अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षमा तीनैपटक राष्ट्रिय सुरक्षा सल्लाहकारलाई बर्खास्त गरेका छन् । उनले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेको जानकारी ट्विटबाट गराएका हुन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूलाई दिएको जानकारीअनुसार बोल्टनका कतिपय कार्य विवादास्पद र चित्तबुझ्दो नहुँदा आफूले बर्खास्त गरेको ट्रम्पले ट्विट गरेका छन् । ‘मलाई अब जोनको आवश्यकता छैन, उनका कतिपय निर्णय चित्त बुझ्दा थिएनन्,’ ट्रम्पले ट्विट् गर्दै भने, ‘बुधबार बिहान उनको राजीनामा पत्र मैले प्राप्त गरें ।’
जबर्जस्ती राजीनामा
निवर्तमान राष्ट्रिय सल्लाहकारका प्रमुख जोनले आफूले नचाहँदा–नचाहँदै राजीनामा दिनुपरेको एसोसिएट प्रेस (एपी) लाई बताएका छन् । ‘मैले आफूखुसी राष्ट्रपति ट्रम्पसमक्ष राजीनामा दिएको होइन, मलाई जबर्जस्ती नै राजीनामा दिन लगाइयो,’ ट्रम्पको निर्णयप्रति असन्तुष्टि जनाउँदै जोनले भने, ‘मैले राष्ट्रपतिकै निर्णयअनुसार राजीनामा दिएँ ।’ सन् २०१८ मा स्वयं ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार समितिको प्रमुखमा जोनलाई नियुक्त गरेका थिए । यसअघि पनि ट्रम्पले त्यही पदमा काम गरेका माइकल फिलन र एचआर म्याकमास्टरलाई राजीनामा दिन लगाएका थिए ।
सुरक्षागार्डविनै ह्वाइटहाउसबाट बाहिरिए जोन
राष्ट्रिय सुरक्षा सल्लाहकारका प्रमुख जोनले राजीनामा दिनुअघि मंगलबार राष्ट्रपति भवनमा विदेशमन्त्री र अर्थमन्त्रीसँग छलफल गरेका थिए । दुई घन्टासम्म चलेको बैठकमा जोनले अमेरिकाको राष्ट्रिय सुरक्षा नीतिबारे दुवै मन्त्रीलाई ब्रिफिङ गरेको एपीले जनाएको छ । सोमबारै ट्रम्पले जोनसँग राजीनामा मागिसकेका थिए । राजीनामा दिने सोचका साथ वासिंटन पुगेका जोनले अर्थ तथा विदेशमन्त्रीसँग अन्तिम वार्तालाप गरे । ह्वाइटहाउसमा भित्र प्रवेश गर्दा जोनका साथ सुरक्षागार्ड थिए । तर, उनी बाहिरिँदा एक सामान्य कर्मचारीझैं बाहिरिए । ह्वाइटहाउसमा राजीनामा दिएपछि उनको सबै सुरक्षा खारेज भएको एपीको भनाइ छ । यसैकारण उनी बाहिरिँदा कुनै सुरक्षागार्डको व्यवस्था नभएको एपीले जनायो । यता जोनले बासिंटन पोस्टका पत्रकार रोबर्ट कोस्टासँग कुराकानी गर्दै उचित समयमा आफूले सबै विषयको जानकारी दिने बताए । ‘मलाई केवल एउटा मात्र चिन्ता छ, अमेरिकाको राष्ट्रिय सुरक्षा व्यवस्था,’ जोनले भने, ‘म यसबारे उचित समयमा सबैलाई जानकारी दिनेछु ।’
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जोनको बहिर्गमनको अर्थ अमेरिकाको रणनीति पूरै परिवर्तन भएको ठान्न नहुने बताएका छन् । ‘हामीबीचको कोही सदस्य बाहिरिनु या भित्रिनुले अमेरिकी नीतिमा परिवर्तन हुँदैन, र त्यसमा सत्यता छैन,’ अर्थमन्त्री माइकले भने ।
यसकारण राजीनामा दिन बाध्य
खरो बोल्ने र आफ्नो निर्णयबाट पछि नहट्ने स्वभावका जोन अमेरिकी राजनीतिक मामिलामा सधैँ विवादास्पद व्यक्ति मानिन्छन् । इराकमा आक्रमणका मुख्य योजनाकार मानिने जोनलाई अमेरिकी विदेश मामिला परिचालनमा निकै कठोर व्यक्तिका रूपमा लिइन्छ । पछिल्ला दिनमा ह्वाइटहाउसले इरान, उत्तर कोरिया, भेनेजुएलासमेतका मामिलामा लिएको कडा रबैयाका मुख्य सूत्रधार जोन रहेको विश्वास गरिन्छ ।
इरान, उत्तर कोरिया, भेनेजुएला मामिलामा ट्रम्पको नीति विपरित अडान लिएपछि जोन बोल्टन बर्खास्त
सन् २०१८ को फेर्ब्रुअरीमा भियतनाममा हुने भनिएको ट्रम्प र उत्तर कोरियाका नेता किम जोन उनबीचको वार्तालाप रद्द हुनुको पछाडि जोनकै हात रहेको ह्वाइटहाउस अधिकारी बताउँछन् । उत्तर कोरियासँग वार्ताअघि जोनले नै केही प्रस्ताव पठाएका थिए । उत्तर कोरियाले जोनको प्रस्ताव स्वीकार गर्न नसक्दा वार्ता रद्द भएको थियो । यता तालिवानसँगको शान्तिवार्ता गर्न नहुने पक्षमा जोन उभिएका थिए । तत्कालै ट्रम्पले यो वार्ता पनि रद्द गरे । राष्ट्रपतिको नीतिमा सहयोग नगरेका कारण नै जोनले राजीनामा दिनुपरेको बताइएको छ ।
ट्रम्प र जोनबीच असमझदारी
डेढ वर्ष ट्रम्पसँगै जोनले काम गर्न अवसर पाए । यसबीच यी दुईबीच कहिल्यै मेल भएन । विदेशी नीतिमा हुने गरेका धेरैजसो निर्णयमा ट्रम्प र जोनबीच विवाद हुने गरेको थियो । तर, ट्रम्पले हस्तक्षेप गर्दै अघि बढेका थिए । यसैकारण नै यी दुई व्यक्तिबीच असमझदारी भएको एपीले उल्लेख गरेको छ । उत्तर कोरिया, इरान र भेनेजुएलाप्रतिको ट्रम्पको निर्णय जोनलाई मन परेको थिएन ।
यद्यपि ट्रम्पले केही निर्णय गर्नुअघि जोनसँग एकपटक सल्लाह गर्थे । तर, त्यो सल्लाह केवल सल्लाह मात्र हुने गथ्र्यो । ट्रम्पले आफूखुसी नै एकल निर्णय लिने गरेको जोनले खुलासासमेत गरेका छन् । पछिल्लो समय अमेरिका र अफगानी तालिवानसँगको वार्ता भंग भएको क्षणमा जोनले ट्रम्पको सीधै आलोचना गरेका थिए । एपीका अनुसार जोनले आफ्नो पद गुमाउने प्रमुख कारण नै त्यही थियो ।