मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १ बुधबार १०:५६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

इन्टरनेटको लत : कम उमेरमै मेरुदण्डको समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १ बुधबार १०:५६:००

डा. गौरव ढकाल स्पाइन सर्जन राष्ट्रिय ट्रमा सेन्टर

५५ वर्षको उमेरपछि ढाड दुख्ने समस्या देखिनुलाई सामान्य मानिन्छ । उमेर बढ्दै जाँदा शारीरिक समस्या, रोगको प्रभाव आदिले मेरुदण्डमा समस्या देखिन सक्छ । तर, हिजोआज बालबालिका नै गर्दन तथा ढाड दुख्ने समस्या लिएर अस्पताल धाउने गरेका छन् । बालबालिकामा मेरुदण्डको समस्या देखिनुको कारणमध्ये मोबाइल तथा कम्प्युटरको लत प्रमुख हो । 

के हो ब्याकपेन ?
मेरुदण्डको हड्डी, मुख्य नसा, स्पाइनल नर्भ, डिस्क, लिगामेन्ट र मांसपेशी गरी विभिन्न हड्डीले ढाड बनेको हुन्छ । यीमध्ये कुनै पनि भागमा हुने दुखाइ नै ढाड दुख्नु हो । यसका विभिन्न कारण छन्, जस्तै चोटपटकबाट मेरुदण्ड भाँच्चिनु/चिरिनु, नसा च्यापिनु, जोर्नीमा जन्मजात समस्या हुनु आदि । चोटपटक लाग्दा, बसाई नमिलेरलगायत विभिन्न कारणले हड्डीको बीचमा रहेको डिस्क बाहिर आउने गर्छ । त्यसपछाडिको भागमा गएर नसा च्यापिने हुन्छ, जसलाई सियापिका भनिन्छ । यस्तै, मेरुदण्डमा हुने विभिन्न संक्रमणका कारण पनि दुखाइ निम्तिन्छ ।

ब्याक्टेरियल संक्रमण, टिबी, ट्युमर र क्यान्सर पनि ढाड दुखाइका कारण हुन् । ढाड दुख्ने समस्यालाई मुख्यतया दुई किसिममा विभाजन गरिएको छ, मेकानिकल ब्याकपेन र पोस्चुगल ब्याकपेन । ढाड दुख्नुको मुख्य कारण गलत तरिकाले काम गर्नु वा बस्नु नै हो । शरीरको पोस्चर नमिल्दा मांसपेशी खुम्चिन्छ, जसले गर्दा दुखाइ हुने गर्छ । खासगरी बसाइ नमिल्दा र लामो समयसम्म निहुरिँदा गर्दनको मांसपेशीमा दबाब पर्छ ।

 कुर्सीमा बसेर लामो समयसम्म काम गर्नेमा ढाड दुख्ने समस्या धेरै देखिन्छ । एउटै पोजिसनमा बस्दा पछाडिको मांसपेशी एकदमै थाकको हुन्छ । मोबाइल वा कम्प्युटरमा लामो समय झुन्डिरहँदा यस्तो समस्या देखिन्छ । अप्ठ्यारो गरेर बस्दा मांसपेशी दुखेर ढाडमा समस्या हुन्छ भने त्यो पोस्चुुगल ब्याकपेन हो ।

समाधान र रोकथाम 
इन्टरनेटको लत बालबालिका तथा युवापुस्तामाझ घातक सिद्ध हुँदै गइरेहको छ । उनीहरूमा मेरुदण्डमा मात्रै समस्या नभई अन्य शारीरिक तथा मानसिक असर पनि देखापर्न थालेका छन् । खासगरी, किशोर किशोरी र बालबालिकामा स्क्रिन एडिक्सनको समस्या देखिन थालेको छ । जसले गर्दा सिर्जनशीलता मर्ने, व्यवहारमा परिवर्तन आउने, जिद्धी हुने, डिप्रेसनलगायत जटिलता आउँछन् । 

त्यसैले, लामो समयसम्म मोबाइल प्रयोग गर्नुहुँदैन । बालबालिकालाई धेरैबेरसम्म मोबाइल हेर्न दिनुहुँदैन । कम्प्युटरमा काम गर्दा पोस्चर मिलाउनुपर्छ । एकोहोरो रूपमा लामो समय काम गर्नेभन्दा पनि केही समयको अन्तरमा उठेर हिँड्ने र फ्रेस हुने गर्नुपर्छ ।

ढाड दुखेमा सुरुमै उपचार गर्नुपर्र्छ । सुरुवाती चरण अर्थात् एक्युट पेनलाई सामान्य औषधि र फिजियोथेरापीबाट निको पार्न सकिन्छ । तर, निरन्तर ढाड दुखिरहने समस्या अर्थात् क्रोनिक पेनको उपचारका लागि शल्यक्रिया नै गर्नुपर्ने हुन सक्छ । क्रोनिक ब्याकपेनले अन्य स्वास्थ्य समस्या तथा मानसिक असर समेत निम्त्याउँछ । तसर्थ, ब्याकपेनको उपचार सुरुमै गर्नु राम्रो हुन्छ ।