मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ ३१ मंगलबार ०६:२४:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

‘हाइप्रोफाइल मर्डर’का अभियुक्त सुरुमा निर्दाेष, पछि दोषी

ठूला हत्याकाण्डमा प्रारम्भिक अनुसन्धानमा निर्दाेष देखिएर छुटेकाहरू नै पछि दोषी प्रमाणित

Read Time : > 4 मिनेट
२०७६ भदौ ३१ मंगलबार ०६:२४:००

पूर्वराजदूत केशवराज झाको हत्या भएकै दिन (४ भदौ २०७५) मा उनका कामदार कान्छामान तामाङलाई प्रहरीले पक्राउ ग-यो । अनुसन्धानका धेरै बाटाहरू उनमै गएर ठोक्किए । तर, २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्दा पनि प्रहरीले उनीमाथि मुद्दा चलाउने पर्याप्त आधार भेटेन । 

घटनाको ठीक एक वर्षपछि गत १ भदौमा तामाङ फेरि पक्राउ परे । यसपटक प्रहरीले उनीविरुद्ध मुदा दायर ग-यो, अदालतले समेत उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ । थप प्रमाण फेला पारेर एक वर्षपछि तामाङलाई मुद्दा दायर गरिएको

होइन । त्यतिवेला मृतकका परिवार आफ्नै कामदारले नै हत्या गरेकोमा विश्वस्त हुन सकेका थिएनन्, अहिले विश्वस्त भएर किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा दायर गरेको हो । 
तामाङविरुद्ध प्रहरीले बलिया परिस्थितिजन्य प्रमाणहरू पेस गरेको छ, तर अन्य अकाट्य प्रमाण भने छैन । इन्कारी बयानका बाबजुद पनि परिस्थितिजन्य प्रमाण बलियो भएकाले त्यसैलाई आधार मानेर अदालतले समेत तामाङलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ ।

यो घटनाले अनुसन्धान पूर्ण नभएसम्म हचुवाको भरमा प्रहरीले मुद्दा दायर गर्दैन भन्ने प्रस्ट हुने महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा बताउँछन् । ‘एक वर्षसम्म बाहिरै राखेर हामीले उनीमाथि अनुसन्धान ग-यौँ,’ थापाले भने, ‘अहिले उनीविरुद्ध मुद्दा चलाउने पर्याप्त आधार भयो, त्यसकारण मुद्दा दायर भएको हो । प्रहरीले हचुवा वा कसैको दबाबको भरमा मुद्दा दायर गर्दैन भन्ने यो अनुसन्धानबाट प्रस्ट हुन्छ ।’ 

किन भेटिएन अकाट्य प्रमाण ? 
तामाङबाहेक अरूले त्यहाँ हत्या गर्ने सम्भावना नै नभएपछि मुद्दा दायर गरिएको प्रहरी अधिकारीहरू बताउँछन् । झाको हत्या बन्द घरभित्र भएको थियो । घरभित्र झाकी श्रीमती ज्ञानु मात्र थिइन् । उनी निकै कमजोर छिन् । हत्याको दिन उनी पहिलो तलामा र श्रीमती भुइँतलामा सुतेका थिए । घरको पहिलो तलामा भान्सा छ, जहाँ बाहिरबाट भ-याङमार्फत जाने ढोका छ । त्यो ढोकाको चाबी तामाङसँग हुन्थ्यो ।

हरेक दिन बिहान त्यो ढोका खोलेर उनले भान्सामा चिया–नास्ता बनाउँथे । त्यसकारण उनैले भान्साबाट छिरेर झाको हत्या गरेको प्रहरी निष्कर्ष छ । पहिलो तलाको झ्यालको जाली थोरै काटिएको भए पनि त्यहाँबाट मान्छे छिर्न सक्ने सम्भावना नै नभएको र घरभित्र अरू कोहीको प्रवेश असम्भव भएको प्रहरीको भनाइ छ । अर्काेतर्फ हत्यामा किचनकै चक्कु प्रयोग भएको छ । हत्याको उद्देश्यले कोही बाहिरी मान्छे आए उसले किचनको चक्कु प्रयोग गर्ने सम्भावना नहुने अनुसन्धानमा आबद्ध प्रहरीहरू बताउँछन् । 

तेस्रो कारण, कुकुरलाई दिइएको ‘क्याट फुड’ हो । जुन क्याट फुड केही दिनअघि झाका छोरा किरणले ल्याएका थिए र तामाङलाई राख्न दिएका थिए । सोही ‘क्याट फुड’ कुकुरलाई खान दिएको पाइएको थियो । सोही क्याट फुड कुकुरलाई खान दिएको देखिएकाले नै तामाङले नै हत्या गरेको निष्कर्षमा झाका छोरा किरण र छोरी राजश्रीले पुगेका थिए । कुकुर सधैँ पूर्वराजदूत झाकै कोठामा सुत्थ्यो । त्यसरी हत्या हुँदा पनि कुकुर नकराउनुलाई शंकास्पद रूपमा हेरिएको थियो । चिनजानकै व्यक्ति आएकाले कुकुर नभुकेको हुन सक्ने अभियोगमा उल्लेख छ । 

