१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन दुराल 
२०७५ पौष १ आइतबार ११:२८:००
Read Time : < 1 मिनेट
प्रदेश

भोजपुरमा एक दर्जन खानेपानी आयोजना अलपत्र

Read Time : < 1 मिनेट
मोहन दुराल 
२०७५ पौष १ आइतबार ११:२८:००

सरकारले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति विघटन गरेपछि भोजपुरमा सञ्चालित एक दर्जनभन्दा बढी खानेपानी आयोजना अलपत्र परेका छन् । २० असारमा सरकारले देशैभरिका विकास समिति खारेज गर्ने निर्णय गरेको थियो । 

आमचोक गाउँपालिकाका–७ र ८ देवानटारमा सञ्चालित खरखरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवीन राईले समिति खारेज भएपछि काममा समस्या भएको बताए । योजना सकिए पनि अनुगमन तथा मूल्यांकनका लागि केन्द्रले प्राविधिक टोली नपठाउँदा समस्या भएको उनको भनाइ छ । उनले भने, ‘आयोजनाको अनुगमन र मूल्यांकन गर्ने प्राविधिक आएका छैनन् । आयोजनाको कारोबार, बिल भर्पाइै क्लियर गर्न पाइएको छैन ।’ 

जनश्रमदानसहित झन्डै एक करोड रुपैयाँको लागतमा खरखरे खानेपानी आयोजना सञ्चालनमा आएको हो । यो योजनाबाट एक सय ८० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । उपभोक्ता समिति आफैँले ऋण लिएर सामग्री खरिद गर्नेदेखि कामदारलाई निर्माणको काममा लगाएको थियो । समिति खारेज हुँदा कामदारलाई पारिश्रमिक वितरणमा समेत समस्या भएको राईले बताए ।

१६ आयोजना सञ्चालनमा 
भोजपुरमा तीनवटा सहयोगी संस्थामार्फत १६ वटा खानेपानी आयोजना सञ्चालनमा छन् । हतुवागढी गाउँपालिका–१० हसनपुरस्थित सापेनटार खानेपानी आयोजनाको पनि अन्तिम किस्ता रकम भुक्तानी हुन बाँकी छ । आयोजनाका अध्यक्ष प्रसाद राईले केन्द्रले रकम नपठाउँदा आयोजना पूरा हुन नसकेको बताए । 

आयोजनाको सहयोगी संस्था हिहल्र्ड नेपाल भोजपुरका खानेपानी तथा सरसफाइ अधिकृत खगेन्द्र खड्काले काम सुरु भइसकेका योजना बीचमै अलपत्र पार्ने गरी सरकारले समिति खारेज गर्दा समस्या भएको बताए । समिति खारेज हुँदा ५० जना कर्मचारीले ६ महिनादेखि तलबसमेत खान नपाएको गैरसरकारी संस्था महासंघ भोजपुरका अध्यक्ष बलराम राईले बताए । 

फन्ड बोर्डका सूचना अधिकारी टीकाप्रसाद अधिकारीले समिति विघटनसँगै तत्कालका लागि खानेपानी र सरसफाइमा छुट्याइएको दुई अर्ब रुपैयाँ के हुने भनेर अन्योल सिर्जना भएको बताए ।