नेपालको आँखा उपाधिमा

२०७६ भदौ २६ बिहीबार ०८:५३:००

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार (आज) नादेज्दा कप फुटबलको फाइनलमा उज्वेकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । समूहमा आयोजक किर्गिस्तान र ताजिकिस्तानलाई पराजित गरेको नेपालले शीर्ष दुईमा रहँदै फाइनलयात्रा तय गरेको हो । नेपाल उज्वेकिस्तानलाई पराजित गर्दै उपाधि जित्ने योजनामा छ । 

अपराजित उज्वेकिस्तान
चार टोली सहभागी प्रतियोगितामा उज्वेकिस्तान मात्र अपराजित छ । उज्वेकिस्तानले लिग चरणमा सबै तीन टोलीविरुद्ध जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । घरेलु टोली किर्गिस्तान र ताजिकिस्तानविरुद्ध प्रभावशाली जित निकालेको उज्वेकिस्तानले नेपाललाई २–० ले पराजित गरेको थियो । 

उज्वेकिस्तान बलियो आत्मविश्वासका साथ नेपालविरुद्ध प्रस्तुत हुनेछ । फिफा वरीयतामा नेपालभन्दा उज्वेकिस्तान अघि छ । उज्वेकिस्तान फिफा वरीयताको ४४औँ स्थानमा रहँदा नेपाल १०१औँ स्थानमा छ । उपाधि भिडन्तमा आफूभन्दा ५७ स्थानमाथिको उज्वेकिस्तानविरुद्ध नेपाल संयमित हुनुपर्छ ।लिग चरणमा नेपालको सामान्य गल्तीमा उज्वेकिस्तानले दुई गोल गरेको थियो । नेपालले समूह चरणमा गरेका गल्ती फाइनलमा दोहोर्‍याउन हुनेछैन । 

उपाधि सम्भव
नेपाली टोलीले जारी प्रतियोगितामा एकनाशको प्रदर्शन गर्न सकिरहेको छैन । त्यसैले फाइनलमा आफ्नो लयलाई कायम राख्नुपर्ने चुनौती नेपालसामु छ । लिग चरणमा उज्वेकिस्तानविरुद्ध २–० ले पराजय बेहोर्दा कमजोर रक्षापंक्ति र गोलरक्षकको गल्तीका कारण नेपाल दबाबमा देखिएको थियो । नेपाली टोलीका प्रशिक्षक हरि खड्का लिग चरणको गल्ती सुधारेर फाइनलमा प्रतिस्पर्धा गर्ने बताउँछन् । 

खड्काले भने, ‘हाम्रै गल्तीका कारण उज्वेकिस्तानसँग पराजित हुन पुग्यौँ । तर, फाइनलमा ती गल्तीबाट जोगिन सके उपाधि जित्ने सम्भावना छ ।’ उनले अहिले खेलाडी उत्साही रहेकाले नतिजा सकारात्मक आउने विश्वास व्यक्त गरे । नेपालले प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई ८–२ ले पराजित गरेको थियो । लिग चरणको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई १–० ले पराजित गरेको थियो ।