मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १ बुधबार ०६:२६:००
Read Time : > 6 मिनेट
मुख्य समाचार

आकाशमा पनि नेताको अत्याचार

Read Time : > 6 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १ बुधबार ०६:२६:००

जनताबाट चुनिएका ‘ठूला नेता’ले सडक मात्रै होइन, आकाशसमेत खाली गराएर जनतालाई वेलावेला सास्ती दिइरहेका छन्

सबैभन्दा धेरै जहाज रोकाउने यादव र गच्छदार

शक्तिअनुसार प्रहरीका एसपीदेखि जनताबाट निर्वाचित मेयर, सांसद, मन्त्री हुँदै राष्ट्रपतिसम्मले जहाज ‘डिले’ गराउँछन् । हवाई सेवा प्रदायक कम्पनीका बीचमा जनप्रतिनिधिमध्ये उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदार जहाज डिले गराउनमा सबैभन्दा धेरै ‘बदनाम’ छन् । दुवैजनाले विराटनगर र जनकपुर विमानस्थलमा विमान धेरै पर्खाएका छन् । यादवले त ८ साउन ०७५ मा अन्तर्राष्ट्रिय उडान नै ४५ मिनेट रोकाएका थिए । थाइल्यान्ड जाने तयारीमा रहेका उनले पासपोर्ट भए/नभएको पनि ख्याल गरेनन् । जाने दिन मात्रै उनले हतारहतार पासपोर्ट बनाएर विमानस्थल पुग्दा ४५ मिनेट ढिलो भएको थियो । थाई एयरको विमानले उनलाई पर्खंदा त्यसमा रहेका बैंकक ट्रान्जिट भएका कैयौँ यात्रीको अर्को विमान छुटेको थियो । 

मन्त्री भट्टराईले ढिलो गर्दा जहाजभित्रै हुलहुज्जत

गत शनिबार नेपालगन्जबाट काठमाडौं फर्कन लागेका पर्यटनमन्त्री योगेश भट्टराईका कारण उडानमा ढिलाइ भएपछि जहाजभित्रै पनि हुलहुज्जत भयो । ६:४० मा उड्न तयार विमान मन्त्री भट्टराईले १६ मिनेट थप पर्खाए । त्यतिन्जेलसम्म यात्रुहरू आक्रोशित भइसकेका थिए । उनी विमानस्थल पुग्नेबित्तिकै ज्ञानेन्द्र शाहीलगायतका केही यात्रुले विमानबाहिरै उनलाई अपशब्द बोल्दै ढिलो आउनुको कारण माग गरे । भट्टराई केही नबोली जहाजभित्र पसे । तर, भित्रै गएर पनि त्यो समूहले भट्टराईलाई होहल्ला गर्दै अपमानित गर्‍यो । जसले गर्दा जहाज थप १० मिनेट ढिलो उड्यो । चर्को आलोचना भएपछि भट्टराईले सामाजिक सञ्जालमार्पmत माफी मागे, बुद्ध एयरले मन्त्री आइसकेपछि पनि थप १० मिनेट जहाजभित्रको हुलहुज्जतका कारण ढिलो भएको जनाएको छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले झन्डै आधा घन्टा रोकाए जहाज

१९ मंसिर ०७५ मा काठमाडौंबाट पोखरा जाने बुद्ध एयरको जहाजलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले करिब २५ मिनेट रोकाए । बिहान ११ः२० को  उडान तालिका रहेको विमानमा यात्रुहरू समयमै बसिसकेका थिए । तैपनि विमान उडेन । करिब २५ मिनेटपछि अध्यक्ष तिमिल्सिना दलबलसहित विमानभित्र पसे, जहाज पनि स्टार्ट भयो । बल्ल यात्रुहरूले थाहा पाए, उनकै लागि जहाज रोकिएको रहेछ । 

गणतन्त्रमा पनि राजतन्त्रमा जस्तै भिआइपी संस्कार

राष्ट्रपतिको सवारीका लागि ५७ मिनेट खाली गराइयो आकाश

गत ११ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा काठमाडौंको आकाश झन्डै एक घन्टा खाली गराइयो । जसले दिनभरिको उडान अस्तव्यस्त बन्यो । त्यो दिन चीनको ग्वान्जाओबाट आएको चाइना साउदर्न एयरलायन्सको फ्लाइट नं. सिजेड ६०६७ उडानले काठमाडौं प्रवेश गर्न अनुमति पाएन । सो जहाजले बाराको अमलेखगन्जदेखि ललितपुरको भट्टेडाँडा क्षेत्रमाथि लगातार पाँच फन्को लगाउनुपर्‍यो । राष्ट्रपतिको जहाजले सीमा कटेपछि मात्र चाइना साउदर्नले अवतरणको अनुमति पायो ।

