मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ २९ आइतबार ०९:२३:००
Read Time : > 3 मिनेट
सेयर बजार

बजारमा घट्यो लगानीकर्ताको उपस्थिति

Read Time : > 3 मिनेट
२०७६ भदौ २९ आइतबार ०९:२३:००

नेप्से परिसूचक निरन्तर ओरालो लागेसँगै बजारमा लगानीकर्ताहरूको उपस्थिति घटेको छ । समग्र वातावरण पुँजीबजार मैत्री हुँदा पनि बजार नबढेका कारण बजारमा लगानीकर्ताहरू घटेका हुन् । अघिल्ला आवहरूमा साउन, भदौमा सेयरबजार सकारात्मक दिशातर्फ अगाडि बढ्ने गरेको थियो । कम्पनीहरूले प्रकाशित गर्ने आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण र लाभांश घोषणाले बजारलाई सकारात्मक दिशा दिने गरेको थियो । तर, चालू आवमा कम्पनीहरूको वित्तीय विवरण र लाभांश दुवैले पनि बजार बढाउन नसक्दा लगानीकर्ताहरू निरुत्साहित भएका हुन् । साउनमा पुँजीगत लाभकरको विवादका कारण बजार बढ्न नसकेको विश्लेषण गरिएको थियो । तर, अहिले सो विवाद समाधानका लागि सिडिएस एन्ड क्लियरिङले मेरो सेयरमा पुँजीगत लाभकरको भारित औसत गणना गर्ने सुविधा थपेको छ । यो सुविधा थप भएपश्चात् पनि बजारले गति नलिएपछि लगानीकर्ताहरू अन्योलमा परेका हुन् । 

अहिले बजार सुस्त गतिमा भएका कारण अल्पकालीन लगानीकर्ताहरू घटेर बजारमा कारोबार कम भएको एक ब्रोकरले बताए । बजार सुस्त हुँदा अल्पकालीन लगानीकर्ताहरूले खासै नाफा आर्जन गर्न सक्दैनन् । सोही कारण यस्तो समयमा त्यस्ता लगानीकर्ताहरू बजारमा प्रवेश नगर्ने उनको भनाइ छ । केही दीर्घकालीन लगानीकर्ताहरू भने कम्पनीको विश्लेषण गरी सेयर खरिद गरिरहेका छन् । लाभांश संकलन गर्ने समयमा सेयर मूल्य सस्तिएको मौका छोपेर उनीहरू सेयर खरिद गरिरहेको एक विश्लेषकले बताए । 

बजार सारांश
गत साता नेप्से परिसूचक ३३ दशमलव १९ अंक घटेर १ हजार १ सय ५७ दशमलव ८८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता ६ दशमलव ११ अंक घटेर २ सय ५३ दशमलव ७९ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स २ दशमलव २३ अंक घटेर ८५ दशमलव ६९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ६८ अंक घटेर ८१ दशमलव ६३ बिन्दुमा पुगेको छ । सो साता १ सय ९० कम्पनीको ३२ हजार १ सय ३१ पटकको कारोबारमा १ अर्ब ५६ करोड ४ लाख ७ सय ६३ रुपैयाँबराबरको ६६ लाख ५५ हजार १ सय ६६ कित्ता सेयर खरिद बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई २५ दशमलव ५७ स्केलमा रहेको छ । ओभरसोल्ड जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिदचापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता शून्य दशमलव ११ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । सो साता कारोबारमा आएका १ सय ९० कम्पनीमध्ये १ सय ४७ कम्पनीको सेयरमूल्य घटेको छ भने १७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । बाँकी २६ कम्पनीको सेयर मूल्य सो साता स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार १ सय ६८ दशमलव ८२ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार १ सय ४५ दशमलव ३१ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार १ सय ३२ दशमलव ७४ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ८१ दशमलव ३९ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार २ सय ४ दशमलव ९० बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

सर्वाधिक गुमाउने एनएमबिका २ म्युचुअल फन्ड
गत साता एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाहरूको एकाइ मूल्य सर्वाधिक घटेको छ । सो साता यी दुवै योजनाहरूको मूल्य समायोजनका कारण मूल्य घटेको हो । एनएमबि हाइब्रिड फन्ड एल १ को एकाइ मूल्य सो साता १६ दशमलव ५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ को एकाइ मूल्य १२ दशमलव २७ प्रतिशत घटेको छ । सो साता नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ । सान्जेन जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर लगायत ११ कम्पनीहरूको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य गत साता ७ दशमलव २८ प्रतिशत र वरुण हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५ दशमलव ९५ प्रतिशत बढेको छ । मितेरी डेभलपमेन्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी, गुडविल फाइनान्स कम्पनी, जानकी फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य २ प्रतिशतभन्दा बढी बढेको छ ।

सबै समूहको परिसूचक घट्यो
गत साता कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । सो साता जीवन बिमा समूहको परिसूचक सर्वाधिक २ सय ४१ अंक घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक २ सय २८ दशमलव ८३ अंक, होटेल समूहको ८४ दशमलव ३० अंक, उत्पादनमूलक समूहको ५० दशमलव ७२ अंक, जलविद्युत् समूहको ४१ दशमलव ३३ अंक, लघुवित्त समूहको ३७ दशमलव ६१ अंक र अन्य समूहको २५ दशमलव ७६ अंक घटेको छ । विकास बैंक समूहको परिसूचक गत साता २४ दशमलव २७ अंक, वाणिज्य बैंक समूहको २४ दशमलव शून्य ५ अंक, वित्त समूहको ७ दशमलव १९ अंक, व्यापार समूहको ५ दशमलव २३ अंक र म्युचुअल फन्ड समूहको शून्य दशमलव १८ अंक घटेको छ ।  

सर्वाधिक कारोबार हुनेमा एनआइसी एसिया
गत साता कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको गत साता ९ सय पटकको कारोबारमा ८ करोड ८ लाख ६३ हजार ९ सय ७२ रुपैयाँ बराबरको १ लाख ८० हजार ८ सय ३९ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकले २१ प्रतिशत लाभांश वितरण गर्ने प्रयोजनको लागि गत साता बुक क्लोज गरेको थियो । सोही कारण लगानीकर्ताहरूको आकर्षण सो बैंकको सेयरमा बढी देखिएको थियो । सेयर संख्याका आधारमा गत साता लक्ष्मी बैंक लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । सो वाणिज्य बैंकको गत साता ३ पटकको कारोबारमा ६ करोड ६० लाख ४९ हजार ९ सय ५२ रुपैयाँ बराबरको ५ लाख ८६ हजार ७ सय ४९ कित्ता संस्थापक सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा गत साता आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको गत साता ३ हजार १ सय ५० पटकको कारोबारमा १ करोड ८१ लाख ४८ हजार ९ सय २९ रुपैयाँ बराबरको ३९ हजार १ सय ५६ कित्ता सेयर किनबेच भएको छ ।

एनएमबि हाइब्रिड फन्डको बुक क्लोज
एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फन्ड एल १ ले भदौ २५ गते बुक क्लोज गर्ने भएको छ । यस योजनाले गत आवको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो ।