पाकिस्तानमा पेट्रोलभन्दा दूध महँगो

२०७६ भदौ २६ बिहीबार ०९:३३:००

पछिल्लो साता नेपालमा दूधमा प्रतिलिटर ६ रुपैयाँ बढ्यो । दक्षिण एसियामा यो एउटा महँगीको उदाहरण मात्र हो । सार्क क्षेत्रमा दैनिक अत्यावश्यक सामग्रीको मूल्य आकासिँदो छ । पाकिस्तानको विभिन्न प्रान्तबाट दैनिक उपभोग्य सामग्रीको मूल्य सम्बन्धमा एउटा गजबको सामाचार आइरहेको छ । त्यो हो, दूधको भाउ पेट्रोल र डिजेलभन्दा पनि महँगो । पाकिस्तानी एजेन्सीका अनुसार अहिले पाकिस्तानका मुख्य सहर कराँची, इस्लामावाद, पेसावर र रावलपिन्डीमा दूध प्रतिलिटर एक सय ४० रुपैयाँ छ । 

कराँची, इस्लामावाद, रावलपिन्डीजस्ता मुख्य सहरमा प्रतिलिटर पेट्रोल एक सय १३ रुपैयाँ छ, त्यहीँ नै उपभोक्ताले दैनिक उपभोग्य वस्तु दूध प्रतिलिटरमा एक सय ४० रुपैयाँ तिर्न बाध्य

 डिजेल प्रतिलिटर ९३ रुपैयाँ 
नेपाली रुपैयाँमा परिवर्तन गर्दा पाकिस्तानीले एक सय ८२ रुपैयाँ प्रतिलिटर दूधमा खर्चिरहेका छन् । सिन्ध प्रान्तमा एक लिटर पेट्रोलको मूल्य एक सय १३ रुपैयाँ छ । इस्लामावादमा डिजेल प्रतिलिटर ९३ रुपैयाँमा बेचबिखन भइरहेको छ । पछिल्लो सर्वेक्षणअनुसार पाकिस्तानमा डिजेल नै सबैभन्दा सस्तो छ । यता विभिन्न सहरमा मागअनुसार दूध प्रतिलिटर एक सय २० देखि एक सय ४० रुपैयाँसम्ममा बिक्री भएको पाइएको पिटिआईले जनाएको छ ।

 महर्रम पर्वका कारण महँगो
‘दूधको मागअनुसार मूल्य निर्धारण भएको छ, बजारमा दूधको अभाव हुँदा हामी एक लिटर एक सय ४०  रुपैयाँमा बेचिरहेका छौँ, यसको माग कम हुँदा एक सय २० रुपैयाँमा पनि बेचेका थियौँ,’ पेसावरका एक खुद्रा व्यापारीले पिटिआईलाई भने, ‘यसकारण यहाँ दूधको मूल्य औसत कति हुन्छ भन्न सकिरहेका छैनौँ ।’ अर्कोतिर महर्रम पर्वका कारण पनि दूधको मूल्य एकैपटक बढेको इस्लामावादका एक व्यापारी बताउँछन् । ‘महर्रम पर्वका वेला सबै खानेकुरा दूधबाटै बनाउनुपर्छ, यस वेला दूधको खपत नै बढी हुन्छ, यही समयमा यसको मूल्य अन्य महिनाभन्दा बढी हुन्छ,’ उनले भने । 

 सरकारी मूल्य ९४ रुपैयाँ
प्रान्त सरकारले सबैजसो स्थानमा दूधको प्रतिलिटर ९४ रुपैयाँ तोकेको छ । तर, महर्रम पर्वमा व्यापारीले बढी नाफा खाने उद्देश्यका साथ कृत्रिम रूपमा मूल्य बढाएको स्थानीयले दाबी गरेका छन् । ‘महत्वपूर्ण पर्वको समयमा दूध कम आएको भनी व्यापारीले दूधको भाउ बढाए,’ रावलपिन्डीमा बस्ने स्थानीय जलाद खानले भने, ‘हामीलाई जसरी पनि चाहिएको छ, व्यापारीले भनेकै मूल्यमा किन्न बाध्यता छ । 

अहिलेसम्म मलाई दूध प्रतिलिटर एक सय ४० तिरेको सम्झना छैन ।’ यता कराँचीका कमिस्नर इफ्तिखार सलवानीले दूधमा भइरहेको अप्राकृति मूल्य रोक्न धेरै कोसिस गरेका थिए । तर, सबै व्यापारी नै एक हुँदा कमिस्नर सलवानीले यसमाथि नियन्त्रण लिन सकेनन् ।

सम्बन्धित समाचार