Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नारायणप्रसाद शर्मा 
२०७५ पौष २४ मंगलबार ०९:४७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

क्रिप्टोकरेन्सीको विश्वसनीयता र वैधानिकता

Read Time : > 2 मिनेट
नारायणप्रसाद शर्मा 
२०७५ पौष २४ मंगलबार ०९:४७:००

क्रिप्टोकरेन्सी दुई अंग्रेजी शब्द जोडिएर बनेको छ । क्रिप्टोको अर्थ गुप्त हुन्छ भने करेन्सी भनेको मुद्रा हो । अतः क्रिप्टोकरेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी)द्वारा सुरक्षित भर्चुअल मुद्रा हो । सिक्का र नोटको जस्तो भौतिक अस्तित्व नरहने भएकाले यसलाई छुन, पट्याउन वा खल्तीमा राख्न सकिँदैन । यसमा कारोबारलाई सुरक्षित राख्न, तिनलाई रुजु गर्न र नयाँ मुद्रा निष्कासन गर्न संकेताक्षरको सहारा लिइन्छ । क्रिप्टोकरेन्सी डाटाबेसमा राखिएका ती सीमित प्रविष्टि (इन्ट्री) हुन्, जसलाई खास पूर्वसर्त पूरा नगरीकन कसैले पनि फेर्न वा बदल्न सक्दैनन् ।

इतिहास र काम गर्ने तरिका
सन् १९९० को दशकमा विद्युतीय मुद्रा बनाउन विभिन्न प्रयास भए । फ्लुज, बिन्ज र डिजिक्यासजस्ता उपकरण बजारमा देखिए । तर, कुनै पनि टिक्न सकेनन् । ठगी, वित्तीय समस्या र कम्पनीका कर्मचारी एवं तिनका मालिकको द्वन्द्वका कारण तिनीहरू जसरी आए, त्यसैगरी बिलाए । यी सबै प्रणालीले विश्वसनीय तेस्रो पक्षको ढाँचा अपनाएका थिए । यी विद्युतीय मुद्रा बनाउने कम्पनीहरूले नै कारोबारहरूलाई रुजु र सहजीकरण गर्थे । तर, यिनले प्रयोगकर्ताको मन जित्न सकेनन् । 

यसैबीच, सन् २००९ को प्रारम्भमा सातोसी नाकामोतो (छद्म नाम)ले बिटक्वाइनको आविष्कार गरे । यसमा प्रत्येक उपभोक्ता वा प्रयोगकर्ताले नै आफ्नो कारोबार र मौज्दातको हिसाब राख्नुपर्छ । यसका लागि ब्लकचेन नामक कारोबारको एक सार्वजनिक खाता प्रयोगमा ल्याइन्छ । यसमा सो नेटवर्कमा भएका सबै कारोबारका जानकारी उक्त नेटवर्कका सदस्य सबैलाई हुन्छ । अतः नेटवर्कभित्रका सबैले एकअर्काको ब्यालेन्स सहजै हेर्न पाउँछन् । 

प्रत्येक कारोबारमा एउटा फाइललाई प्रेषक र प्रापकका सार्वजनिक चाबीमार्फत तोकिएको मूल्यका भर्चुअल सिक्काको आदान–प्रदान गरिन्छ । प्रेषकले आफ्नो व्यक्तिगत चाबीद्वारा यो कारोबारलाई रुजु वा सहीछाप पनि गर्नुपर्छ । अन्ततः त्यो कारोबारलाई नेटवर्कभर प्रसारण गरिन्छ । कारोबार र मौज्दातको वैधानिकतामा सबै सहभागीहरू विश्वस्त भएपछि मात्र क्रिप्टोकरेन्सी नेटवर्क क्रियाशील हुन्छ । 

के–के गर्न सकिन्छ क्रिप्टोकरेन्सीबाट ?
पश्चिमा मुलुकमा ठूला अनलाइन विक्रेतादेखि साना स्थानीय पसल, बार र रेस्टुरेन्टमा पनि बिटक्वाइन चल्न थालिसकेको छ । त्यस्तै होटेल, उडान, गहना, कम्प्युटर आदिको बिल र कलेजको फी तिर्नसमेत बिटक्वाइन चल्न थालिसकेको छ । बिटिफाई र ओपनबजारजस्ता केही अनलाइन सपिङ साइटले केवल क्रिप्टोकरेन्सी मात्र स्वीकार गर्छन् । केही मुलुकमा पिज्जाहट, केएफसी र सबवेजस्ता विश्वव्यापी फुड चेनले समेत बिटक्वाइनबाट भुक्तानी स्वीकार्न थालेका छन् । किनमेलका अतिरिक्त क्रिप्टोकरेन्सीलाई लगानी गर्नमा समेत प्रयोग गर्ने गरिएको छ ।

