मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ ३१ मंगलबार २०:२५:००
Read Time : > 1 मिनेट
समाचार

प्रदेश १ मा अपराधिक घटनाका लागि बालबालिका प्रयोग बढ्दाे

Read Time : > 1 मिनेट
२०७६ भदौ ३१ मंगलबार २०:२५:००

प्रदेश १ मा अपराधिक घटनाका लागि बालबालिका प्रयाेग हुने गरेकाे तथ्यांकले देखाएको छ । प्रदेशमा सबैभन्दा बढी अपराधिक घटना मोरङ जिल्लामा प्रयोग हुने गरेकाे छ । 

आर्थिक वर्ष २०७५-७६ मा प्रदेशमा एक सय ६४ जना बालबालिका अपराधिक घटनामा संलग्न रहेको प्रहरीको तथ्यांकले देखाएको छ । मोरङमा ६४ जना बालबालिका अपराधिक घटनामा संलग भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।

बालबालिकाको संलग्नतामा अपराध हुने जिल्लामा झापा दोस्रो र सुनसरी तेस्रो स्थानमा छन् । अपराधकाे घटनामा बालक बढी प्रयोग हुने गरेकाे छ । झापामा ६१ र सुनसरीमा २७ बालक अपराधमा संलग्न रहेको प्रहरीको तथ्यांकले देखाएको छ । यस्तै, अपराधमा संलग्नमध्ये मोरङमा दुई र सुनसरीमा एक बालिका छन् । आर्थिक अवस्था कमजोर, अविभावकविहीन तथा शिक्षा अभावले बालबालिका अपराधिक गतिविधिमा प्रयोग भएको प्रवक्ता श्रेष्ठले बताए ।  

प्रदेशका १४ जिल्लामध्ये उदयपुरमा पाँच जना, ओखलढुंगामामा दुई जना, इलाम, पाँचथर, ताप्लेजुङ र खोटाङमा एक-एक जना १८ वर्ष मुनिका बालक अपराधिक घटनामा संलग्न रहेको प्रहरीको रेकर्डमा छ । १८ वर्षभन्दा कम उमेरलाई नेपालको संविधानले बालबालिकामा वर्गीकण गरेको छ । 

यस्तै, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा अपराधिक घटनामा बालबालिकाको संलग्नतामा भएकाे देखिँदैन । बालबालिकाको संलग्नतामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, जवरजस्ती करणी, लागूऔषध, बालविवाह, चन्दा संकलन, अपहरण जस्ता अपराधिक घटना हुने गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले जानकारी दिए । पहाडी जिल्लाभन्दा तराई जिल्लामा बढी बालिबालिका अपराधिक घटनामा संलग्न भएको तथ्यांकले देखाएको छ । तराईका जिल्लामा जनसंख्याको चाप बढ्नु साथै खुल्ला सीमाना भएकाले बालबालिकाकाे प्रयाेग बढी हुने गरेकाे प्रवत्ता कोइरालाले बताए । 

अपराधमध्ये कर्तव्य ज्यानमा १३, ज्यान मार्ने उद्योगमा ८, चोरीमा १०, जवरजस्ती करणीमा २९, करणी उद्योगमा ८, अभद्र व्यवहारमा ३४, लागू औषधमा १०, बालविवाहमा ४, बहुविवाहमा ३, चन्दा संकलनमा एक र अपहरणमा ४१ जना बालकको संलग्नता छ । अपराधमा संलगन बालबालिकालाई बाल सुधार गृहमा राखेर अनुसनधान गरिने प्रदेश १ का डिआइजी ठाकुरप्रसाद ज्ञवालीले बताए ।