तलबको विवादलाई हत्याको प्रमुख आधार बनाइएको छ । सुरक्षागार्डका साथै तामाङले भान्साको कामसमेत गर्थे । त्यसकारण आफूलाई तलब कम भएको उनले गुनासो गर्दै आएका थिए । झा मात्र होइन, उनका साथी श्याममोहन श्रेष्ठलाई समेत फोन गरेर उनले त्यससम्बन्धी गुनासो गरेका थिए । श्रेष्ठले नै तामाङलाई करिब आठ वर्षअघि झाको घरमा काम लगाइदिएका थिए । 

तामाङको तलब १४ हजार रुपैयाँ थियो । अत्यावश्यक परेको भनेर उनले झासँग ५० हजार पनि लिएका थिए । त्यही पैसा तलबमा कटाएपछि उनी असन्तुष्ट भएको देखिन्छ । उनी अन्तरमुखी स्वभावका व्यक्ति भएको र त्यहीकारण पनि इन्कारी बयान दिएको हुन सक्ने प्रहरी अधिकारीको तर्क छ । 

त्यसो त तालिमप्राप्त कुकुरले पनि उनी बस्ने क्वार्टरतर्फ नै संकेत गरेको थियो । त्यस्तै, पोलिग्राफ टेस्टमा उनले ढाँट्नु अभियोजनको अर्काे आधार बनेको थियो । तर, यो घटनामा पनि प्रहरीले घटनास्थलको सुरक्षा गर्न नसक्दा अकाट्य प्रमाणहरू संकलन गर्न सकेन । सामान्य गार्डले कुनै प्रमाण लुकाएर कसरी हत्या गरे भन्ने प्रश्नसमेत छ । तामाङको कपडामा मृतकको कुनै रगत लागेको थिएन । हत्यामा पन्जाको प्रयोग भएको थियो, जुन पन्जा घरकै कम्पाउन्डमा भेटिएको छ । पन्जामा मृतकको रगत लागेको फरेन्सिक टेस्टमा खुलेको काठमाडौंका एसएसपी उत्तम सुवेदीले बताए ।

रानीबारी हत्याकाण्ड : १२ वर्षपछि फेरि पक्राउ 
बहुचर्चित रानीबारी हत्याकाण्डमा हाल सर्वस्वसहित जन्मकैद सजाय सुनाइएका मनराज गुरुङ र प्रमेश चौहानलाई पनि घटनालगत्तै प्रहरीले सोधपुछ गरेको थियो । तर, प्रमाण फेला पारेन । १२ वर्षपछि सिआइबीले फेरि पक्राउ गरी मुद्दा दायर गर्दा उनीहरू दोषी ठहर भए ।

०६९ मा रानीबारी बस्ने हेमन्त श्रेष्ठ र उनकी श्रीमती अञ्जलीको हत्या भएको थियो । १२ वर्षपछि प्राप्त सुराकीको आधारमा सिआइबीले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूका घरबेटी गीता खड्काको हत्या गर्न गए पनि सूचना चुहिने डरले सुरुमा श्रेष्ठ दम्पतीको हत्या गरेको अनुसन्धानमा खुलेको थियो । पछि पक्राउ पर्दा उनीहरूले इन्कारी बयान दिएपछि साक्षीको बयान र परिस्थितिजन्य प्रमाणकै आधारमा उनीहरू दोषी भएका थिए । 

चौथोपटक पक्राउ पर्दा मुद्दा 
यसरी सुरुमा पक्राउ परेर छुटेका अभियुक्त नै पछि फेरि पक्राउ गरेर मुद्दा दायर भएको र अपराध स्वीकार गरेको धेरै घटना छन् । बडिखेल हत्याकाण्डका अभियुक्त चन्द्रबहादुर पहारीलाई पहिला तीनपटकसम्म प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो । पटक–पटक गरेर ४० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्दा पनि उनको संलग्नताको आधार प्रहरीले फेला पार्न सकेन । 

२ भदौ ०७२ मा चौथोपटक पक्राउ पर्दा उनले अपराध स्वीकार गरेका थिए । १६ असोज ०६० मा बडिखेलमा आफ्नै बहिनीज्वाइँ भानु नगरकोटीसहित पाँचजनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । जुन १२ वर्षसम्म प्रहरीको असफल अनुसन्धानको सूचीमा थियो । पारिवारिक विवाद र मदिराको नशामा उनले सो हत्या गरेका थिए । 

महानगरीय अपराध महाशाखाका तत्कालीन डिएसपी दीपक रेग्मीलाई लागेको एउटा शंकाले पहरीको अपराध प्रमााणित भएको छ । घटनाको फोटो हेरेर रेग्मीलाई लाग्यो– भैँसी मार हान्न सक्ने व्यक्तिले मात्र यसरी क्रूर तरिकाले हत्या गर्न सक्छ ।

जुन शंकाले अनुसन्धानको बाटो लिन्छ । त्यतिवेला सो ठाउँमा भैँसी मार हान्ने व्यक्ति उनै पहरी थिए । त्यसकारण फेरि उनलाई पक्राउ गरी प्रहरीले सोधपुछ ग-यो । सुरुमा उनले इन्कार नै गरे । पछि उनी स्विकार्न बाध्य भएका थिए । त्यसअघि विभिन्न अनुसन्धान टोली स्थानीय लागुऔषध दुव्र्यसनी रमेश पहरीमाथि मात्र केन्द्रित भएको थियो । अनुसन्धानमा सानो कुराले कति ठूलो परिणाम दिन्छ भन्ने यो घटनाले प्रस्ट हुन्छ । 

बम हत्या, दुई वर्षपछि अपराध स्वीकार 
न्यायाधीश रणबहादुर बमको हत्या घटनाको अनुसन्धानमा पनि प्रमुख अभियुक्त बाबु भनिने भगवान् थापालाई केही दिनमै प्रहरीले पक्राउ गरेको थियो । तर, कुनै प्रमाण संकलन गर्न नसकेपछि छुटेका थिए । थापाको विपक्षमा न्यायाधीश बमले फैसला गरेको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । तर, उनी छक्याउन सफल भएका थिए । 

घटनाको दुई वर्षअघि चोरी आरोपमा धनुषामा पक्राउ परेका एक अभियुक्तको सूचनाको आधारमा फेरि उनलाई पक्राउ गरी अनुसन्धान गर्दा थापाले नै हत्या गरेको पुष्टि भएको थियो । उनले साबिती बयानसमेत दिएका थिए । चुरेभावर पार्टीको मुद्दामा आफ्नो विपक्षमा फैसला गरेको र त्यो घटनापछि अन्य व्यक्तिलाई धम्क्याएर पैसा उठाउने उद्देश्यले हत्या भएको अनुसन्धानमा खुलेको थियो । १८ जेठ २०६९ मा ललितपुरको युएन पार्कनजिकै गोली हानेर बमको हत्या भएको थियो । १८ पुस २०७१ मा प्रहरीले दोस्रोपटक थापालाई पक्राउ गरेकोमा हाल उनी जेलमा छन् । 

हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन विज्ञ प्रहरीको संख्या बढाउनुपर्छ : पूर्वडिआइजी हेमन्त मल्ल
कुनै पनि अपराधमा संलग्न अभियुक्तले पक्राउ गर्नेबित्तिकै अपराध स्वीकार गर्दैनन् । विगतमा प्रहरीले यातना दिएर तथा धम्क्याएरसमेत सोधपुछ गर्दथ्यो । तर, अहिले त्यो अवस्थामा छैन । जसकारण सोधपुछमा अहिले अनुसन्धान अधिकृतमा थप तालिम र अनुभवको आवश्यकता देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

सुरुमा शंका लागेर पक्राउ परी छुटेका व्यक्तिहरू फेरि पक्राउ पर्नु अनुसन्धानमा स्वाभाविक भएको पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन् । वर्षाैंसम्म प्रहरीलाई ढाँट्न सक्ने अवस्था हुन नदिन अनुसन्धानलाई प्रभावकारी बनाउन अब प्रविधिमा धेरै जोड दिनुपर्ने सिआइबीका पूर्वनिर्देशकसमेत रहेका मल्लको भनाइ छ । अनुसन्धानलाई सुरुमै सफल बनाउन घटनास्थलमा विज्ञ प्रहरी बढाउनुपर्ने उनको सुझाब छ ।

घटनास्थलमा अनुसन्धानका धेरै सूत्र भेटिने भएकाले विज्ञ खटिएका अनुसन्धान सहज हुने उनी बताउँछन् । अनुसन्धानमा विशिष्टीकरण र विधि विज्ञान प्रयोगशालामा लगानी अहिलेको प्रमुख आवश्यकता भएको उनले बताए । ‘सबै प्रहरी अनुसन्धानकर्ता हुन सक्दैनन्, त्यसकारण विज्ञता बढाउँदै लैजानुपर्छ,’ उनी भन्छन्, ‘अहिलेको जुन अपराध छ, त्यसलाई अहिलेको विधि विज्ञान प्रयोगशालाले धान्न सक्दैन, लगानी बढाउनुपर्छ ।’