मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ २८ शनिबार ०९:३१:००
Read Time : > 1 मिनेट
अर्थ

कालोबजारी र कृत्रिम अभाव गर्नेलाई कारबाही : मन्त्री यादव

Read Time : > 1 मिनेट
२०७६ भदौ २८ शनिबार ०९:३१:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चाडवाडको अवसर पारेर कालो बजारी गर्ने तथा कृत्रिम अभाव र मूल्य वृद्धि गर्ने व्यवसायीलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री यादवले साल्ट ट्रेडिङ कर्पोरेसनको ५७औँ वार्षिकोत्सवको अवसर पारेर त्यस्ता व्यवसायीलाई नियन्त्रण गर्नका लागि तिनै तहका सरकारका साथै सरकारको स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनको सहयोग अपरिहार्य रहेको बताए । बजारमा हुने अनियमितता र कालोबजारी नियन्त्रणका लागि साल्ट ट्रेडिङ कर्पाेरेसनले उल्लेख्य भूमिका खेलेको मन्त्री यादवको भनाइ छ ।

समारोहमा कर्पाेरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक–निजी साझेदारीअन्तर्गत साल्ट ट्रेडिङ कर्पोरेसन सफल संस्था रहेको बताए । उनले संस्थानको सुनौलो इतिहास निर्माण गर्न सफल भएको दाबी गरे । सरकारको निर्देशन तथा निर्णय पूर्ण रूपले पालना गर्दै बजारमा आपूर्तिलाई सहज बनाएको मानन्धरले बताए । कर्पाेरेसन उपभोक्ताको हितमा निरन्तर लागिरहने विश्वास उनले दिलाए । त्यस्तै, उपभोग्य वस्तु र अत्यावश्यक वस्तुको अभाव हुँदा घाटा सहेर पनि कर्पाेरेसनले आपूर्ति व्यवस्था सहज गराएको उनको दाबी थियो । उनले १८ महिनादेखि लाभांश वितरण गर्न नपाएको गुनासो गरे । दुई आवको मुनाफा अहिलेसम्म सेयरधनीलाई वितरण गर्न नपाएको उनको भनाइ थियो । अर्थ मन्त्रालयले चाँडै यो गाँठो फुकाउने आशा उनले व्यक्त गरे ।

कर्पाेरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले नुन बिक्री नियमित काम भएको र यसबाहेक अन्य क्षेत्रमा पनि काम गरिरहेको बताइन् । उनले कृषि विकासमा योगदान पुर्‍याउन अनुदान प्राप्तबाहेक अनुदान प्राप्त नहुने मलसमेत आयात गरी बिक्री वितरण गर्दै आएको जानकारी दिइन् । त्यस्तै, गहुँको बिउ प्रशोधन गरी बिक्री गरिरहेको, हेटाैंडामा बन्द रहेको नेपाल वनस्पती ध्यु उद्योगमा स्थानीय किसानबाट तोरी खरिद गरी प्रशोधित तोरीको तेल उत्पादन गर्ने लक्ष्य लिएको बताइन् । 

विभिन्न कारण बजारमा गुणस्तरहीन अखाद्य वस्तु भित्रिने तथा अनियन्त्रित मूल्य वृद्धिजस्ता समस्याको समाधानमा सार्वजनिक–निजी साझेदारीका रूपमा रहेको कर्पोरेसनजस्ता संस्थाको अपरिहार्यता र भूमिका अझ बढेको श्रेष्ठले बताइन् । 

सन् १९८६ मा गरिएको सर्भेअनुसार नेपालमा ४४.२ प्रतिशत गलगाँड रोगी रहेकामा सन् २००७ मा यो संख्या ०.४ प्रतिशतमा झरेको थियो । यो सर्भेक्षण नेपाल सरकार तथा भारतको सहयोगमा गरिएको ‘नेसनल सर्भे एन्ड इम्प्याक्ट स्टडी फर आयोडिन डिभिसिएन्सी डिस्अर्डर एन्ड अभाइबिलिटी अफ आयोडनाइज्ड साल्ट इन नेपाल’ भन्ने प्रतिवेदनबाट लिइएको थियो । सन् २०१६ मा नेपाल सरकारले गरेको नेपाल डेमोग्राफिक हेल्थ सर्भेमा ९४.५ प्रतिशत पाँच वर्षमुनिका बालबालिकाले उचित मात्रामा आयोडिन भएको नुन प्रयोग गरिरहेको देखिएको छ । यसमा साल्ट ट्रेडिङको मुख्य भूमिका रहेको र अभियान सफल भएको साल्ट ट्रेडिङ कर्पाेरेसनले जनाएको छ । 

संस्थानको ५७औँ वार्षिकोत्सवको अवसर पारेर काभ्रेको बनेपामा रहेको श्री गोसाइँस्थान क्षेत्र विकास समितिलाई बालहितकारी पुरस्कार प्रदान गरिएको छ । ७५ हजार रुपैयाँ नगदसहितको उक्त पुरस्कार गुरुकुल स्थापना गरेर निःशुल्क आवासीय रूपमै संस्कृत शिक्षा दिएबापत प्रदान गरिएको हो ।