त्यो मात्रै होइन, राष्ट्रपतिको एक उडानले आन्तरिक र बाह्य गरी दुई सय उडान प्रभावित भए । उड्नुपर्ने जहाज ‘डिले’ भए, आएका जहाजले आकाशमै चक्कर लगाउनुपर्‍यो । सिछुवान एयरलायन्सको उडान ३यू८७१९ ले त फन्को लगाएर पनि अवतरण गर्न पाएन । चीनको ल्हासाबाट काठमाडौं आइपुगेको जहाजलाई दक्षिण वीरगन्ज पुर्‍याएर फेरि काठमाडौंको आकाश हुँदै ल्हासा फर्काइयो । 

प्रधानमन्त्रीका हरेक अन्तर्राष्ट्रिय भ्रमणमा उडान/अवतरण प्रभावित
प्रधानमन्त्री केपी ओली कम्बोडियाबाट नेपाल फर्किने क्रममा गत १ जेठको साँझ नेपाली आकाश केहीबेर ठप्प पारिँदा एयर अरेबिया, फ्लाई दुबई, क्याथे ड्रागन, इत्तिहाद र कतार एयरवेजका यात्रुले आकाशमा फन्को लगाइरहनुपर्‍यो । त्यस्तै, विमानस्थलबाट हुने आन्तरिक उडान पनि प्रभावित भए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री केपी ओली गत १६ जेठमा दिल्ली जाँदा पनि ३० मिनेटका लागि नोटाम जारी गरियो । ओली जाने समयमा दिल्लीबाट आउँदै गरेको इन्डिगो एयरलाइन्सको जहाजले भने स्वाभाविक अवतरण पाएन । मकवानपुरको आमभञ्ज्याङदेखि बाराको निजगढबीचमा चार फन्को लगाएर मात्र सो जहाजले काठमाडौंमा अवतरण गर्न पायो । किनकि त्यतिञ्जेलसम्म प्रधानमन्त्री ओलीको जहाजले नेपालको सीमा काटिसकेको थियो । त्यस्तै, बैंककबाट काठमाडौं आउँदै गरेको थाई लायनको जहाजले पनि आमभञ्ज्याङदेखि बाराको गढीमाईबीचमा फन्को लगाउँदै प्रधानमन्त्रीका लागि मार्गप्रशस्त गर्‍यो ।

यात्रुलाई एक घन्टा कुराएका प्रधानमन्त्री ओलीले आफू आकाशमा आधा घन्टा होल्ड हुँदा सरकारी छानबिन समिति नै बनाए

७ फागुन ०७५ मा प्रधानमन्त्री केपी ओली श्री एयरलाइन्सको उडानमा काठमाडौंबाट धनगढी जाने कार्यक्रम थियो । ९एन–एएमए जहाज मध्याह्न १२ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका थियो । तर, प्रधानमन्त्री समयमा पुगेनन् । विमानभित्र यात्रुहरू छटपटाइरहँदा प्रधानमन्त्री प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममै थिए । ओली ढिला गरी पुगेपछि दिउँसो १ बजे मात्रै जहाज उडेको थियो । तर, यो घटनाको दुई सातापछि प्रधानमन्त्री ओली चढेको यती एयरलाइन्सको जहाज आधा घन्टा आकाशमा होल्ड हुँदा सरकारले छानबिन समिति नै गठन गर्‍यो । झापा आन्दोलन (सुखानी काण्ड)का अगुवा मारिएको दिन पारेर आयोजित कार्यक्रममा भाग लिन झापा गएका प्रधानमन्त्री २१ फागुनमा भद्रपुर विमानस्थलबाट काठमाडौं आउँदा उनको जहाज होल्ड भएको थियो । पर्यटन मन्त्रालयले तत्कालै सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनायो ।  भिभिआइपी चढेको थाहा हुँदाहुँदै किन जहाज होल्ड भयो भनेर सत्यतथ्य बुझेर आठ दिनभित्र रिपोर्ट बुझाउन समितिलाई निर्देशन दिइएको थियो ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल भन्छन्
भिआइपीलाई 
पर्खिनैपर्ने नियम छैन

नियममा भिआइपी वा सामान्य यात्रु कसैका लागि पनि उडान ढिला हुने गरी पर्खने भन्ने छैन । उडान नियमित तालिकामा हुनुपर्छ । टावरले अनुमति नदिई क्याप्टेनले जहाज उडाउन सक्दैन । भिआइपी उडानबारे टावरलाई जानकारी गराइएको हुन्छ र टावरले नै सोहीअनुसार उडान व्यवस्था गर्छ । कतिपय अवस्थामा थोरै समय पर्खेका वेला विमानस्थल र विमानभित्रै होहल्ला गर्ने छुट पनि कसैलाई हुँदैन । जहाजका कर्मचारीले त काउन्सिलिङ गर्ने मात्र हो, सुरक्षाको व्यवस्था गर्ने काम विमानस्थल प्रशासनको हो । नेपालगन्जको घटनाबाट सबैले पाठ सिक्न जरुरी छ ।

ट्राभल एजेन्सीले पनि रोक्छन् जहाज
भिआइपीहरूले मात्र होइन, ट्राभल एजेन्सीहरूले समेत वेलावेलामा जहाज ‘डिले’ गराउँछन् । आफूले समूहमा टिकट काटेका यात्रुहरू आउन ‘केही समय’ लाग्ने भन्दै उनीहरूले एयरलायन्सलाई ‘बार्गेनिङ’ गर्छन् । आफ्ना एजेन्ट भएका कारण एयरलायन्सहरू पनि केही हदसम्म उनीहरूको कुरा मान्न बाध्य हुन्छन् । 

बुटवलको सिद्धार्थ ट्राभल्स एसोसिएसन नेपालका अध्यक्ष सागर अधिकारीले अवस्था हेरेर विमान बढीमा १५ मिनेटसम्म रोकिएको अनुभव आफूसँग रहेको बताए । ‘एकजनाका लागि विमान रोकिँदैन, धेरैजना रहेको अवस्थामा ५ देखि १५ मिनेटसम्म एयरलायन्सले हाम्रो आग्रह मान्ने गरेको छ,’ उनले भने । कहिलेकाहीँ विमान उडानमा १०–१५ मिनेट ढिलाइ हुनु सामान्य भएको भैरहवास्थित बुद्ध एयरको स्टेसन म्यानेजर दर्शन घिमिरेले बताए ।

आफ्नो कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीको राजीनामा 

‘जनतालाई दुःख दिने अधिकार मलाई छैन’

गत मे महिनाको अन्त्यमा मेक्सिकोकी वातावरणमन्त्रीले आफ्नो कारणले ३८ मिनेट उडान ढिला भएको भन्दै राजीनामा दिएकी थिइन् । मन्त्री योसेफा गोन्जालेज ब्लांको समयमै विमानस्थल नपुगेपछि उड्न ठिक्क परेको विमान रोकिएको थियो । खासमा मन्त्रीले कम्पनीका एक उच्च अधिकारीलाई फोन गरेर विमान रोक्न लगाएकी थिइन् । जसका कारण उनको चर्को आलोचना भयो । लगत्तै उनले ट्विटरमार्फत माफी माग्दै राजीनामा दिएको बताइन् । ‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न, एकजना व्यक्तिको सुविधाका लागि सर्वसाधारण जनता समस्यामा पार्नुहुन्न,’ राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामापत्रमा योसेफाले लेखेकी छिन्, ‘तर, मेरो कारणले ३८ मिनेट जहाज ढिला भयो, यो गल्ती अक्षम्य छ, त्यसैले म राजीनामा दिन चाहन्छु ।’

भारतमा उड्डयनमन्त्रीले माग्नुपर्‍यो माफी


सन् २०१७ को नोभेम्बरमा तत्कालीन भारतीय पर्यटन राज्यमन्त्री केजे अल्फोन्स इम्फालबाट कोलकाता जाने क्रममा सोही विमानकी यात्रु निराला सिंहले र्‍याखर्‍याखती पारिन् । उनी कोलकाताबाट अर्को विमान चढेर पटना पुगी आफ्नो दाजुको अन्त्येष्टिमा सहभागी हुनुपर्ने थियो । तर, मन्त्रीका कारण अर्को उडान छुटेको भन्दै उनले अल्फोन्समाथि रिस पोखेकी थिइन् । यो भिडियो भाइरल भयो । पछि मन्त्रीले माफी माग्दै आफ्नो कारण नभई राष्ट्रपति आउने कार्यक्रमका कारण उडान प्रभावित भएको प्रतिक्रिया दिए । भारतमा यस्ता घटना बारम्बार हुने गरेका छन् । यसअघि सन् २०१५ को जुलाईमा गृहराज्यमन्त्री किरण रिजुजुलाई विमानमा चढाउन तीन यात्रुलाई ओराल्नुका साथै उडान ढिलाइ गरिएको थियो । मन्त्री रिजुजुले यसबारे आफूलाई थाहा नभएको बताएका थिए । त्यसै साता महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनविसलाई पर्खिंदा मुम्बईबाट अमेरिकाको न्युयोर्क उड्न लागेको विमान करिब एक घन्टा ढिला भएको थियो । यी घटनाबारे भारतीय नागरिक उड्डयनमन्त्री अशोक गेहलोतले माफी माग्दै यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाएका थिए । 

