बिजुली फेरि झ्याप्प–झ्याप्प 

पूर्वसूचनाविनै दिनमा दर्जनपटकसम्म बिजुली जान थाल्यो

२०७६ भदौ २६ बिहीबार ०८:३१:००

पुतलीसडक क्षेत्रमा बुधबार दिउँसो तीनपटक बिजुली गयो । कोही लिफ्टमा अड्किए, कोही सिनेमा हलको अन्धकारमा तर्सिए । बिजुलीमा निर्भर भएका अन्य धेरै उपभोक्ताको काम ठप्प भयो । 

यसरी बिजुली झ्याप्प–झ्याप्प जाने क्रम यो नै पहिलो भने होइन । उपत्यकाको बानेश्वर र लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति हुने उपभोक्ताले विगतदेखि यो समस्या भोग्दै आएका छन् । यसबाहेक उपत्यका अन्य र उपत्यकाबाहिरका उपभोक्तासमेत झ्याप्प–झ्याप्प बत्ती जाने समस्याले हैरान छन् । भरपर्दो विद्युत् आपूर्तिमा यस्तो समस्या बारम्बार किन भइरहेको छ त ? नेपाल विद्युत् प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने भन्छन्, ‘स्विचिङका कारण झ्याप्प–झ्याप्प बत्ती गएको हो ।’

भार प्रेषण केन्द्रका अनुसार आवश्यकताका आधारमा विद्युत् आपूर्ति गर्न स्रोत लाइन वा सबस्टेसन परिवर्तन (स्विचिङ) गर्दा झ्याप्प–झ्याप्प विद्युत् जान्छ । स्रोत (सबस्टेसन) परिवर्तन गर्दा केही समय लाग्ने भएकाले झ्याप्प १०–१५ सेकेन्ड विद्युत् जान्छ र तत्कालै विद्युत् आपूर्ति सुरु हुन्छ । कहिलेकाहीँ त योभन्दा छोटो समयमै पनि विद्युत् आपूर्तिको स्रोत लाइन परिवर्तन भइसक्छ । काठमाडौं उपत्यकामा खास गरी स्युचाटार सबस्टेसन र भक्तपुर सबस्टेसनबाट विद्युत् आपूर्ति गरिन्छ । उपत्यकाभित्र रहेका सबस्टेसनहरूमा विद्युत् माग र उपलब्धता, ओभरलोडिङलगायतका आधारमा यी दुईमध्ये एक सबस्टेसनबाट विद्युत् आपूर्ति गरी वितरण गरिएको छ । 

उपत्यकाबाहिरका सबस्टेसन तथा वितरण केन्द्रमा पनि देखिएको छ । ढल्केबर, लहान, दुहबी, कोहलपुर, नेपालगन्जलगायत क्षेत्रका सबस्टेसनमा पनि विद्युत् आपूर्तिको स्रोत लाइन परिवर्तन गर्दा झ्याप्प–झ्याप्प विद्युत् जाने गरेको छ । तर, उपत्यकाबाहिरका सबस्टेसनहरूमा विद्युत् आपूर्तिको लाइन परिवर्तन गर्दा समय भने केही बढी लाग्ने गरेको छ । 

यसबाहेक वर्षामा बाढी, डुबान, रूखका हाँगा भाँचिएर, ओभरलोड, ट्रान्सफर्मरमा खराबी तथा समग्र वितरण प्रणालीमा आउने प्राविधिक समस्याका कारण कहिलेकाहीँ घन्टौँसम्म पनि विद्युत् आपूर्तिमा अवरोध हुने गरेको छ । 

