मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असोज १ बुधबार ०७:११:००
Read Time : > 5 मिनेट
राजनीति

चित्रबहादुरविना संसद् बिरसिलो

Read Time : > 5 मिनेट
२०७६ असोज १ बुधबार ०७:११:००

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी जब संसद्ममा बोल्थे, सत्तापक्षका सांसद पनि एकोहोरिएर सुन्थे । प्रतिपक्षी सांसद पनि रमाई–रमाई उनैलाई ध्यान दिन्थे । किनभने केसी त्यस्ता नेता थिए, जो सरकारको आलोचनामा राजनीतिक जार्गन र शास्त्रीय शब्दावलीको प्रयोग गर्दैनथे । बरु जनशैलीमा ठट्टा गर्नु, उखानटुक्का हालेर व्यंग्य गर्नु र लोक आहान सुनाएर कटाक्ष गर्नु नै केसीको पहिचान बनेको थियो । तर, पछिल्ला दिनमा संसदीय परिदृश्यमा चित्रबहादुर केसी गायब छन् ।

कता व्यस्त छन् त चित्रबहादुर ? ‘म पार्टीकै काममा सक्रिय छु, पार्टीले दिएका जिम्मेवारीमा काम गरिरहेको छु । अहिले सांगठनिक काममा बढी लाग्नुपरेको छ,’ उनले भने । संसद्् र राजधानीका डबलीहरूमा देखिन छाडेका चित्रबहादुर पार्टी संगठन निर्माणमा लागेको दाबी गर्छन् । केही दिनपछि उनी पार्टीकै काममा भारत जान लागेका रहेछन् । 

चित्रबहादुरले एक दशकभन्दा धेरै समय संसद्मा बिताए । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल संसद्मा चित्रबहादुरको उपस्थिति रोचक हुने स्मरण गर्छन् । खनाल केसीसँगै बाग्लुङमा एक समय सँगै शिक्षण गर्थे । संघीयताको विरोध गर्दा होस् या राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा भाषण सुरु गर्दा उखान टुक्कासहित ग्रामीण किसानको लवजमा केसी बोल्दा सबैकोे ध्यान खिचिन्थ्यो । तर, अहिले भने उनी संसद्, सार्वजनिक कार्यक्रम र मिडियामा कम देखिएका छन् । उनले संसद्मा बोलेका भाषणहरूको संकलन ‘संसद्मा एक दशक’ नाम पुस्तकमा प्रकाशित छ ।

उमेरले ८० टेकेका केसीको खटाई युवा–तन्नेरीको भन्दा कम छैन । शिक्षामन्त्री तथा नेकपा स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल केसीको जनजीवनलाई सम्बोधन गर्ने शैली झलझली याद आउने गरेको बताउँछन् । ‘उहाँ (चिबहादुर केसी) संसद्मा हुँदा आफ्नो छुट्टै पहिचान थियो,’ पोखरेलले भने, ‘सरकारको विरोध आफ्नै लवजमा गर्नुहुन्थ्यो ।’ पोखरेल र केसी नेकपा (एकताकेन्द्र मसाल)मा केही वर्ष एउटै पार्टीमा पनि काम गरे । 

घरबेटी तीनवटा फेरिए डेरावाला उही !
केसी धेरैका नजरमा इमानदार र स्पष्ट वक्ताका रूपमा चिनिन्छन् । काठमाडौं घट्टेकुलोमा बस्दै आएका केसी गृहजिल्ला बाग्लुङ आउने–जाने बरोबर गर्दै आएका छन् । ‘घट्टेकुलोको एउटै घरमा २० वर्षदेखि डेरा गरी बस्दै आएको छु, बस्दाबस्दै मेरा तीनवटा घरबेटी फेरिए,’ केसीले भने, ‘तर, डेरा सर्नुपरेको छैन । अहिलेसम्म कुनै समस्या छैन ।’  चित्रबहादुरलाई चिन्ने धेरै बाग्लुङेले उनलाई आदरका साथ माइलादाइ भनेर सम्बोधन गर्छन् । पुरानो पुस्ताका माइलादाइ नयाँ पुस्ताबीच चाहिँ माइलाबा नामबाट परिचित छन् । 