 ढिला गर्दा मन्त्री बाँस्कोटालाई छाडेर विमान उडाइयो
सञ्चारमन्त्री गोकुल बाँस्कोटा २ वैशाख ०७५ मा बुद्ध एयरको जहाजमा भैरहवाबाट काठमाडौं आउनुपर्ने थियो । तर तोकिएको समयभित्र विमानस्थलमा उपस्थित नभएपछि उनलाई छाडेर विमान उडाइयो । यो घटनाबारे बुद्ध एयरले विज्ञप्ति नै निकालेर ६८ जना यात्रु जहाजमा बोर्ड भइसकेको र मौसमको अवस्था हेर्दा थप ३०–३५ मिनेट पर्खनुपर्ने देखिएकाले मन्त्रीलाई छाडेर उडान गरिएको जनाएको थियो ।

 मदिरा पिएपछि विमानबाटै निकालिए एनआरएनए अध्यक्ष भट्ट
८ भदौमा गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्ट सिल्क एयरको जहाजबाट काठमाडौंबाट सिंगापुर उड्न विमानको सिटमा बसिसकेका थिए । तर, जहाज उडाउने क्याप्टेनले भट्टनजिक आएर उडान सुरक्षाका हिसाबले तपाईंलाई लिएर जान मिल्दैन भनेपछि भट्टको यात्रा रोकियो । उनीसँगै यात्रारत उनका सहकर्मी सनत न्यौपानेले भिडियोसमेत राखेर फेसबुकमा यसबारे लेखेपछि घटना सर्वाजनिक भयो । न्यौपानेले एनआरएनए अध्यक्ष भट्टले उडानअघि मदिरा पिएको स्वीकार गरेका छन् । जहाजका क्याप्टेनले पनि अत्याधिक मदिरा सेवन गरेका यात्रु उठाउँदा सुरक्षामा असर पर्ने भन्दै उनलाई निकालेका थिए । विमानमा अभद्र व्यवहार गरे वा मादकपदार्थ सेवन गरेको पाइएमा वा कुनै व्यक्तिबाट असुरक्षा हुन सक्छ भन्ने महसुस भएमा यात्रुलाई ओराल्न सक्ने अधिकार पाइलटलाई हुन्छ ।  

‘नेता र मन्त्रीले भनेपछि १५ मिनेटसम्म रोकिदिन्छौँ’ 
शीर्ष नेता र मन्त्रीहरूको आग्रहमा ५ देखि १५ मिनेटसम्म जहाज होल्ड गर्ने गरिएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौला स्विकार्छन् । तर, त्यो आग्रहअनुसार जहाज होल्ड गर्ने÷नगर्ने अधिकार एयरलाइन्सहरूलाई नै रहेको उनको भनाइ छ । ‘नेता र मन्त्रीहरूले हामीलाई भनेपछि एयरलाइन्सहरूलाई आग्रह गरिदिन्छौँ । तर, होल्ड गर्ने÷नगर्ने एयरलाइन्सहरूकै हातमा हुन्छ,’ सिटौलाले भने । 

वरिष्ठ विमानचालक डिआर निरौला भन्छन् 
शक्तिशाली व्यक्तिका कारण अन्य यात्रुको उडान ढिला हुनु ज्यादती हो

नेताहरू कतै जाँदै छन् भने उनीहरू समयमै विमानस्थल पुग्नुपर्छ । उनीहरूका कारण यात्रुहरूले दुःख पाउनुहुँदैन । शक्तिशाली नेताले आफ्ना लागि पाइलट र विमान कम्पनीलाई दबाबमा पारेर उडान तालिकालाई प्रभावित पार्नुहुँदैन । उनीहरूले अन्य यात्रुको समयको पनि ख्याल गर्नुपर्छ । विमानको यात्रा गर्ने भनेकै छिटो पुगियोस् भनेर हो ।

शक्तिशाली नेता र अधिकारीका कारण निर्धारित समय तालिकाभन्दा ढिलो उड्ने स्थिति हुन्छ भने यो अन्य यात्रुहरूमाथिको ज्यादती हो । म कुनै समय नेकोन एयरमा कार्यरत थिएँ । कुनै मन्त्री आउँदै छन् भन्ने सूचना पायौँ भने पनि हामी उनीहरूका लागि प्रतीक्षा गरेर बस्दैनथ्यौँ । निर्धारित समयमै जहाज उडाउँथ्यौँ । एकपटक गिरिजाप्रसाद कोइरालाले ‘समयमै पुगेन भने नेकोनले त छोड्छ, त्यसैले समयमै जानुपर्छ’ भन्नुभएको मैले नै सुनेको छु । 

विराटनगर विमानस्थल कर्मचारीका अनुसार तोकिएको समयमा एयरपोर्ट आइनपुग्दा पटकपटक मन्त्री र नेताहरू एयरपोर्टबाट फर्किने गरेका छन् । केही महिनाअघि श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट पनि अन्तिम उडानका लागि समयमा आइनपुग्दा फर्किन बाध्य भएका थिए ।