मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३० सोमबार १६:४०:००
Read Time : > 1 मिनेट
समाचार

कांग्रेसद्वारा दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३० सोमबार १६:४०:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको सन्दर्भमा गरिएको राष्ट्रिय जागरणका क्रममा बाँके सभापतिलगायत नेता÷कार्यकर्तामाथि कुटपिट भएपछि कांग्रेसले लगातार संसद् अवरुद्ध गरेको हो । राष्ट्रिय सभा बैठक भने सुचारु छ । 

कांग्रेसले सत्तारुढ नेकपाका कार्यकर्ताबाट आफ्ना कार्यकर्तामाथि आक्रमण भएको जनाउँदै आक्रमणकारीलाई कारबाहीको माग गरेको छ । घटनामा बाँके सभापति कोइरालाको देब्रे हात भाँचिएको र अन्य दर्जनभन्दा बढी कार्यकर्ता सामान्य घाइते भएको कांग्रेसको दाबी छ । खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएकाले उनीविरुद्ध किटानी जाहेरी दर्ता गर्न माग गर्दै कांग्रेसले आइतबारको संघीय संसद्का दुवै सदन र सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो । 

 सुचारु भइसकेको सदन अचानक पुनः अवरुद्ध
आइतबार साँझ वडाध्यक्ष सुमन मल्ललगायतविरुद्ध परेको मुद्दा स्थानीय प्रशासनले दर्ता गरेलगत्तै सदन सुचारु गर्न कांग्रेस सहमत भएको थियो । सोहीबमोजिम सोमबारको राष्ट्रिय सभाको प्रारम्भमा कांग्रेस सांसद अनिता देवकोटाले घटनामा संलग्न भनी किटानी जाहेरी दिएकोमा दर्ता भएको र दोषीलाई कारबाही हुने विश्वासका साथ सदन सुचारु गर्न सहमत भएको बताइन् । 

सोमबारकै प्रतिनिधिसभामा कांग्रेस सचेतक पुष्पा भुसाल गौतम मुद्दा दर्ता भएकोमा खुसी व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गर्दै कुर्सीमा बसिन् । कांग्रेसका अन्य सांसद उठेनन् । सभामुख कृष्णबहादुर महरा संसद्को कार्यसूचीलाई अघि बढाउन तयार भए ।

लगत्तै सत्तारुढ नेकपाका सांसद एवं बाँके–३ बाट निर्वाचित नन्दलाल रोका क्षेत्रीले बोल्न समय मागे । उनले बाँके घटनामा नेकपाका कार्यकर्ताको संलग्नता नरहेको, वडाध्यक्ष मल्ल कुनै पनि कोणबाट दोषी नरहेको, कांग्रेस कार्यकर्ताबीचकै झगडाले चारजना व्यक्ति प्रवेश गरेर होहल्ला गरेको आरोप लगाए । सत्तारुढ पार्टीका सांसदले घटनाको ढाकछोप गरेपछि कांग्रेसले पुनः नाराबाजीसहित प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध ग-यो । कांग्रेसको अवरोधले प्रतिनिधिसभा बैठक बुधबारसम्मलाई स्थगित भएको छ । 

सभामुखले बोल्न खोज्दा कांग्रेसको अस्वीकार
प्रतिनिधिसभा बैठकको प्रारम्भमा कांग्रेस सांसद पुष्पा भुसाल गौतमले बोलेपछि स्थिति सामान्य नै थियो । तर, सत्तापक्षका सांसदको अभिव्यक्तिले पुनः चिढिएको कांग्रेसलाई सम्हाल्न सभामुख कृष्णबहादुर महराले पटक–पटक बस्न आग्रह गरे ।

‘म केही भन्न चाहन्छु माननीय सदस्यहरू ! बसिदिनुस् माननीय सदस्यहरू, माननीय पुष्पा भुसालले बोल्नुभएको विषयमा केही भन्न चाहन्छु,’ सभामुख महराले पटक–पटक बोल्न चाहे । तर, कांग्रेस सांसद रोस्ट्रम घेराउ गर्दै नाराबाजीमा उत्रिएपछि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो ।

यसअघि आइतबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले घटनाबारे सरकारको धारणा प्रस्तुत गर्दा चित्तबुझ्दो जवाफ नआएको भन्दै कांग्रेसले दुवै सदन अवरुद्ध गरेको थियो ।