१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ भदौ २६ बिहीबार ०९:५०:००
Read Time : > 1 मिनेट
विश्व

चीनद्वारा अमेरिकी  सामानमा कर छुट

Read Time : > 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०९:५०:००

चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइएको करमा छुट गरेको घोषणा गरेको छ । दुवै देशबीच अर्को महिना व्यापार वार्ता हुँदै छ । कर छुट १७ सेप्टेम्बरदेखि लागू हुने चीनको भन्सार आयोगले जनाएको छ । छुट हुने वस्तुको सूचीमा सामुद्रिक खाद्य सामग्री र क्यान्सर प्रतिरोधी औषधिसमेत छन् । कर छुट एक वर्षसम्म कायम हुनेछ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सर्वाधिक चासोका रूपमा रहेको अमेरिकी सोयाबिन र सुँगुरको मासुको आयातमा लागेको कर यथावत् छ ।     

 व्यापारमा सहमति नभएको 
चीन र अमेरिकाबीच एक वर्षभन्दा बढी समयदेखि व्यापार वार्तामा सहमति हुन सकेको छैन । दुवै मुलुकले अर्बौं डलरबराबरका सामानमा कर वृद्धि गरेका छन् । विश्व व्यापार र विश्व अर्थतन्त्रमै प्रभाव सिर्जना गरिरहेको यस व्यापार युद्धले विश्व बजारमा त्रासको वातावरण सिर्जना गरेको छ । चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गरेका थिए । अमेरिकातर्फ निकासी हुने पाँच सय ४० अर्बबराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुनेछ ।

 कर बढाउने घोषणा
ट्रम्पको घोषणापछि बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो । १ सेप्टेम्बरदेखि लागू हुने गरी चीनले ७५ अर्ब अमेरिकी डलरबराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो । सयौँ अमेरिकी कम्पनी र व्यावसायिक समूहले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए । राष्ट्रपति ट्रम्पले अमेरिकामा चुनावी प्रचारका क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको बताएका छन् । ‘राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेका छन् । उनीहरूको व्यवस्थापन पनि कमजोर छ,’ ट्रम्पले भने । चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धिसँगै चीनसँग वार्ता पनि हुँदै जाने जनाए । 

 दुई वर्षदेखि व्यापारयुद्ध
राष्ट्रपति ट्रम्पले चीनसँग व्यापार युद्ध मार्च २०१८ मा सुरु गरेका थिए । ट्रम्पले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबर्जस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिइरहेका छन् । चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मक रूपमा अघि बढेको भने पनि कुनै सम्झौता भएको छैन । दुवै मुलुकले एकअर्का देशका सामानमा कर वृद्धि गरेपछि व्यापार वार्ता अवरुद्ध भइरहेको छ । यता दुवै देशले एकअर्का मुलुकका सामानमा लगातार कर वृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनले देखाएका छन् । 

अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा चीनमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ । चिनियाँ भन्सारका अनुसार अमेरिकातर्फको निकासी पनि १६ प्रतिशतले घटेको छ । गत अगस्ट महिनामा करिब ४४ अर्ब अमेरिकी डलरबराबरका सामान मात्र अमेरिकातर्फ निकासी भएको छ ।