१९ वर्ष भूमिगत, १५ वर्ष  बाग्लुङ जिल्ला इन्चार्ज 
चित्रबहादुर पुराना पुस्ताका नेता हुन् । ०१४ सालदेखि कम्युनिस्ट पार्टीको सदस्य लिई विद्यार्थी राजनीतिमा उनी जोडिएका थिए । उनले ०२६ सालदेखि पूर्णकालीन राजनीति गरे । ०२९ सालदेखि सार्वजनिक रूपमा पार्टीको काम गर्न थालेका उनी ०३१ सालदेखि भूमिगत भए । 

केसी ०४६ सालको जनआन्दोलनपछि भूमिगत जीवनबाट सार्वजनिक भए । पञ्चायतभरको ३० वर्षमध्ये १९ वर्षसम्म उनी भूमिगत थिए । ‘०४६ सालको जनआन्दोलनपछि खुलामञ्चमा विजय जुलुस आयोजना भएको थियो । त्यही कार्यक्रममा मनमोहन अधिकारी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालगायत नेता सहभागी हुनुहुन्थ्यो,’ स्मरण गर्दै केसीले भने, ‘विजय जुलुसको आमसभामा हाम्रो पार्टीका तर्फबाट मलाई पठाइएको थियो । त्यही कार्यक्रममा सार्वजनिक भएको थिएँ ।’

केसीले २०२१ सालमा बाग्लुङ जिल्लामा कम्युनिस्ट पार्टीको जग बसालेका थिए । ‘त्यसवेला कम्युनिस्टबारे धेरैलाई थाहा थिएन, बाग्लुङमा कम्युनिस्टको एकजना नेता–कार्यकर्ता थिएन,’ केसीले भने, ‘मैले नै कम्युनिस्ट पार्टी खोलेर आफैँ सेक्रेटरी भएर जग बसालेँ ।’ बाग्लुङ जिल्लाको पार्टीको ०२१ सालदेखि १५ वर्षसम्म सेक्रेटरीको जिम्मेवारी केसीले सम्हाले । केसीकै विषयमा प्युठानका रामबहादुर बुढाले स्नातकोत्तर तहको शोधपत्र लेखेर छापेका छन् । 

तीन कार्यकाल सांसद 
पहिलोपटक ०५१ सालमा बाग्लुङ २ बाट निर्वाचन लडेका केसी पराजित भए । दोस्रोपटक ०५६ मा विजयी भए । पहिलो संविधानसभामा  प्रत्यक्ष निर्वाचित भएका उनी दोस्रो संविधानसभामा समानुपातिकबाट चुनिए । उनी तीन कार्यकालमा १४ वर्षसम्म सांसद रहे । ३ असोज २०७२ मा संविधान घोषणा भएपछि केपी ओली नेतृत्वको सरकारमा केसी उपप्रधानसहित सहकारी तथा गरिबी निवारणमन्त्री भए । संविधान घोषणा हुँदा भारतले नाकाबन्दी गरेको भन्दै राष्ट्रिय एकताका लागि एकढिक्का हुन सरकारमा गएको उनको माउपार्टी नेकपा मसालको तर्क छ । 

पण्डित परिवारमा जन्मेर कम्युनिस्ट
चित्रबहादुर गल्कोटे राजाका पण्डित परिवारमा जन्मेका थिए, उनका बुबा गल्कोटे राजाको दरबारमा पण्डित थिए । केसीका बुबाले पाँच श्रीमती विवाह गरेका थिए । पहिलोबाट कुनै सन्तान भएनन् । उनी दोस्री श्रीमतीका सन्तान हुन् । उनको जन्म ३० माघ १९९७ मा भएको थियो ।

परिवारमा खानलाउन खासै समस्या नभए पनि भारी ओसारपसारचाहिँ परिवारभित्र पनि गर्नुपरेको उनी सम्झन्छन् । बाग्लुङबाट पोखरा नुनतेलको भारी खेप्न आएका बखत उनी काठमाडौं छिरेका थिए । काठमाडौंमा गल्कोटे राजाको घरमा चार महिना उनले भाँडासमेत माझेका थिए । उनको पढाइ पनि काठमाडौंमै सुरु भएको थियो । भाँडा माझ्न छाडेपछि आमाले पढ्न भनेर गरगहना बेचेर पैसा पठाएकी थिइन् । उनले नक्सालस्थित नन्दकेश्वरी रात्रि विद्यापाठशालामा पढेका थिए । 