यद्यपि क्रिप्टोकरेन्सीमा राखिने पैसा एक जोखिमपूर्ण लगानी हो । तिनको बजारभाउ प्रत्येक हप्तामा तल–माथि भइरहन्छ । यसको नियमन नभएको हुँदा कतिपय मुलुकमा यसलाई अवैध घोषणा गर्ने डर पनि हुन्छ । क्रिप्टोकरेन्सीको एक्सचेन्ज ह्याक हुन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । यद्यपि क्रिप्टोकरेन्सीमा लगानी गर्न चाहनेका लागि बिटक्वाइन नै सबैभन्दा विश्वासिलो र लोकप्रिय माध्यम बनेको छ ।

के हो माइनिङ ?
बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी उत्पादन गर्ने प्रक्रिया नै माइनिङ वा उत्खनन् हो । कम्प्युटरको माध्यमबाट जटिल क्रिप्टोग्राफिक पजलहरू हल गरेर माइनरहरूले कारोबारलाई प्रमाणित मात्र गर्दैनन्, ब्लकचेन नामक सार्वजनिक खातामा त्यसको अभिलेख पनि राख्छन् । कुनै क्रिप्टोकरेन्सी जति लोकप्रिय बन्छ, त्यति नै धेरै मानिसहरूले त्यसलाई माइनिङ गर्न खोज्छन् र यो प्रक्रिया अझ कठिन बन्दै जान्छ । कम्प्युटरबाट पजलहरू हल गरेर विद्युतीय मुद्रा वा क्रिप्टोकरेन्सी उत्पादन गर्ने काम नै माइनिङ हो । 

बिटक्वाइनको नेटवर्क यसरी डिजाइन गरिएको छ कि एकपटकमा २ करोड १० लाख क्वाइन (सिक्का) मात्र प्रचलनमा रहन सक्छन् । अप्रिल २०१८ सम्ममा कुल १ करोड ७० लाख बिटक्वाइन माइन गरिसकिएकाले अब ४० लाख जति बिटक्वाइन मात्र माइन गर्न वा निकाल्न बाँकी छ । त्यसपछि नेटवर्कको प्रोटोकल नै बदलेर थप माइनिङ गर्ने सुविधा नजोडेसम्म माइनिङको भविष्य अनिश्चित बन्न सक्छ । 

क्रिप्टोकरेन्सी र वैधताको प्रश्न 
क्रिप्टोकरेन्सीको प्रचलन विश्वभर बढ्दै गएसँगै कर प्रशासन र कानुन कार्यान्वयनकर्ताहरूमाथि यसलाई बुझ्न एवं विद्यमान कानुनी ढाँचामा तिनलाई कता फिट गर्न सकिन्छ भन्ने चुनौती थपिएको छ । विकेन्द्रित, स्वनिर्भर र कुनै भौतिक स्वरूप वा आकारमा प्रकट नहुने एवं कुनै एकल निकायले नियन्त्रण पनि गर्न नसक्ने बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीको आगमनले कारोबार र भुक्तानीका परम्परागत प्रणालीमा हलचल ल्याएको छ । नियामकहरूको चिन्ता यिनको प्रयोग अवैध वस्तु वा सेवाको प्राप्ति र कर छली वा मुद्रा निर्मलीकरणजस्ता क्रियाकलापमा हुन्छ कि भन्ने छ, जुन चासो आफैँमा जायज छ । 

क्रिप्टोकरेन्सीको वैधानिकताका बारेमा देशपिच्छे अलग अभ्यास पाइन्छ । नेपाल, भारत, बंगलादेश, बोलिभिया, इक्वेडर, भियतनाम, कीर्गिकिस्तानलगायतका मुलुकमा बिटक्वाइनलगायत सबै डिजिटल मुद्राहरू अवैध छन् । जोर्डन, थाइल्यान्ड र रुसजस्ता मुलुकले आंशिक स्वीकृति दिएको छ । अमेरिका, क्यानडा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, चिली, हङकङ, जापान, दक्षिण कोरिया, इजरायल, टर्की, दक्षिण अफ्रिका, मलेसिया, सिंगापुर, फिलिपिन्स, अस्टे«लिया, न्युजिल्याण्ड तथा युरोपका सबैजसो मुलुकमा बिटक्वाइनलाई अनुमति एवं मान्यता दुवै प्राप्त छ ।