समाधान के त ? 
भार प्रेषण केन्द्रका अनुसार स्विचिङका कारण झ्याप्प–झ्याप्प जाने विद्युत् आपूर्तिको समस्या समाधानका लागि प्रसारण तथा वितरण प्रणालीमा सुधार र भारतसँगको प्रसारणलाइनको समीकरण (सिन्क्रोनाइजेसन)पछि समाधान गर्न सकिन्छ । हाल आवश्यकताअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा भित्रिने विद्युत्समेत काठमाडौं उपत्यकासम्म पनि आउने गरेको छ । तर, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र उक्त विद्युत् प्रसारणका लागि निर्माण हुँदै गरेको तामाकोसी–न्यु खिम्ती–काठमाडौं २२०/४०० केभी प्रसारणलाइन सञ्चालनमा आएपछि पनि धेरै हदसम्म स्विचिङको समस्या समाधान हुन्छ । त्यस्तै, नेपालको राष्ट्रिय विद्युत् प्रसारणलाइन र भारतको राष्ट्रिय विद्युत् प्रसारलाइनबीच समीकरण भएपछि पनि स्विचिङका कारण विद्युत् अवरोध हुने समस्या समाधान हुन सक्छ । 

१२ सय मेगावाट माग, भारतबाट ३५६ मेगावाट आयात 
प्राधिकरणको तथ्यांकअनुसार हाल भारतबाट ३ सय ५६ मेगावाट विद्युत् आयात भइरहेको छ । झन्डै २ सय मेगावाट विद्युत् नेपालले ढल्केबर–मुजफ्फरपुर २२० केभी प्रसारणलाइनमार्फत आयात गरिरहेको छ । तर, यसमध्ये ३२ मेगावाट विद्युत् भने प्राधिकरणले रक्सौल–परवानीपुर लाइनमार्फत बिहारलाई निर्यात गरिरहेको छ । बिहारको रक्सौल क्षेत्रमा रहेको भारतको ४०० केभी प्रसारणलाइनमा वर्षाका कारण क्षति पुगेपछि भारतकै आग्रहमा नेपालले विद्युत् निर्यात गरिरहेको हो । नेपालले हाल ढल्केबर बिन्दुबाट आयात गर्दै आएको विद्युत्को प्रतियुनिट ४ रुपैयाँ १८ पैसा भारुमा आयात गर्दै आएको छ । योबाहेक ३३ र १३२ केभीका अन्य १० प्रसारणलाइनमार्फत प्रतियुनिट ६ र ५.५५ भारुमा बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यबाट विद्युत् खरिद गरी आयात गरिरहेको छ । तर, नेपालले रक्सौल–परवानीपुरमार्फत प्रतियुनिट ६ रुपैयाँ भारुभन्दा बढीमा ३२ मेगावाट विद्युत् भारतलाई हाल निर्यात गरिरहेको छ । 

हाल नेपालले ११ बिन्दुबाट भारतको विद्युत् आयात गर्दै आएको छ । ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनमार्फत नेपालले आयात गर्ने विद्युत्को दर फरक छ । तर, यसबाहेक सिरहा, जलेश्वर, वीरगन्ज, विराटनगरमा ३३ केभी र कुशाहा–१, कुशाहा–२, गण्डक र परवानीपुरबाट १३२ केभी प्रसारणलाइनमार्फत नेपाल–भारत पावर एक्सेन्स कमिटी (पिइसी)ले तोकेको दरअनुसार विद्युत् आयात भइरहेको छ । उत्तरप्रदेशबाट ३३ केभीमार्फत नेपालगन्जमा र उत्तराखण्डबाट ११ केभीमार्फत विद्युत् आयात गरी दार्चुला र बैतडीमा आपूर्ति गरिएको छ । 

प्राधिकरणले बुधबार देखिएको १२ सय १ मेगावाट विद्युत् माग धान्न कुल ३ सय ५६ मेगावाट विद्युत् आयात गरेको छ । विद्युत् प्राधिकरणका आयोजनाबाट ४ सय ३ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ४ सय ४२ मेगावाटको सहयोग लिएको छ । यसमध्ये भारतलाई ३२ मेगावाट विद्युत् निर्यात सहयोग गरेको छ । 
 

सम्बन्धित समाचार