‘प्युठानका सिद्धिमानसिंह जिसीसँग स्कुलमा भेट भयो, उहाँ कम्युनिस्ट पार्टीमा हुनुहुँदो रहेछ,’ केसीले भने, ‘उहाँकै प्रेरणाले कम्युनिस्ट पार्टीमा लागे ।’ केसी ०१७ सालमा एसएलसी उत्तीर्ण गरेलगत्तै बाग्लुङ फर्के । काडेवास स्कुलमा हेटमास्टर भएर डेढ वर्ष पढाए । ०१९ सालमा आइए पढ्न त्रिचन्द्र क्याम्पसमा भर्ना भए । पद्मोदय स्कुलमा ९ महिना पढाए । पार्टीकै काम गर्ने भन्दै केसी जागिर छोडी ०२१ सालमा बाग्लुङ फर्के । ०२१ सालमा बाग्लुङमा कम्युनिस्ट पार्टीको संगठन बनाए । ०२१ देखि ०३६ सालसम्म बाग्लुङ जिल्ला सेक्रेटेरी भए । 

२४ वर्षदेखि  जनमोर्चाको अध्यक्ष 
नेकपा मसालले ०४४ सालमै अखिल नेपाल राष्ट्रिय जनमोर्चा बनाएको थियो । त्यसको नेतृत्व भूमिगत रूपमा केसीले नै सम्हालेका थिए । ०५१ सालमा संसदीय निर्वाचनलाई उपयोग गर्ने भन्दै राष्ट्रिय जनमोर्चा बनाएपछि उनी अध्यक्ष भए । निरन्तर २४ वर्षदेखि उनले त्यस मोर्चाको नेतृत्वमा छन् । मसालमा उनी हाल केन्द्रीय समितिमा छन् । पार्टी अहिले पनि भूमिगत छ । महामन्त्री र प्रवक्ताबाहेक सबै संरचना मसालको भूमिगतै छ ।

‘केसीका टुक्काले सदन रोचक हुन्थ्यो’
 झलनाथ खनाल,पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता नेकपा

चित्रबहादुर केसी बाग्लुङमा पार्टी सेक्रेटरी हुनुहुन्थ्यो । त्यहाँ उहाँले पढाउनुहुन्थ्यो, मैले पनि उहाँ हेडमास्टर भएकै स्कुलमा पढाएँ । म विद्यार्थी आन्दोलनमा लागेको भरभराउँदो युवा थिएँ । उहाँहरूको पुष्पलालसँग मतभेदहरू बढ्दै गएका थिए ।

म कम्युनिस्ट आन्दोलन एक हुनुपर्छ भन्ने मत राख्थेँ । उहाँहरूले भने एउटै कम्युनिस्ट पार्टीमा बस्न नसक्ने गरी जिल्लामा संगठन बनाइसक्नुभएको रहेछ ।

हामी एउटै पार्टीमा नभए पनि मेरो उहाँप्रति उच्च सम्मान छ । उहाँ कम्युनिस्ट आन्दोलनका इमानदार, नैतिकवान् र वैचारिक नेता हुनुहुन्छ । मार्क्सवाद , क्रान्ति र पार्टीप्रति दृढ नेता हुनुहुन्छ ।

उहाँ संसद्मा हुँदा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्थ्यो, जनजीविकाका सवालमा होस् वा अन्य कुनै विषयमा बोल्दा होस्, उहाँले आफ्नो भनाइ उखानटुक्काबाट सुरु गर्नुहुन्थ्यो । उखानटुक्काबाट भाषण सुरु गर्दा एक किमिसको रोचकता हुन्थ्यो । अहिले संसद्मा उहाँको अभाव खट्केको छ । 

संसद्मा चित्रबहादुर चाहिन्थे
 कृष्ण पोखरेल

चित्रबहादुर केसी नेपालको कम्युनिस्ट आन्दोलनमा संसद्मा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेताका रूपमा लिन्छु । उनी अहिले पार्टीको प्रतिनिधित्व गरेर संसद्मा छैनन् । संसद्मा नभए पनि पार्टी राजनीति र आफ्नो मोर्चा नेतृत्व गर्दै राजनीतिमा सक्रिय छन् । संसद्मा हुँदा उनले आफ्नै छुट्टै पहिचान बनाएका थिए ।

