भन्ने भ्रम छ । तर, खासमा, यसको उल्टो  भइरहेको छ । अस्थिरता दीर्घकालीन समस्या बनेको छ । त्यस क्षेत्रमा सैन्य नीति र वास्तविक अमेरिकी स्वार्थबीचको सम्बन्ध छुट्याउन थप कठिन बन्दै गएको छ । 

सन् २०१९ मा आइपुग्दा सैन्य हस्तक्षेप सम्बन्धमा लगभग पूर्णतः स्थापित यो झुकावले अमेरिकालाई पुनः अर्को छद्म द्वन्द्वमा ल्याइपुर्‍याएको छ । सन् २०१५ देखि जारी यमनको गृहयुद्धले त्यस देशलाई तहसनहस गरिदिएको छ । यो विकराल द्वन्द्वको एक पक्षलाई साउदी अरबले सहयोग गर्छ भने अर्को पक्षलाई इरानले । 

यमन युद्धको चार वर्षमा ७० हजारको ज्यान गइसकेको छ भने १ करोड ८० लाख यमनी भोकमरीको जोखिममा छन् । यस्तो क्षतिको तुलना गर्दा यो द्वन्द्वमा अमेरिकी स्वार्थ नगन्य मान्न सकिन्छ । एकपटक पुनः सन् १९८० को दशकमा जस्तै इरानको दानवीकरण सुरु भएको छ । अमेरिकी नीति खराब मात्र होइन, अनैतिक भन्न सकिने खालका छन् ।  

मैले यमन युद्धमा वासिङ्टन गलत पक्षको साथमा उभिएको छ भन्ने खोजेको होइन । मेरो विश्वासमा कुनै पक्ष पनि समर्थनको लायक छैनन् । इरानलाई अमेरिकाको ‘शत्रु’ मान्न सकिएला । तर, साउदी अरब पनि ‘मित्र’ होइन । साउदी अरबले अमेरिकामा निर्माण भएको हतियारमा जति नै अर्ब डलर खर्च गरे पनि यो यथार्थ बदलिँदैन । 

अमेरिकी नीतिनिर्माता वृत्तमा के बुझाइ छ भने पर्सियाली खाडी र अन्य जहाँ भए पनि अमेरिकाले कुनै न कुनै एक पक्ष लिनुपर्छ । यो बुझाइ पटक–पटक संकटको स्रोत बनेको छ । साउदी अरब र इरानबीचको बढ्दो प्रतिद्वन्द्वले खाडी क्षेत्र थप अस्थिर बन्ने खतरा बढेको छ । तर, संघर्ष सुरु भएमा अमेरिकालाई एक वा अर्को पक्षको मूखर्तामा काँध थापिदिनुपर्ने कुनै बाध्यता छैन । 

सन् १९८० को दशकमा अमेरिकाले इराकलाई युद्धमा सघाउनु रणनीतिक अल्पदृष्टि साबित भयो । यसले थप समस्या सिर्जना गर्‍यो । त्यसले एकातर्फ अत्यन्त महँगो युद्धको शृंखला सुरु गरायो भने अर्कोतर्फ यसबाट अमेरिकाले भने नगन्य उपलब्धि हासिल गर्‍यो । आज साउदी अरबलाई उसको निकृष्ट युद्धमा सघाउनु पनि कम अल्पदृष्टि होइन । 

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
एन्ड्रयु जे. ब्याकभिच क्विन्ची इन्स्टिच्युट फर रेस्पोन्सिबल स्टेटक्राफ्टका निर्देशक हुन् ।