आफ्नो पहिचान झल्कने गरी आफ्नै लयमा बोल्थे । धेरै कम्युनिस्ट नेताले कम्युनिस्ट जार्गन प्रयोग गर्छन् । कतिपय अवस्थामा ती शास्त्रीय सूत्रहरू सामान्य मान्छेले समेत बुझ्न सक्दैनन् । ती कम्युनिस्ट जार्गनहरू पनि उनी नेपाली सन्दर्भमा प्रयोग गरेर बोल्थे, जसले नेपाली परिवेश र आफ्नोपन झल्किने गथ्र्यो ।

नेपाली जनजीवनका समस्यालाई त्यहीँकै भाषाशैलीमा टपक्कै टिपेर राख्ने संसदीय अभ्यासका प्रखर वक्ता हुन्– चित्रबहादुर । संसद्मा आफ्ना कुरा राख्दा होस् वा जीवनशैली र व्यवहारमा एउटा कम्युनिस्ट नेतामा हुनुपर्ने सबै गुण उनमा पाइन्थ्यो । संसद्मा केसीको जुन आफ्नै खालको पहिचान थियो, त्यो स्थान कसैले लिन्छ जस्तो लाग्दैन । त्यही शैलीसहितको अर्को नेता संसद्मा मैले देखेको छैन ।

संसद्भित्र उनको अभाव खट्किरहनेछ । त्यो अभाव संसद्ले मात्र होइन, आमजनताले समेत महसुस गर्नेछन् । मोहनविक्रम सिंहजीको पार्टीको जुन लाइन हो, त्यसको संसदीय मोर्चाको प्रमुखमा केसी नै छन् । त्यो मोर्चाबाट अहिले प्रतिनिधित्व गर्ने दुर्गा पौडेल संसद्मा भएको–नभएको वा कतै उपस्थिति देखिँदैन । तर, केसीको आफ्नो व्यक्तित्व प्रस्तुत गर्ने शैली सबै कुराले अरू नेताभन्दा फरक परिचय बनेको थियो, जसले गर्दा उनी बोल्दा मिडियाको मात्रै होइन, अरूको पनि ध्यान खिच्थे । 

केसी व्यवहारमा पनि एकदमै सरल र इमानदार नेता हुन् । सांसद हुँदा पनि उनी ट्याम्पु चढेर संसद्मा जाने गर्थे । एकपटक त ट्याम्पुबाट लडेर घाइतेसमेत भएका थिए । एउटा सरल र सामान्य जीवनशैली अँगाल्ने नेताको पहिचान छ उनको । उनको जीवन व्यवहारमा कुनै देखावटीपना देखिँदैन । कतिपय कार्यक्रममा आफैँ प्रत्यक्ष भेटेको छु । भेटेर त्यही कुरा उनको सामुन्ने भनेको छु, तर आडम्बर र दम्भ पटक्कै देखिँदैन ।

संविधान घोषणा गरिँदा भारतले नाकाबन्दी लगाएपछि राष्ट्रवादी विचारका कारण नेकपा मसालको खुला मोर्चा राष्ट्रिय जनमोर्चा पनि सरकारमा सहभागी भयो, पार्टीको नीतिभित्र केसी उपप्रधानमन्त्री बने । त्यतिवेला संघीयताबारेको फरक मतलाई थाती राखेर केसी सरकारमा गएका थिए । कतिपय पार्टीहरू आफूलाई २४ क्यारेटका कम्युनिस्ट भन्छन्, तर व्यवहार एकदमै भिन्न हुन्छ । त्यस्तो प्रवृत्ति कतिपय सन्दर्भमा नेकपा मसालमा पनि देखिन्छ ।

मसाल कम्युनिस्ट विचारको एउटा स्कुलिङ मानिन्छ, त्यही स्कुलिङबाट निस्किएर पुष्पकमल दाहाल प्रचण्डजीहरू कहाँबाट कहाँ पुगिसके । तर, मोहनविक्रम सिंहमा वैचारिक जडसूत्रता अझै कायमै देखिन्छ, जसले पार्टीमा युवाको आकर्षण खासै देखिँदैन । आफूलाई शुद्ध बनाउन अरूसँग छोइछिटो गरेर टाढा बस्ने पार्टीको हबिगत यस्तै हुने देखिन्छ ।

चित्रबहादुर केसी भन्छन्– म त पार्टीकै काममा सक्रिय छु